राजनीति


दुई ठूला कम्युनिष्ट पार्टीका महासचिव : पार्टीमा जिते, संसदमा हारे

दुई ठूला कम्युनिष्ट पार्टीका महासचिव : पार्टीमा जिते, संसदमा हारे

फाइल तस्बिर


नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ११:३५, काठमाडौँ

कम्युनिष्ट पार्टीमा संगठन विभाग हाँक्ने पद मुख्य मानिन्छ। पार्टीका सदस्यहरुको व्यवस्थापन, नेताहरुको रिपोर्ट लिने, रेकर्ड राख्नेदेखि वैचारिक, सैद्धान्तिक प्रशिक्षण, नयाँ कार्यक्रम गर्ने र सदस्यलाई चलायमान बनाउने काम गर्ने पद हो–महासचिव।

नेपालमा संसदीय राजनीति गरेकामध्ये दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रको पनि संगठन, पार्टी सदस्य चलाउन महासचिव पद राखेका छन्। 

एमालेमा अहिले महासचिव पदमा शंकर पोखरेल र माओवादी देवप्रसाद गुरुङ छन्। अध्यक्षपछिका शक्तिशाली महासचिव पदमा रहेका यी दुई नेता यो पटकको संसदीय निर्वाचनमा फेल भएका छन्। 

प्रतिनिधि सभातर्फ ४ मंसिरमा भएको चुनावमा एमाले र माओवादी दुवैका महासचिव चुनावी प्रतिस्पर्धामा थिए–दाङ २ बाट एमाले महासचिव पोखरेल र लमजुङबाट माओवादी महासचिव गुरुङ।

तर, यी दुवै महासचिवले चुनावमा नमिठो पराजय व्यहोरेका छन्। संयोग कस्तो भयो भने, पोखरेललाई माओवादीकी स्थायी समिति सदस्य रेखा शर्माले हराइन्।

यस्तै गुरुङलाई एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले हराए।

पोखरेललाई हराउने माओवादी स्थायी समिति सदस्य शर्मा संसदीय राजनीतिमा पहिलो पटक प्रत्यक्ष चुनाव लडेकी हुन्। 

तर, पृथ्वी सुब्बा गुरुङ लामो समयदेखि संसदीय चुनाव लडेका नेता हुन्। २०७४ मा उनी लमजुङबाट प्रदेश सभा चुनाव जित्दै मुख्यमन्त्री बनेका थिए। 

शंकर पोखरेल र देव गुरुङको समानता पनि छ, यी दुवै नेता सैद्धान्तिक र सांगठनिक कौशल भएका रुपमा चिनिन्छन्।

पोखरेल दाङ प्रदेश सभाबाट २०७४ को चुनाव जितेर मुख्यमन्त्री बनेका थिए। उनले संसदीय राजनीति थालेयताका कुनै चुनाव जित्न सकेका छैनन्। 

केन्द्रीय संसदमा २८ वर्षदेखिको हारको इतिहास अन्त्य गर्दै पहिलो जितको खोजीमा रहेका पोखरेलको तगारो रेखा शर्मा हुन पुगिन्। 

उता देव गुरुङ भने चौथो जितको खोजीमा थिए, उनको विजय यात्रामा पृथ्वीसुब्बा गुरुङले ब्रेक लगाइदिए।

नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका दुवै महासचिवले एउटै चुनावमा पराजय व्यहोरेको संभवतः यो पहिलो पटक हो। त्यसमा पनि कम्युनिष्टबाटै दुवै पराजित हुन पुगे।

२०७४ को चुनावमा एमाले–माओवादी तालमेलबाट चुनाव जित्दै पार्टी एकीकरण गरेर नेकपामा रहेका यी नेताहरु अहिले भने प्रतिस्पर्धामा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .