नेकपा एमालेले प्रदेश २ को नाम जानकी र राजधानी जनकपुरधाम तोक्न प्रस्ताव दर्ता गराएको छ।
एमालेका संसदीय दलका नेता शत्रुधन महतोले प्रदेशसभा सचिवालयमा बुधबार उक्त प्रस्ताव दर्ता गराएका हुन्।
राजधानी जनकपुरधाम उपमहानगरपालिका लगायत पूर्वमा कमला नदी, पश्चिममा मध्य परिक्रमा सडक र उत्तरमा पूर्वपश्चिम राजमार्गभित्रका भूभाग राख्न प्रस्ताव दर्ता गराएको दलका नेता महतोले नेपालखबरलाई जानकारी दिए।
महतो माधवकुमार नेपाल पक्षधर दलका नेता हुन्। एमालेको २० सांसद रहेकोमा १३ जनाको समर्थनमा एमाले दलका नेता सत्यनारायण मण्डललाई हटाएर महतोलाई दलको नेता बनाइएको छ। दलका नेता महतोले आफूहरुले पार्टीको निर्णय अनुसार नै प्रदेश २ को नाम र राजधानीको प्रस्ताव दर्ता गराएको बताए।
ओली पक्षका ८ जना सांसदले आफूहरुको समर्थन जनाउनेमा उनले विश्वास व्यक्त गरे।
यसअघि पहिलो पटक भएको प्रदेशको नाम र राजधानी पस्तावमा तत्कालिन नेकपाले राजधानी जनकपुरधाम लगायतका क्षेत्र र नाम जानकी राख्ने प्रस्ताव दर्ता गराएको थियो।
पहिलो पटक ४ चैत २०७६ मा सदनमा लगेको नाम र स्थायी राजधानी टुंगो लागाउने प्रस्तावमा मतदान हुँदा दुई तिहाई मत नपुग्दा फेल भएको थियो। त्यसयता प्रदेश सरकारले प्रदेशको नाम र राजधानीको टुंगो लगाउन मौन हुँदा व्यपाक आलोचना भएपछि
प्रदेशसभा सचिवालयले वैशाख २ गतेदेखि ९ गते दिउँसो ३ बजेसम्मको प्रस्ताव दर्ताको आह्वान गरेको थियो।
यसअघि वैशाख ५ गते सत्तारूढ जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले भने प्रदेशको नाम मधेस र राजधानी जनकपुरधामलाई तोक्न अलग–अलग प्रस्ताव दर्ता गराएको थियो।
जसपाको तर्फबाट नाम मधेश हुनुपर्ने प्रस्ताव जसपाका प्रदेशसभा सदस्य तथा पूर्वसंघीय समाजवादी फोरमका प्रमुख सचेतक शैलेन्द्रकुमार यादवले दर्ता गराएका थिए। राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव जसपाका प्रदेश सांसद तथा राजपाका पूर्वप्रमुख सचेतक परमेश्वर साहले दर्ता गराएका थिए।
यस्तै माओवादी केन्द्रको तर्फबाट नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले दर्ता गराएका थिए।
नेपाली कांग्रेसले भने दोश्रो पटकमा राजधानी र नामको प्रस्ताव दर्ता गराउन बाँकी छ। कांग्रेसले भोलि प्रस्ताव दर्ता गराउने संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए। उनका अनुसार कांग्रेसले पहिलो पटककै प्रस्ताव पुनः दोहर्याउने छ। राजधानी जनकपुरधाम र नाम मिथिला भोजपुरा प्रस्ताव गर्ने उनले बताए।
नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामाकरण प्रदेशसभाको दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ। त्यस्तै, राजधानीका लागि सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतले नै पारित गर्नुपर्छ।
दोश्रो पटकमा हुन लागेको नाम र राजधानीमा पनि दुई तिहाई बहुमत पुग्ने सम्भावना कम छ। दलहरु अडान भन्दा बाहिर गएर समन्वय गरी नामको विषयमा टुंगो लगाए नाम र राजधानी पारित हुन सक्छ नभए दोश्रो प्रस्ताव फेल हुन सक्ने सम्भावना देखिन्छ।
नाम र राजधानीमा सहमति जुटाउन बिहीबार ३ बजे सभामुख सरोज यादवले सबै दलको बैठक आह्वान गरेका छन्।
एमाले संसदीय दलका नेता सत्रुधन महतोले सबै दल आफ्नो अडानबाट लचक भएर मध्यमार्गी बाटो निकाले प्रस्ताव पास हुन सक्ने बताए। तर सत्ताधारी दल आफ्नै अडानमा कायम रहे प्रस्तावमा दुई तिहाई पुग्न नसकेर फेल हुने सम्भावना पनि रहेको उनको भनाइ छ।
यस्तै कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सबै दल लचक भए मात्र प्रस्ताव पास हुने बताए।
‘सभामुखजीले भोलि छलफलको लागि सबै दललाई बोलाउनु भएको छ। छलफलमा दलहरु लचक भए सहमति जुट्न सक्छ’ उनले भने।
एमाले र कांग्रेसले भने मधेश नाममा मिथिला भोजपुरा जोड्न सके नाम र राजधानी सर्वसहमति पारित हुने संकेत गरेको छ। तर जसपाले मधेश बाहेक टसमस नहुने अडानमा छ।
प्रदेशसभामा कूल १०७ सांसद छन्। जसमध्ये आफ्ना चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरेपछि उ सँग अहिले ७ जना सांसद छन् भने सत्तारूढ जसपाका ५५, एमालेका २१, कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सांसद छन्।
प्रस्ताव पारित गराउन १०३ सांसदको दुईतिहाई ६९ सांसद चाहिन्छ। सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ। मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ।

प्रतिक्रिया