ad ad

राजनीति


पाँच वर्षयता स्वास्थ्यमन्त्री बनेका कसैलाई फापेन यो चुनाव

पाँच वर्षयता स्वास्थ्यमन्त्री बनेका कसैलाई फापेन यो चुनाव

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १९:३०, काठमाडौँ

विगत पाँच वर्षमा स्वास्थ्यमन्त्री भएकाहरुको हकमा आम निर्वाचन– २०७९ ले रोचक परिणाम दिएको छ। केपी ओलीको पालादेखि शेरबहादुर देउवाको पालामा यो मन्त्रालयको जिम्मेवारी पाएका सबै मन्त्री यो निर्वाचनमा पराजित हुन पुगेका छन्। 

२०७४ मा ओली प्रधानमन्त्री भएपछि पहिलो स्वास्थ्यमन्त्री उपेन्द्र यादव बनेका थिए। ओलीको दोस्रो प्रधानमन्त्रित्वकालमा पहिलो स्वास्थ्यमन्त्री बनेका यादवलाई यसपटकपनि सप्तरी–२ मा एमालेले साथ दिएको थियो। 

तर, यादव जनमत पार्टीका अध्यक्ष सीके राउतबाट भारी मतान्तरसहित पराजित भइसकेका छन्।

यादवपछि ओलीले एमाले नेता शेरबहादुर तामाङलाई यो मन्त्रालयको जिम्मेवारी दिएका थिए। 

बंगलादेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले बेहोर्नुपरेका समस्याका विषयमा विवादास्पद अभिव्यक्तिका कारण उनले मन्त्री पद छाड्नु पर्यो। 

यसपटक पनि सिन्धुपाल्चोक–१ बाट उम्मेदवार बनेका तामाङ नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतबाट पराजित बनेका छन्। वामगठबन्धनका कारण २०७४ मा विजयी उनी यसपटक सत्तागठबन्धनका कारण पराजित भए। 

तामाङले मन्त्री पदबाट राजीनामा दिएपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्का एमाले नेता भानुभक्त ढकालको पनि उही नियति भएको छ। कांग्रेस उम्मेदवार डा. सुनिल शर्माबाट उनी मोरङ–३ मा भारी मतान्तरले पराजित भएका छन्। 

ओलीको प्रधानमन्त्रित्वकालमा स्वास्थ्यमन्त्रालयमा ढकालका उत्तराधिकारी थिए, हृदयेश त्रिपाठी। ०७४ मा सूर्यचिन्ह लिएर नवलपरासी– २ मा उम्मेदवार थिए। तर, एमालेको समर्थनका बाबजुद उनीपनि नवलपरासी (बर्दघाटपश्चिम)– १ बाट पराजित भएका छन्।  

नेकपा र एमालेको विभाजनपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। राज्यमन्त्री भएपनि फूलमन्त्री नभएकाले उनको हैसियत फूलमन्त्री सरह नै थियो। 

श्रेष्ठपनि चितवन– २ मा भारी मतान्तरले पराजित भएका छन्। चुनावमा पहिलो पटक प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेले श्रेष्ठलाई पराजित गरेका हुन्। 

एकीकृत समाजवादी सरकारमा सामेल भएपछि राज्यमन्त्री श्रेष्ठलाई मन्त्री परिषदको कार्यालय हेर्ने गरी प्रधानमन्त्री देउवाले स्थानान्तरित गरे। श्रेष्ठको ठाउँमा मन्त्री बनाइए, एकिकृत समाजवादीका नेता विरोध खतिवडा। 

उनी मकवानपुर– २ मा एमालेका महेश बर्तौलाबाट पराजित भइसकेका छन्। 

धन्न, खतिवडापछि स्वास्थ्यमन्त्री रहेका एकीकृत समाजवादीका भवानीप्रसाद खापुङ (तेह्रथुम)ले  यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा नै गरेनन्। 

स्वास्थ्यमन्त्री खापुङले पनि प्रतिस्पर्धा गरेको भए परिणाम कस्तो आउँदो हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .