ad ad

राजनीति


रुपन्देही २ मा गठबन्धनको संकट, अब कसलाई जाला सत्ताको भोट?

प्रदेशस्तरीय भेला सकिनेबित्तिकै गुरूङको उम्मेदवारी खारेज
रुपन्देही २ मा गठबन्धनको संकट, अब कसलाई जाला सत्ताको भोट?

उम्मेदवारी खारेज भएका राजुु गुरूङ र कमल भुसाल दायाँबायाँ, बीचमा विष्णु पौडेल।


सुदीप भण्डारी
कात्तिक ४, २०७९ शुक्रबार २२:२९, रूपन्देही

रुपन्देही क्षेत्र नम्बर २ को भूगोलमा शुक्रबार पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरेको थियो।

भेलामा सत्ता गठबन्धनबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेता सहभागी थिए।

प्रदेशस्तरीय कार्यकर्ता भेला सकेर शीर्ष नेताहरु गएको केही बेरमा नै रूपन्देही २ मा सत्ता गठबन्धन उम्म्दवारविहीन बन्यो।

शुक्रबार सर्वोच्च अदालतले रुपन्देही २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको रिटमा अन्तरिम आदेश नदिएपछि उनी चुनावी मैदानबाट बाहिरिएका छन्।

पाँच दलीय गठबन्धनको भागवण्डामा रुपन्देही २ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई परेको थियो। जसअनुसार समाजवादीबाट राजु उम्मेदवार बनेका थिए ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल
लगातार ३ पटक विजयी भएको क्षेत्र हो यो। एमाले विभाजन भएर एकीकृत समाजवादीमा लागेदेखि राजुले उनै विष्णु पौडेलविरुद्ध उम्मेदवारी दिने बताउँदै आएका थिए ।

अन्तत: सत्ता गठबन्धनले राजुलाई नै उम्मेदवार बनाएपछि आफूले विगतमा सघाएका नेताविरूद्ध भिड्ने पक्का भयो।

तर असोज २३ गते मनोनयन दर्ता गरेको पर्सिपल्ट २५ असोज राति निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिएको सूचना निकाल्यो।

उम्मेदवारी खारेजीविरुद्ध उनी सर्वोच्च गए पनि शुक्रबार सर्वोच्च अदालतले सरकारी कानुनअनुसार कालोसूचीमा परेको व्यक्तिको उम्मेदवारी कायम नहुने आदेश दिएको हो।

यसअघिसम्म कांग्रेस र माओवादी समेतको साथ पाएर गठबन्धनको साझा उम्मेदवार भएका गुरुङले पौडेललाई चुनौती दिने ठानिएको थियो।

लामो समयदेखि बुटवललाई एमालेले आफ्नो गढ मानिरहेको छ। अघिल्लो चुनावमा विष्णु पौडेलले कांग्रेस उम्मेदवार युवराज गिरीलाई २२ हजारको फराकिलो मतान्तरले पराजित गरेका थिए।

तर गत वैशाखमा भएको स्थानीय चुनावमा यहाँको नतिजा एमालेलाई अत्याउने गरी विपक्षीको पोल्टामा गएको थियो।

कांग्रेसका खेलराज पाण्डेले एमाले उम्मेदवार बाबुराम भट्टराईलाई साढे ७ हजारको मतान्तरले पराजित गरे।

त्यो निर्वाचनमा कांग्रेसले बुटवलका धेरै वडा जितेको थियो। स्थानीय तह निर्वाचनको नतिजाका आधारमा यसपटक पौडेललाई चुनौती थपिएको विश्लेष्ण गरिएको थियो।

गठबन्धनका उम्मेदवार राजु गुरुङले एमालेको पनि मत तान्न सक्ने बताएका थिए। तर गुरुङको उम्मेदवारी खारेजीपछि एमाले उपाध्यक्ष पौडेलको चुनावी यात्र सहज भएको छ।

गठबन्धनको संकट
अर्कातिर अब गठबन्धनको मत कता जाला भन्ने चासो पनि धेरैको छ।

अर्कातिर निकोलस भनिने डा. कमल भुसाल हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका थिए। उनले पनि निकै अघिदेखि चुनावी तयारी गरेका थिए।

काठमाडौंका मेयर बालेन साहकै शैलीमा उनलेे चुनावी प्रचार गरेका थिए। भुसालले युवा पुस्ताको मत तान्न सक्ने अनुमान गरिएको थियो।

तर राजु गुरुङसँगै भुसालको पनि उम्मेदवारी खारेज भएको सूचनम २५ असोजमा निर्वाचन अधिकृतको कार्यालयले निकालेको थियो।

सरकारबाट छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको ठहरिने भन्दै उनको उम्मेदवारी खारेज भएको थियो।

भुसाल पनि उम्मेदवारी खारेजको निर्णयविरुद्ध सर्वोच्च गएका थिए। उनको मुद्दामा प्रारम्भिक सुनुवाइ हुँदा अन्तरिम आदेश आएन। सर्वोच्चले बिहीबार निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश मात्रै दियो। त्यहीकारण उनको उम्मेदवारी कायम भएको छैन।

भुसालको रिटमा थप आदेशका लागि छलफल गर्न कात्तिक १५ गते दुवै पक्षलाई सर्वोच्च अदालतले बोलाएको छ।

अदालतले अब १५ गते भुसालको पक्षमा आदेश दिएमा विष्णु पौडेलको चुनौती यथावत रहन सक्ने विश्लेषण गरिएको छ। भुसालको उम्मेदवारी कायम भएमा  गठबन्धनको भोट तान्न सक्नेछन्।

बिहीबार अन्तरकालीन अन्तरिम आदेशसमेत नआएकाले अन्तरिम आदेश उनकै पक्षमा आइहाल्ने सम्भावना कम छ।

प्रतिनिधि सभा सदस्यको लागि रुपन्देही क्षेत्र नम्बर २ बाट १८ जनाले उम्मेदवारी दिएका थिए।

गुरुङ र भुसालसँगै हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको थियो। तर उनी कानुनी उपचारमा गएनन्, उनको चर्चा पनि भएन।

बाँकी उम्मेदवार
यो क्षेत्रमा विष्णु पौडेलसहित १५ जनाको उम्मेवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसमा ७ जना दलीय र ८ जना स्वतन्त्र उम्मेदवार छन्। तर अहिलेको चुनावी माहोलअनुसार पौडेललाई टक्कर दिने कोही देखिएका छैनन्। यस्तो अवस्थामा गठबन्धनलाई जाने मत बाँडिन सक्छ।

दलका तर्फबाट नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी उम्मेदवार छन्। यो दलको संगठन यहाँ बलियो छैन। गठबन्धन उम्मेदवार नहुँदा उनले केही बढी मत तान्न सक्छन्।

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरले जनजाति समुदायको बढी मत तान्न सक्छन्।

कांग्रेस बिपीकी नमादेवी गौतम जैसी पनि उम्मेदवार छिन्।गठबन्धनको उम्मेदवार नहुँदा उनले कांग्रेसको केही मत तान्न सक्ने अनुमान छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि पछिल्लो समय चर्चा भएको छ। यो पार्टीबाट गणेश पौडेल उम्मेदवार छन्। अहिलेसम्म चुनावी मैदानमा उपस्थिति खासै देखिएको छैन।

तर पनि रविप्रतिको क्रेजले गठबन्धनको कतिपय भोट स्वतन्त्र पार्टीको घण्टी चिन्हले पनि तान्न सक्छ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका दीपक थापा र नेपाल दलित पार्टीका राजु शाही पनि उम्मेदवार छन्। यी दुई पार्टीको यहाँ नगन्य मत आउन सक्छ।

स्वतन्त्र उम्मेदवार रुपसिंह थापा तत्कालीन अवस्थामा शाही शासनको बेला भएको चुनावमा बुटवलको मेयर भएका थिए। उनको कार्यकाल धेरै लामो भएन।

अन्य स्वतन्त्र उम्मेदवारहरुमा सुरेन्द्र भारी, टोपनारायण पौडेल, केशव बस्याल, विष्णु विश्वकर्मा, तुल्सीराम यादव र तारा घिमिरे छन्। तर उनीहरूको चर्चा खासै छैन।

कसलाई समर्थन?

आफ्नो तर्फबाट उम्मेदवार नहुँदा सत्ता गठबन्धनले अर्को कुनै उम्मेदवारलाई समर्थन गर्न सक्ने कांग्रेस रुपन्देही २ का क्षेत्रीउ सचिव विमलराज भट्टराईले बताए।

‘हामीलाई राजु गुरुङकै उम्मेदवारी कायम हुन्छ भन्ने विश्वास थियो। तर अदालतको आदेशपछि अब गठबन्धनले छलफल गरेर निर्णय लिन्छ,’ उनले भने, ‘जोसँग बढी मत छ, स्वच्छ र विचार मिल्ने उम्मेदवारलाई समर्थन गरेर जान सकिन्छ।'   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .