मुलुकका राजनीतिक दल तथा तिनका नेता सरकार ढाल्ने र जोगाउने खेलमा केन्द्रित भइरहेका बेला सर्लाहीका एमाले नेताहरू भने नौलो अभियानमा लागेका छन्। उनीहरू कोरोना महामारीविरुद्ध जनचेतना अभियानमा लागेका हुन्।
नेताहरूले गर्ने काम कुर्सीको खेल तथा जुलुस/सभा मात्रै होइन, उनीहरू जनताका जीवन र समस्याप्रति पनि चिन्तित हुन्छन् भन्ने सन्देश दिन यो कोरोना महामारीले देशलाई तहसनहस बनाइरहेका बेला सर्लाहीमा यसविरुद्ध धेरै गर्न नसकिए पनि जनचेतना जगाउने अभियान सञ्चालन गरिएको एमालेका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले नेपालखबरसँग बताए।
एक वृद्धलाई मास्क दिएपछि सेनिटाइजर लगाइदिँदै एमाले जिल्ला अध्यक्ष रेवती पन्त।
‘कोभिड–१९ बाट बच्ने धेरै उपायहरू छन्, सावधानी अपनाउन कुनै अवस्थामा पनि नचुकौं’ नाराका साथ एमालेका जिल्ला अध्यक्ष पन्तको नेतृत्वमा पार्टीका भ्रातृ संगठनहरू युवा संघ नेपाल, अनेमसंघ र नेपाल खेलकुद महासंघले संयुक्त अभियान सञ्चालन गरेका हुन्।
लालबन्दी बजारबाट कोरोनाविरुद्ध अभियान सुरु गरिएको एमालेका जिल्ला सदस्य चूडामिण वाग्लेले जानकारी दिए। कोरोनाविरुद्ध सन्देशसहित आज लालबन्दी र बरहथवा बजारमा मास्क र सेनिटाइजर वितरणसमेत गरिएको उनले बताए।
मास्क दिँदै एमालेका सर्लाही जिल्ला सदस्य चूडामणि वाग्ले।
कोरोनाविरुद्धको यो अभियान जिल्लाका सबै बजार क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए।


प्रतिक्रिया