राजनीति


नेकपा सचिवालय बैठक फेरि सर्‍यो

नेकपा सचिवालय बैठक फेरि सर्‍यो

मणि दाहाल
साउन २७, २०७६ सोमबार १४:०,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ। पछिल्लो समय साउन १३ मा सचिवालयका बैठक भएको थियो। त्यसमा सहमति जुट्न नसकेपछि गृहकार्यका लागि साउन २८ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो।

साउन १३ को बैठकले केन्द्रीय सदस्यहरुको रुचि बुझेर त्यसैअनुसार जिम्मेवारी बाँडफाँटको निर्णय गर्नेमा सचिवालय स्तरका नेताबीच सहमति भएको थियो। नेकपाका ४४१ केन्द्रीय सदस्य छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर सोमबार फर्किए पनि मंगलबारका लागि तय भएको बैठक गृहकार्य नपुगेको भन्दै फेरि स्थगित भएको हो।

नेकपा महासचिव विष्णु पौडेलकाअनुसार अब बिहीबार मात्रै सचिवालयको बैठक हुनेछ। ‘गृहकार्यका लागि समय चाहिएकाले बैठक सारिएको हो। अब बिहीबार बैठक हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘छलफलहरु सकारात्मक रुपमा चलेका छन्। गृहकार्य गरेर त्यसलाई अन्तिम रुपमा दिन्छौं।’

स्कुल विभाग प्रमुखमा पूर्व एमाले र पूर्वमाओवादीले अडान नछोडेपछि नेकपाभित्र विभाग तथा आयोगहरुको जिम्मेवारी बाँडफाँटको विषय टुंगो लाग्न ढिलो भइरहेको छ।

पूर्वएमालेको भागमा संगठन र विदेशजस्तो महत्वपूर्ण विभाग परिसकेकाले स्कुल विभाग आफूले पाउनु पर्ने अडान पूर्वमाओवादीको छ। पूर्व एमाले स्कूल विभाग पूर्वमाओवादीलाई छोड्न तयार देखिँदैन।

नेकपाका ३३ विभाग मध्ये पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभागको नेतृत्व गर्ने सहमति भएको छ। रणनीतिक रुपले महत्वपूर्ण मानिने स्कुल विभाग कसले लिने भन्ने भन्नेमा सहमति बन्न नसकेको हो।

२०७६ साउन ५ आइतबार बसेको नेकपा सचिवालय बैठकबाट एकै पटक जिल्ला इन्चार्ज तथा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने एजेन्डा थियो। यो विषयमा पूर्व एमाले र पूर्व माओवादी दुवै पक्षबीच सहमति पनि भएको थियो।

साउन ७ गते बस्ने बैठकले जिम्मेवारी बाँडफाँट गर्ने बताइयो तर विवादको नसुल्झिँदा त्यसपछिका सबैजसो बैठक स्थगित भए। त्यो बीचमा स्कूल विभाग अध्यक्षले नै राख्ने र अरूमा जिम्मेवारी तोक्ने भनेर सहमति बने पनि त्यसले मूर्तरूप पाएन।

२०७६ साउन १३ गतेको सचिवालय बैठकले साउन २८ गतेसम्मका लागि बैठक स्थगित गरेको थियो। त्यसलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल व्यक्तिगत भ्रमणमा दुबई उडेका थिए। साउन १६ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरतर्फ लागेका थिए।

प्रधानमन्त्री ओली १० दिनपछि सोमबार स्वदेश फर्किए पनि गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad