राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा हो, संघीयता खारेजी, राजतन्त्र फिर्ता।
राप्रपाले चलाइरहेको अर्को अभियान हो प्रदेश संरचना हटाउने । तर त्यही पार्टीले अहिलेकै व्यवस्थामा बागमती प्रदेश सभा सभामुखदेखि मन्त्रीसम्मको जिम्मेवारी पाएको छ ।
प्रदेश सरकार खारेजीको मुद्दा उठाउँदै सदनमा आएको राप्रपाले बागमतीमा ३ मन्त्रालयको जिम्मेवारी पाएको हो ।
प्रदेश सरकारले राज्यको व्ययभार बढाएको भन्दै पहिलो नारा नै यसको खारेजी हुनुपर्ने छ। यही नारासहित मंसिर ४ को आमनिर्वाचनमा होमिएको राप्रपाले राम्रै सफलता पायो ।
प्रदेश खारेजीको एजेन्डा बोकेको राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ६ सहित १३ सिट जितेको छ । उसले प्रदेशको पहिलो कार्यकालमा समानुपातिकबाट २ सिट मात्रै जितेको थियो।
अहिलेका यी सांसदमध्ये अहिले ३ जना प्रदेशमन्त्री बनेका छन्। भुवनकुमार पाठक प्रदेश सभा सभामुख नै भएका छन्।
बागमतीको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा उद्धव थापा, वन तथा वातावरण मन्त्रालयमा राजु विष्ट र डम्बर तामाङले पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रदेश खारेज गर्ने शर्तमा चुनाव जितेर आएका राप्रपा सांसदहरु शपथ ग्रहणसँगै मन्त्रीको दौडमा थिए।
सरकार निर्माणमा निर्णायक राप्रपाले मुख्यमन्त्रीमा बार्गेनिङ पनि गर्यो । तर केन्द्रको भागबन्डाले मुख्यमन्त्री माओवादीलाई परेपछि राप्रपाले तीन मन्त्रालय पाउनुपर्ने अडान छोडेन ।
केन्द्रकै निर्णयअनुसार सत्तारुढ नेकपा एमालेलाई ४, माओवादीलाई ४ र राप्रपाले ३ मन्त्रालय लियो। प्रदेश खारेजीको एजेन्डा बोकेको राप्रपाका मन्त्रीहरुले त्यही संरचनामा बसेर सुविधा लिन थालिसकेका छन्।
प्रदेशसभाको पहिलो कार्यकाल राप्रपाले प्रदेश संरचना खारेजीको आवाज उठाएर बितायो । तर राप्रपा अहिले त्यही प्रदेश बलियो बनाउनुपर्ने भूमिकामा पुगेको छ। प्रदेश खारेजी अभियान चलाएर मन्त्री र सभामुख लिएको राप्रपा नाली सफा गर्न त्यहीँ पस्नुपर्ने तर्क गरिरहेको छ ।
‘हामी सरकारमा पुगेर प्रदेश खारेजी गर्ने लक्षमा छौँ। राप्रपा सधैँ कमजोर छ भन्ने प्रवृत्तिको अन्त्य गर्नु छ’। प्रदेशका ऊर्जा तथा सिचाइँमन्त्री उद्धव थापाले भने, ‘हामीले प्रदेश खारेज गर्छौँ भन्नुको अर्थ सरकारमा जादैनौं भन्ने होइन । सरकारमा गएर शक्ति बनाएर खारेजी अभियान चलाउने हो । राप्रपा सरकारमा पुग्नेबित्तिकै हाम्रो चुनावी एजेण्डा भुल्दैन।’
खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री थापा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ८ को प्रदेश सभा (ख) बाट विजयी थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङ थिए।
काठमाडौंबाट एमालेलाई पराजित गरेर प्रदेश सभा सदस्य बनेका थापा राप्रपा बागमती संसदीय दलका नेता समेत हुन्।
पहिलो संसदीय यात्रामा पाईला राखेका थापा सरकारमा पुगेपछि प्रदेश खारेज गर्ने बताउँदै आएका छन्।
यस्तै वन तथा वातावरण मन्त्री राजु विष्ट काठमाण्डौं क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
विष्टले १२ हजार १६३ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिद्वन्दी एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ९० मत प्राप्त गरेका थिए ।
यता, उद्योग पर्यटन मन्त्री डम्बर तामाङ धादिङ निर्वाचन क्षेत्र नम्बर–२ (ख) मा निर्वाचित भएका हुन् । नेकपा एमाले र राप्रपाको साझा उम्मेदवार तामाङले १४ हजार ४ सय ८१ मत प्राप्त गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जगतबहादुर सिंखडाले १४ हजार ३ सय ५० प्राप्त गरेका थिए । राप्रपाका तामाङ १ सय ३१ मतान्तरले विजयी भएर प्रदेश सभा सदस्य बनेका थिए।
प्रतिक्रिया