ad ad

राजनीति


स्थानीय निर्वाचनमा सक्रिय सहभागी हुन देउवाको अपिल

स्थानीय निर्वाचनमा सक्रिय सहभागी हुन देउवाको अपिल

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०७९ मंगलबार १३:५०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका छन्। 

उनले मंगलबार अपिल जारी गरेर वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा भएर सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका गरेका हुन्। 

‘अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्वान गर्दछु,’ देउवाले अपिलमार्फत भनेका छन्।  

प्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गराउनसमेत अपिल गरेका छन्। 

‘स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार हो। स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ पनि हो। हरेक नागरिकका सुखदुःखमा साथ दिने र आफ्नै घर–आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो,’ उनले भनेका छन्, ‘नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेका छन्।’ 

कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी रहेको देउवाले स्मरण गरेका छन्। 

नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गरिएपछि पाँच दलीय गठबन्धन बनेको उनले उल्लेख गरेका छन्। 

‘यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्था बारे तपाईं हामी सबै जानकार नै छौँ,’ देउवाले अपिलमा भनेका छन्, ‘नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिवद्ध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .