ad ad

राजनीति


५ वर्ष उपमेयर हाँकेपछि हलेसीको मेयर चुनिएकी विमला भन्छिन् : कृषि र शिक्षा सुधार्छु

५ वर्ष उपमेयर हाँकेपछि हलेसीको मेयर चुनिएकी विमला भन्छिन् : कृषि र शिक्षा सुधार्छु

मीना खड्का
जेठ ७, २०७९ शनिबार ९:४, काठमाडौँ

वैशाख ३० मा भएको दोस्रो स्थानीय निर्वाचनबाट पालिका प्रमुख पदमा निर्वाचित हुने महिलाहरुको संख्या नगन्य देखिएको छ। पाँच वर्षअघिको पहिलो स्थानीय निर्वाचनमा प्रमुख र अध्यक्ष पद पुरुषले कब्जा गर्ने पारिपाटी बसेको छ। थोरै महिलाले मात्र त्यो अवरोध पन्छाएर प्रमुख पदमा निर्वाचित हुने मौका पाएका छन्। 

र, ती थोरैमा पर्छिन् खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई।

अघिल्लो पटक उपमेयर रहेकी कांग्रेसकी उनी यसपटक निकटतम प्रतिद्वन्द्वी एमालेका खडेन्द्र राईलाई पराजित गर्दै मेयरमा निर्वाचित भएकी हुन्। उनले ६ हजार ३१७ मत पाएकी थिइन् भने खडेन्द्रले ५ हजार ९६६ मत ल्याए। 

हलेसी तुवाचुङ नगरपालिकामा चार दलले गठबन्धन गरेर स्थानीय तह सदस्य निर्वाचनमा उत्रेका थिए। एमाले, माओवादी केन्द्र, जसपा र नेकपाको वडैपिच्छे आवश्यकताअनुसार गठबन्धन थियो। तर, जनता आफ्नो पक्षमा भएका कारण हराउने प्रयास विफल भएको विमला बताउँछिन्।

‘पार्टी गठबन्धनमा गए पनि जनता मेरो साथमा थिए,’ उनले भनिन्।

चुनावी नतिज आइसकेपछि हारेकाहरुसँग मिलेर काम गर्न आफू इच्छुक रहेको भन्दै मेयर राईले नगरलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन्। 

कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा प्रदेश सदस्य रहेकी ४१ वर्षीया राईले सीएमए सकेर ग्रामीण विकासमा मास्टर्स गरेकी छन्। एलएलबीको अन्तिम नतिजा पर्खिरहेकी उनी राजनीतिशास्त्र दोश्रो वर्षमा अध्ययरनत छिन्।

पाँच वर्षसम्म उपमेयरको रूपमा जनताले महसुस गर्नेगरी काम गरेको अनुभव समेत भएकाले मेयरको उम्मेदवारमा आफूलाई पार्टीलाई पत्याएको उनको भनाइ छ।

‘सर्वसाधारणको विश्वास र आफ्नै बढ्दो आत्मविश्वासका जगमा यो पटक प्रमुख पदमा आउने अवसर पाएकी हुँ,’ उनले भनिन्। 

आफूले स्थानीय तहमा गरेका कामले सकारात्मक सन्देश छाडेको दाबी छ। पाँच वर्षमा गरेको काम, समेटेको अनुभवको कारण र निर्वाह गरेको भूमिका कारण पार्टीले आफूलाई अघि सारेको र जित सम्भव भएको उनले बताइन्। अब बाँकी रहेका काम लगनपूर्वक पुरा गर्ने उनको भनाइ छ।

‘अधुरा योजनालाई पुरा गर्न मैदानमा निस्केकी हुँ,’ उनले भनिन्, ‘मैले मेरो नगरका सबै समस्या देखेकी छु, महसुस गरेकी छु र समाधानका लागि ज्ञान हासिल पनि गरेकी छु।’

स्थानीय तह हाँक्न चाहने कयौँ महिलालाई दलहरुले पाखा लगाएको गुनासो आइरहेका बेला आफूले भने महिला भएका कारण अवसरबाट बञ्चित भएको महसुस गर्नुनपरेको उनी बताउँछिन्।

‘अबका दिनमा कस्तो अनुभव हुन्छ थाहा छैन,’ उनी भन्छिन्, ‘मैले महिला भएका कारण अझ बढी अवसर छ भन्ने महसुस गरेकी छु।’
 
के छन् अबका योजना?
उनले अब खेतीमा ध्यान दिने बताएकी छन्। जसका लागि केही योजना तयार गरेकी छन्। 

नगरका ११ वटै वडामा चिस्यान केन्द्र स्थापना गर्ने र उत्पादित वस्तुको बजारसम्मको पहुँच बढाउने उनको भनाइ छ।

‘चिस्यान केन्द्र स्थापनासँगै संकलन केन्द्र स्थापना गर्ने, प्रत्येक वडामा उत्पादित उत्पादनलाई मूल्य निर्धारण गरेर संकलन केन्द्रमा संकलन गर्ने त्यसपछि सम्बन्धित उत्पादन बिक्री गर्न सहज वातावरण निर्माण गर्ने योजना छ,’ राईले भनिन्।

उनको अर्को जोड शिक्षा क्षेत्र रहेको मेयर राईले बताइन्।

‘अहिले हामीसँग साढे सात हजार विद्यार्थी छन्, ३१० जना शिक्षक छन् र ७९ विद्यालय छ। भौतिक पूर्वाधारको अभाव छ। दक्ष जनशक्तिको अभाव छ। यसमा ध्यान दिनेछु,’ उनले भनिन्।

आधारभूत शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षालाई नगरमा विशेष जोड दिने उनको योजना छ।

शिक्षक, विद्यार्थी र अभिभावकबीच मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, व्यावहारिक शिक्षा दीर्घकालीन शैक्षिक योजना, पूर्वाधारको विकास, आवश्यक उपकरण प्रयोग गरेर शिक्षालाई सुधार गर्ने उनले बताइन्। 

शिक्षा प्रणालीमा व्यापक फेरबदल नगरी लाखौँ शिक्षित युवाले रोजगारी नपाउने र मुलुकले मुहार नफर्ने उनको भनाइ छ।

भन्छिन्, ‘अहिले हामीले देखिरहेको मुख्य समस्या विद्यालयमा विद्यार्थीको कक्षा उन्नति र सर्टिफिकेट कलेक्सन हो, यसलाई व्यवहारिक शिक्षासँग जोड्नु मेरो मुख्य प्राथामिकता हुनेछ।’

‘शिक्षासँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरेर प्याकेजमै कार्यक्रम सञ्चालन गर्छु,’ उनले थपिन्, ‘सीपयुक्त शिक्षक भएपछि विद्यार्थी जान्ने भइहाल्छन्। त्यसका लागि सर्वप्रथम तालिम र पूर्वाधार निर्माणमा जोड दिनेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .