ad ad

राजनीति


०४२ सालमै ‘क्याबिनेट’ मन्त्री बनेका शरतसिंह भण्डारीले निश्चित गरे सातौँ संसद यात्रा

०४२ सालमै ‘क्याबिनेट’ मन्त्री बनेका शरतसिंह भण्डारीले निश्चित गरे सातौँ संसद यात्रा

जयन्त ठाकुर
मंसिर ९, २०७९ शुक्रबार १५:१५, जनकपुरधाम

महोत्तरी २ बाट निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले सातौँपटक संसदको यात्रा तय गरेका छन्। 

भण्डारी प्रतिनिधिसभा सदस्यमा २५ हजार १९० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका डा.विजयकुमार सिंहले ११ हजार १ सय २० मत पाएका छन्। 

सिंह र भण्डारीबीचको मतान्तर १४ हजार ७० छ। यो क्षेत्रमा एमालेका रामपरिक्षण यादवले १० हजार २ सय ५८ मत ल्याएका छन्।  

विगत गत ४० वर्षदेखि भण्डारी राजनीतिमा सक्रिय छन्। पञ्चायती व्यवस्था, राजतन्त्र र गणतन्त्रसहितका व्यवस्थामा महोत्तरीका जनताको प्रतिनिधित्व गर्ने अवसर उनले पाए। 

यो निर्वाचनसहित ९ पटक महोत्तरीबाट उम्मेदवार बन्दा उनी ७ पटक निर्वाचित भइसकेका छन्। प्रतिस्पर्धामा उनी २ पटक मात्रै पराजित भएका छन्। 

भण्डारी पञ्चायती व्यवस्थाकै बेला २०३८ र २०४२ सालमा महोत्तरीबाट निर्वाचित भए। प्रजातन्त्र स्थापनापछि २०५१, २०५६, २०६४, २०७४ सालको संसदीय निर्वाचन पनि उनले जिते। २०४८ र २०७० सालमा मात्रै उनले पराजय व्यहोर्नु परेको थियो।

भण्डारी महोत्तरीमा ‘दादा’ को नामले प्रख्यात छन्। ‘दादा’ अर्थात् दाजु सम्बोधन उनको विरासत जस्तै बनेको छ। भण्डारीले आफ्नो पिता पृथ्वीमान सिंह ‘मनु बाबु’को राजनीतिक विरासतलाई अगाडि बढाएका छन्।

पञ्चायती व्यवस्थाको समयमा भण्डारी विद्यार्थी थिए। सोही समयमा उनी समाजमा व्याप्त गलत कृयाकलापका साथै कुरितिबिरुद्ध आवाज उठाउँथे। त्यतिबेलै उनका साथीहरुले स्नेहपूर्वक उनलाई  ‘दादा’ सम्बोधन गर्न थालेका थिए। पछि जिल्लाभरीकै मान्छेले उनलाई दादा भनेर सम्बोधन गर्न थालेका हुन्।

भण्डारीका बुवा महोत्तरी जिल्लाका लोकप्रिय राजनीतिकर्मी थिए। तत्कालीन पञ्चायती व्यवस्थामा उनी जनपक्षीय राजनीति गर्थे। जसका कारण तत्कालीन जिल्ला पञ्चायतको सदस्य हुँदै राष्ट्रिय पञ्चायतको सदस्य, पञ्चायत संसदको राजनीतिक समितिको सभापतिसम्म उनका बुवा भए।

२०३२ सालमा संविधान संशोधनको माग उठेपछि पंचायती व्यवस्थाका पक्षधरहरु नै दुईधारमा बाँडिए। एक धार थियो–सुधारवादी, अर्को धार थियो ‘हार्ड कोर’। सूर्यबहादुर थापा सुधारवादीको पक्षमा थिए। भण्डारीका बुवा पनि सूर्यबहादुरकै पक्षमा थिए।

२०३४ सालको चुनावमा सुधारवादी पंचायतको पक्षमा रहेका नेताहरुलाई दरबारविरोधी, सरकारविरोधी, व्यवस्थाविरोधी गतिविधिमा लागेको भन्दै उनीहरुको राजनीति समाप्त पार्ने षडयन्त्र शुरु भयो। सोही षडयन्त्रका कारण पृथ्वीमान चुनावमा पराजित भएका थिए।

सो समयमा भण्डारी मात्र २१ वर्षका थिए। यद्यपि उनी राजनीतिमा सक्रिय भई सकेका थिए। २०३५ सालमा भण्डारीको बुवाको दुर्घटनामा निधन भयो। त्यस लगत्तै २०३६ सालमा जनमत संग्रह भयो। जनमत संग्रहमा भण्डारी प्रत्यक्ष राजनीतिमा होमिएका थिए।

 ‘जनमत संग्रहमा हामी होमियौं, बहुदलको पक्षमा खुलेर लागेका थियौं,’ भण्डारीले नेपालखबरसँग भने, ’बहुदलको पक्षमा लागेका कारण मसहित केही साथीविरुद्ध ‘शूट एट साइट’को अर्डर जारी भयो।’

भण्डारीसँगै नेपाली कांग्रेसमा आबद्ध सीताराम भण्डारी, वसन्त गुरुङ, महेन्द्रकुमार राय, रामचन्द्र राय, वामपन्थी राजनीतिमा लागेका गंगाविक्रम थापा, मदनबहादुर थापासहितका नेताहरु विरुद्ध पनि त्यतिबेला ‘शूट एट साइट’को आदेश गरिएको थियो। जनमतमा सुधारिएको पञ्चायती व्यवस्थाको जीत भएपछि चुनाव भयो। त्यतिबेला भण्डारी भने चुनाव नलड्ने मूडमा थिए।

तर, उनका बुवाका समर्थक तथा महोत्तरीका नेताहरूको दवाबका कारण चुनाव लडे । सो समयमा २५ वर्षको उमेरमा मताधिकार दिइएको थियो र भण्डारी पनि २५ वर्षकै थिए। २०३८ सालको चुनावमा भण्डारी पहिलोपटक सांसद बन्न सफल भए।

२०४२ सालको दोस्रो चुनावमा पनि उनी विजयी भएका थिए । त्यो समयमा मन्त्रीमण्डलमा सहायक मन्त्रीको पद दिइयो । मरिचमान सिंहको समयमा सहायक मन्त्री बनेका भण्डारीलाई ६ महिनापछि क्याबिनेट मन्त्री बनाइयो।

उनी मन्त्री भएकै बेलामा २०४६ सालमा बहुदलीय व्यवस्थाको मागसहित जनआन्दोलन भएको थियो । त्यो आन्दोलन हुँदा पनि मन्त्री केशवबहादुर बुढाथोकी, बेनु प्रसाईं, परशुनारायाण चौधरी लगायत आफू पनि आन्दोलनकारीसँग सम्वाद गर्नुपर्छ भन्ने पक्षमा रहेको भण्डारी बताउँछन्।

२०४६ सालको आन्दोलन सफल भएपछि देशमा बहुदलीय व्यवस्था आयो। बहुदल आएपछि २०४८ सालमा भएको पहिलो चुनावमा सूर्यबहादुर थापाको राप्रपाबाट भण्डारी चुनाव लडेका थिए । उक्त चुनावमा भने उनी २ हजार मतले पराजित भएका थिए।

त्यसपछि उनी राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । ‘हंग पार्लियामेन्ट’ भएको बेला लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले संसद् विघटन गरेपछि भण्डारीकै एक मतले संसद् पुनःस्थापना भएको थियो। संसद पुनःस्थापना भएपछि सूर्यबहादुर थापा र शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । सोही क्रममा कांग्रेसमा उनी आवद्ध भएका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसले उनलाई टिकट दिएन । कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिए। महोत्तरीबाट उनी स्वतन्त्र उठेर सांसदमा विजयी भए।

२०५६ सालमा महोत्तरीको ४ वटै क्षेत्र कांग्रेसलाई जिताउन भण्डारीले महत्वपूर्ण भूीमका निर्वाह गरेका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको मन्त्रीमण्डलमा भण्डारी पनि मन्त्री भए। ९ महिना मात्र उक्त सरकार चलेको थियो। 

माओवादी जनयुद्ध, राजाको प्रत्यक्ष शासन, २०६२÷०६३ सालको जनआन्दोलनपछि मधेश आन्दोलन शुरू भयो।

मधेश आन्दोलन चलिरहँदा तत्कालीन प्रधानमन्त्री गिरिजाबाबुलाई आफूले ‘मधेशकै कारण कांग्रेस र लोकतन्त्र जोगिएको छ, मधेशीहरू आफ्नो अधिकारका लागि आवाज उठाई रहेका छन्। उनीहरूको माग के हो भन्ने सुन्ने  काम हामीले गर्नुपर्छ’ भनेर आफूले दवाब दिएको उनी दाबी गर्छन्।

त्यतिबेला विमलेन्द्र निधि, विजय गच्छदार, महेश आचार्य, रामवरण यादवसहितको टोलीले मधेश आन्दोलनलाई कसरी हेर्ने र मधेशको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा एउटै दृष्टिकोणसमेत बनाएको उनी स्मरण गर्छन्। तर त्यो भिजन अनुसार कामै नभएको भण्डारीको गुनासो छ।

मधेश आन्दोलन उत्कर्षमा पुग्न थालेपछि अन्ततः उनले कांग्रेस पार्टी नै परित्याग गरे। कांग्रेस परित्याग गरेका भण्डारी उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरे। 

२०६४ सालको पहिलो संविधानसभाको चुनावमा सोही पार्टीबाट संविधानसभामा भण्डारी निर्वाचित भए। पछि फोरम टुक्रिँदा उनी विजय गच्छदारको नेतृत्वमा रहेका फोरम लोकतान्त्रिकमा लागेका थिए। त्यसपछि उनी रक्षामन्त्री बने। त्यो समयमा भण्डारीले दिएको एउटा अभिव्यक्तिका कारण उनले मन्त्री पद गुमाउनु परेको थियो।

आफूले हरेक नेपालीको मनमा समान रुपले राष्ट्रियता झल्काउनका लागि नेपाली सेनामा मधेशीहरुको सम्मानपूर्वक सहभागिता हुनु पर्छ भन्ने माग उठाएकै कारण मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको उनको भनाई छ।

त्यसपछि उनले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरेर मधेशभर अभियान सञ्चालन गरेका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी महोत्तरी– १ र महोत्तरी– २ सहित दुवै क्षेत्रबाट चुनाव लडेका थिए। तर दुवै क्षेत्रबाट पराजित भए। 

पछि विभिन्न ६ वटा पार्टी मिलेर राष्ट्रिय जनता दल बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे। २०७४ सालको निर्वाचनमा उनले राजपाबाट महोत्तरी– २ मा फेरि पनि चुनाव जिते। अहिले उनी लोकतान्त्रिक समाजवादी पार्टीका नेता छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .