नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ।
कारबाहीमा पर्नेमा विघटित प्रतिनिधिसभाका प्रत्यक्षतर्फ चुनाव जितेका नेपालका अतिरिक्त झलनाथ खनाल र भीम रावल छन्।
कारबाही गरिएका ८ जना नेता भने प्रतिनिधिसभाका समानुपातिक सांसद हुन्। जसमा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, लक्ष्मी चौधरी, सरला यादव, पुष्पाकुमारी कायस्थ, निरु जैरु, कलिला खातुन र कल्याणी खड्का छन्।
शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेका ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर, कसैले पनि स्पष्टीकरण नबुझाएपछि सोमबारको बैठकले उनीहरुलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
संसद् विघटित अवस्थामा रहेकाले यो कारबाहीको प्रभाव देखिएको छैन। तर, अदालतले संसद् पुनर्स्थापना गरिदिएको हकमा भने कारबाहीमा परेका ११ जनाकै सांसद पद जानेछ।
पार्टीले साधारण सदस्यबाट निकाले वा सांसदले सम्बन्धित राजनीतिक दल परित्याग गरे सांसद पद स्वतः खारेज हुने व्यवस्था छ।
प्रत्यक्षतर्फबाट निर्वाचित सांसदहरुको रिक्त पदपूर्ति हुन उपनिर्वाचन नै हुनुपर्छ। तर, समानुपातिक सांसदको हकमा पार्टीले बन्द सूचीमा रहेका अन्य उम्मेदवारहरुलाई निर्वाचित गर्न सक्नेछ।
प्रतिनिधिसभा पुनर्स्थापना भए एमालेले कारबाही गरेपछि रिक्त हुने ८ समानुपातिक सांसदको स्थान कसले लिनेछन् त?
खस आर्यबाट समानुपातिक सांसद बनेका मुकुन्द न्यौपानेपछि बन्द सूचीमा सोमनाथ अधिकारी प्यासीको नाम छ। तर, प्यासीलाई सरकारले प्रदेश १ को प्रमुख (गभर्नर) बनाएको छ। प्यासीपछि पुष्प कँडेलको नाम छ। एमालेको स्थायी कमिटी सदस्य रहेका कँडेल हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन्। कँडेलपछि देवराज घिमिरेको नाम छ। उनी एमाले प्रदेश नम्बरका एकका अध्यक्ष हुन्। वरियतामा अगाडि रहेको व्यक्ति सांसद नभए त्यसपछिकाले पालो पाउने व्यवस्था छ।
कारबाहीमा परेकी अर्की नेतृ रामकुमार झाँक्री आदिवासी जनजाति क्लस्टर (समूह) बाट सांसद बनेकी हुन्। झाँक्रीको स्थानमा रणकुमारी बलम्पाकी मगरले अवसर पाउने छिन्। उनी सिन्धुलीकी हुन् र एमालेको प्रदेश सम्पर्क कमिटीमा छिन्।
प्रधानमन्त्री बनाउन देउवालाई समर्थन गरेको भन्दै कारवाहीमा परेकी अर्की नेतृ हुन् लक्ष्मी चौधरी। चौधरी आदिवासी जानजाति मधेसी महिलातर्फबाट समानुपातितर्फको सांसद हुन्। सो स्थानमा ममता चौधरी आउने छिन्।
मधेसी महिलाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सरला यादव र पुष्पाकुमारी कायस्थ पनि कारबाहीमा परेका छन्। उनीहरुको स्थानमा दाङकी सीता यादव र चन्द्रकला सिंह सांसद बन्ने सूचीमा छन्।
मुस्लिम महिलातर्फबाट सांसद बनेकी कालिला खातुनपछि बन्द सूचीमा रुबी खाँ पठानको नाम छ।
खस आर्य महिलाबाट समानुपातिकतर्फ सांसद भएकी कल्याणी खड्का कारबाहीमा परेकी छन्। उनको स्थानमा शर्मिला कार्की सांसद हुन् छिन्। कार्की गैरसरकारी संस्था महासंघको पूर्वअध्यक्ष हुन्। कार्कीपछि बन्द सूचीमा सीता ओली गिरिको नाम छ।
कारबाहीमा परेकी अर्की सांसदमा निरु जैरु हुन। दलित महिलाबाट प्रतिनिधित्व गर्ने जैरुलाई प्रतिस्थापन गर्ने नाम बन्द सूचीमा छैन।
प्रतिनिधिसभा निर्वाचनअघि बुझाएको बन्द सूचीमा दलित महिला क्लस्टरमा ८ जनाको नाम थियो। त्यसमध्ये ६ जना सांसद भए। बन्द सूचीमा रहेकी एक महिला नेतृ धनकुमारी सुनारले पार्टी परित्याग गरिसकेकी छन्। सानु सिवाको निधन भएपछि बन्द सूचीमा अन्तिम अर्थात् आठौ स्थानमा रहेकी जानकी राम सांसद बनिन्। त्यसैले जैरुको स्थान खाली रहनेछ।

प्रतिक्रिया