राजनीति


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण छानबिन गरेको लेखा समितिको सदस्यमा गोकुल बाँस्कोटा नै सिफारिस !

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण छानबिन गरेको लेखा समितिको सदस्यमा गोकुल बाँस्कोटा नै सिफारिस !

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ४:४,

नेकपा एमालेले संघीय संसद्का महत्त्वपूर्ण विषयगत समितिका सदस्यमा विवादित सांसदलाई नै सिफारिस गरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र ओम्नी समूह प्रकरण छानबिन गरेको सार्वजनिक लेखा समितिमा सदस्यका लागि तिनै प्ररकणमा विवादित पात्र तथा निकट व्यक्ति सिफारिसमा परेका हुन्।

एमाले संसदीय दलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा परेका गोकुल बाँस्कोटा तथा ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट व्यक्ति राजेन्द्र गौतमलाई लेखा समिति सदस्यमा राख्न बुधबार संसद् सचिवालयलाई सिफारिस गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट बाँस्कोटा सञ्चारमन्त्री रहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएको थियो। त्यही कारण उनी मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।

लेखा समितिले खरिदमा त्रुटि रहेको भन्दै छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो।

यस्तै स्वास्थ्य सामग्री खरिद गर्न ओम्नीलाई ठेक्का दिइएको विषयमा उपप्रधानमन्त्री पोखरेल विवादमा परेका थिए। यस विषयमा पनि लेखा समितिले छानबिन गरी कारबाहीका लागि अख्तियारलाई सिफारिस गरेको थियो । 

त्यस्तै हाल कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य महेश बस्नेतलाई संसद्को अर्को महत्त्वपूर्ण विषयगत समिति राज्य व्यवस्था तथा सुशासन समितिमा सार्न सिफारिस गरिएको छ। बस्नेत पनि ओलीनिकट एमाले नेता हुन्।

यसैगरी एमाले संसदीय दलले संसदीय सुनुवाइ समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी, राजेन्द्रकुमार राईलाई सिफारिस गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad