ad ad

राजनीति


मनाङका ‘सर्वमान्य’ नेता

गणतन्त्र स्थापनापछि निर्विरोध सांसद निर्वाचित हुने पहिलो नेता : दीपक मनाङे
मनाङका ‘सर्वमान्य’ नेता

मनाङ ‘क’ प्रदेश सभामा स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन्


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ९:१८, काठमाडौँ

पत्रकार अनिल गिरीले २७ असोज (२०७९) का दिन फेसबुकमा लेखेका थिए, ‘भनेपछि गणेशमान सिंहपछि यो देशमा सर्वमान्य नेता दीपक मनाङे मात्रै देखिए।’ 

सामाजिक सञ्जालमार्फत् पत्रकार गिरीले गरेको ठट्टा थियो यो। तर, यो ठट्टामा सत्य पनि थियो। किनभने मनाङ ‘क’ प्रदेश सभाका स्वतन्त्र उम्मेदवार दोर्जे लामाले अघिल्लो दिन उम्मेदवारी फिर्ता लिएका थिए।

लामाले उम्मेदवारी फिर्ता लिनुको परिणाम– सो निर्वाचन क्षेत्रबाट प्रदेश सभामा मनाङे निर्विरोध विजय हुने स्थिति सिर्जना भयो। किनभने त्यहाँ दोर्जेबाहेक मनाङेका अरु कोही प्रतिस्पर्धी थिएनन्। 

उतिबेलै निर्विरोध भएका मनाङेलाई निर्वाचन आयोगले आइतबार राति औपचारिक तवरले प्रदेश सभामा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। पत्रकार गिरीले ठट्टा गरेजस्तै मनाङे मनाङका ‘सर्वमान्य नेता’ बनेका छन्।

बहुदलपछिको रेकर्ड 
२०४८ यता संसदका लागि भएका आम निर्वाचनमा कुनै उम्मेदवार यसरी निर्विरोध निर्वाचित भएको यो दोस्रो पटक हो। गणतन्त्र स्थापनापछि भने पहिलो पटक हो। 

बहुदलीय व्यवस्थाकालमा भएको अन्तिम निर्वाचन (२०५६) मा पनि मनाङले पाल्तेन गुरुङलाई निर्विरोध निर्वाचित गरेर प्रतिनिधि सभामा पठाएको थियो।

२०४८ मा नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा निर्वाचित गुरुङ २०५१ मा स्वतन्त्र उम्मेदवारका रुपमा कांग्रेसका कोमलबहादुर घलेलाई पराजित गर्दै प्रतिनिधि सभामा चुनिएका थिए। 

बहुदलकालमा प्रतिनिधि सभामा निर्विरोध निर्वाचित हुने एक मात्र सांसदको रेकर्ड बनाएका पाल्तेन त्यसपछिका निर्वाचनमा भने सफल भएनन्। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा उनी माओवादीका देव गुरुङबाट पराजित भए। 

२०५१ मा स्वतन्त्र उम्मेदवारका रुपमा र २०५६ को निर्वाचनमा निर्विरोध निर्वाचित गुरुङ २०६४ को पहिलो पराजय यता मनाङको राजनीतिबाट विलीनजस्तै हुन पुगिसकेका छन्।  
 
बहुदलीय व्यवस्थाभर मनाङको राजनीतिमा पाल्तेनले एकछत्र पकड कायम गरेजस्तै संविधान सभाबाट २०७२ मा संविधान जारी भएयता मनाङमा मनाङेको बलियो पकड देखिन थालेको छ। 

२०७४ को आम निर्वाचनमा उनी मनाङ ‘क’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए। 

हुन त त्यो निर्वाचनमा एमालेले उनैलाई टिकट दिएको थियो। तर, उनको पृष्ठभूमिका कारण एमालेमा विवाद भएपछि उनी स्वतन्त्र उम्मेदवार बन्न बाध्य भए। र, विजयी पनि भए। 

उनी आफू मात्र विजयी भएनन्, मनाङको प्रतिनिधि सभा सिटमा एमाले उम्मेदवार पाल्देन छोपाक गुरुङलाई समेत विजयी बनाए। त्यसअघि मनाङमा एमालेले कहिल्यै विजय हासिल गर्न सकेको थिएन। 

निकै प्रतिस्पर्धात्मक सो निर्वाचनमा एमाले उम्मेदवार पाल्देन छोपाङले २ हजार १ सय ६७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले १ हजार ९ सय १९ मत ल्याएका थिए। 

मनाङेको समर्थन नपाएको भए एमाले उम्मेदवार पाल्देन छोपाङको विजय सम्भव थिएन। 

चतुर्याइँमा अब्बल
सक्रिय रुपमा राजनीतिमा आउनुअघि मनाङे गुण्डागर्दी र राजधानीका व्यापारिक केन्द्रमा हप्ता असुली गर्ने ‘डन’ का रुपमा बदनाम थिए। काठमाडौँमा हुने अक्सर ठूला ‘ग्याङ फाइट’ हरुमा मनाङेको नाम जोडिन्थ्यो।  

सुरुमा उनको परिचय कांग्रेस निकट ‘डन’ रुपमा थियो। चक्रे मिलन (मिलन गुरुङ) भने एमाले निकट ‘डन’ का मा चिनिन्थे। यी दुई डनहरुलाई काठमाडौँका ठूला प्रतिस्पर्धी ‘डन’ का रुपमा लिइन्थ्यो। 

चक्रे मिलन समूहले कुनै घटना गरायो भने प्रहरीले उनलाई पक्राउ गरिहाल्थ्यो। घटनामा चक्रे मिलनको संलग्नता पुष्टि पनि हुन्थ्यो। 
अक्सर चक्रे आफैँ हतियार बोकेर घटनास्थलमा उपस्थित हुने भएका कारण उनीविरुद्ध प्रमाण जुटाउन प्रहरीलाई सजिलो थियो।   

मनाङे संलग्न घटनामा भने प्रहरी प्रमाण संकलन गर्न नसकेर कायल हुन्थ्यो। किनकि घटना मनाङे ‘ग्याङ्ग’ ले गराएको सूचना भए पनि घटनामा मनाङेको प्रत्यक्ष भौतिक संलग्नता भेटिँदैनथ्यो। 

अर्थात्, घटनाको ‘मास्टर माइन्ड’ मनाङे हुन्थे। तर, उनी पर्दापछाडि रहेर, प्रहरीले प्रमाण जुटाउन नसक्ने गरी घटना गराउँथे। यथेष्ट प्रमाणको अभावमा उनी केही समय जेल बसेर छुटिहाल्थे। 

गुण्डागर्दीको दुनियाँमा मात्र होइन, राजनीतिमा समेत उनले आफ्नो चतुरता सिद्ध गरे। यो कुरा नेकपाको विभाजनपछि गण्डकी प्रदेश सरकारको पतन–निर्माणकालमा मज्जासँगै देखिएको हो।

गण्डकी प्रदेश सभामा स्वतन्त्र हैसियतका उनी एकजना मात्र सांसद थिए। तर, सरकार ढाल्न र बनाउन उनी निर्णायक रहे। त्यहाँको कमजोर समीकरणका कारण उनले समर्थन नगरेका सरकार ढले, समर्थन गर्नेले नयाँ सरकार बनाउन सके। 

यहीकारण एमालेका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुँदा दुवैको कार्यकालमा उनले खेलकुद मन्त्रीको पद पड्काए। 

जानकारहरुका भनाइमा खेलकुद मन्त्री हुँदा उनले मनाङमा त आफ्नो राजनीतिक प्रभाव बढाए नै, पोखरामा समेत प्रभाव विस्तार गरेका छन्। पोखरा महानगरपालिकामा निर्वाचित कांग्रेस–एमालेका केही वडाध्यक्षहरुको वफादारी आफ्नो दलभन्दा बढी मनाङेसँग छ। 

मनाङेको राजनीतिक चतुरता यो निर्वाचनमा अझ बढी देखियो, जसका कारण गणतन्त्र स्थापनापछि निर्विरोध निर्वाचित पहिलो सांसदको रुपमा उनको नाम दर्ता हुनसकेको छ।  

जस्तो कि, ठूला पार्टीहरुभित्र टिकटका लागि मारामार भए पनि आफ्नो निर्वाचन क्षेत्र मनाङ ‘क’ मा कुनै पनि दलका उम्मेदवार आफूविरुद्ध खडा नहुने परिस्थिति सिर्जना उनले गरिसकेका रहेछन्।

ठूला दलका शीर्ष नेतासँगको कुराकानीबिना मनाङ ‘क’ प्रदेश सभामा उनीहरुले उम्मेदवार नउठाउने परिस्थिति सिर्जना हुने कुरा सम्भवै थिएन। 

शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलाई समेत मनाङ ‘क’ मा अरु उम्मेदवार खडा नगर्न सहमत गराउनु मनाङेको सानो राजनीतिक सफलता होइन।  

सहरमा विवादास्पद, मनाङमा ‘लोकप्रिय’
जानकारहरुका भनाइमा उनको विगत र गण्डकी प्रदेशमा खेलकुद मन्त्री हुँदाका एकाध विवादास्पद घटनाका कारण काठमाडौँमा उनको आलोचना हुने गरे पनि गृहजिल्ला मनाङमा भने उनी ‘लोकप्रिय’ छन्। 

कोरोनाकालमा जिल्लावासीहरुलाई उनले पुर्याएको सहयोगका कारण पछिल्लो समय जिल्लामा उनको लोकप्रियता बढेको बताइन्छ। यही कारण प्रतिस्पर्धा हुँदा पनि उनलाई पराजित गर्नसक्ने स्थिति नरहेको जानकारहरु बताउँछन्।  

प्रतिस्पर्धा हुँदा सहजै विजय हासिल गर्ने स्थिति रहे पनि मनाङेको चाहना भने निर्विरोध निर्वाचित हुने नै थियो। किनभने अधिकांश मतदाता काठमाडौँ र पोखरामा भएकाले उनीहरुलाई आफ्नो खर्चमा मनाङ ओसार्ने झमेला बेहोर्नु पथ्र्याे। यसका लागि ठूलो खर्च लाग्थ्यो। 

त्यहीकारण उनले शीर्ष नेताहरुसँगै कुराकानी गरे, सबै पार्टीका नेताहरुलाई ‘आफू उनीहरुकै मानिस रहेको’ मा विश्वस्त गराए। त्यही कारण उनको निर्वाचन क्षेत्रमा दलीय उम्मेदवारी नपर्ने स्थिति सिर्जना भयो।

तर, उनको योजनाविपरीत दोर्जे लामा नामक युवाले २३ असोजमा खुसुक्क उम्मेदवारी दर्ता गराइदिए। त्यति चतुर्याइँका बाबजुद अर्कै व्यक्तिबाट यसरी खुसुक्क आफूविरुद्ध उम्मेदवारी दर्ता होला भन्ने उनले सोचेकै थिएनन्। 

स्वाभाविक थियो, दोर्जेको उम्मेदवारीका कारण २३–२६ असोजसम्मका तीन दिन मनाङेका लागि तनावपूर्ण रहे। 

तर, उनी हतास भएनन्, यहाँपनि उनले ‘राजनीतिक कला’ प्रयोग गरे। उनी आफूविरुद्ध उम्मेदवारी दिएका दोर्जेको उम्मेदवारी फिर्ता गराउन सफल भए। दोर्जेको उम्मेदवारी फिर्तासँगै उनको निर्विरोध निर्वाचित भएर मनाङको ‘सर्वमान्य नेता’ बन्ने सपना साकार भयो। 

२५ असोज बिहानसम्म प्रतिस्पर्धाकै अडानमा रहेका दोर्जेलाई उम्मेदवारी फिर्ता गराउन मनाङेले कसरी सफलता प्राप्त गरे, त्यो त खुलेको छैन। तर, आर्थिक ‘डिल’ मार्फत् दोर्जेको उम्मेदवारी फिर्ता गराएका हुन् कि भन्ने आशंका कात्तिक दोस्रो हप्ता मनाङेको एउटा अभिव्यक्तिले सिर्जना गर्यो।  

निर्विरोध निर्वाचित हुने स्थिति सिर्जना भएको केही दिनपछि नै मनाङेको ‘चुनावमा रक्सी खुवाउन १५ लाख लाग्यो’ भन्ने अभिव्यक्ति सार्वजनिक भएको थियो, जसका कारण निर्वाचन आयोगले उनीसँग २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .