राजनीति


नागरिकको जीवनस्तर सुधार्न अर्थमन्त्रीले प्रस्तुत गरेका पाँच आधार

नागरिकको जीवनस्तर सुधार्न अर्थमन्त्रीले प्रस्तुत गरेका पाँच आधार

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १७:१६, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता निर्धारण गरिएको बताएका छन्। 

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे सांसदले उठाएका प्रश्नको उत्तरमा अर्थमन्त्री वाग्लेले नागरिकको जीवनस्तरमा गुणात्मक सुधारका लागि बजेट आउने बताएका हुन्। उनले यसका लागि सरकारले पाँच वटा मार्गदर्शक सिद्धान्त अघि सारेको बताए। त्यसकै आधारमा तय गरिएका प्राथमिकतामा रहेर बजेट आउने उनले बताए। 

पहिलो सुशासनको लाभांस। सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गर्न सुरु गरेको बताए। सुशासनविना आर्थिक सुधार नहुने उनको जिकिर थियो। 

‘सिस्टम सुधारमार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृतिलाई अव संरक्षण गरिदैन। गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन।’

दोस्रो, अर्थतन्त्रको पुनर्संरचना। आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको पुनर्संरचना गर्नेगरी काम सुरुवात गरिने बताए। अहिलेको अर्थतन्त्रले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन नसकेको उनको भनाइ थियो। 

तेस्रो, एकीकृत पूर्वाधार। सरकारले अब एकीकृत पूर्वाधारमा जोड दिने उनले बताए। त्यसैलाई ध्यानमा राखेर बजेटमा पनि व्यवस्था हुने उनको भनाइ थियो। 

चौथो, सामाजिक लगानी। आगामी आर्थिक वर्षको बजेटमार्फत सामाजिक लगानीलाई जोड दिइने उनले बताए। सामाजिक न्यायलाई ध्यानमा राखेर यो अवधारणा अघि सारिएको उनको भनाइ थियो। 

पाँचौ, बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्ध र सौम्य शक्ति सुदृढिकरण। सरकारले बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धमा जोड दिने बताए। नेपालको सौम्य शक्तिलाई सुदृढिकरण गर्न आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम आउने उनको भनाइ थियो। 

यिनै पाँच आधारमा केन्द्रित भएर प्राथमिकता निर्धारण गरिएको उनले बताए। यी आधारमा सरकारले निर्धारण गरेको प्राथमिकताले आर्थिक वृद्धि, रोजगारी र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उनको भनाइ थियो। 

‘आर्थिक वृद्धि, रोजगारी, सामाजिक न्याय, उत्पादकत्वमा प्रतिस्पर्धात्मकता र नागरिकको जीवनस्तरमा गुणतन्मक सुधार ल्याउने आधार निर्माण गर्नेछ,’ वाग्लेले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad