ad ad

राजनीति


पार्टी छाडेको १० वर्षपछि एमालेकै भोटले संसदमा फर्किए अशोक राई

पार्टी छाडेको १० वर्षपछि एमालेकै भोटले संसदमा फर्किए अशोक राई

फाइल तस्बिर


ध्रुव भट्टराई
मंसिर १२, २०७९ सोमबार ७:९, विराटनगर

आफूले छाडेको पार्टी नेकपा एमालेको साथ लिएर जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले संसद यात्रा तय गरेका छन्।

सुनसरी क्षेत्र नम्बर १ मा नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार राईले २०७४ को चुनावमा भोगेको पराजयको पीडालाई यस पटक भुलाउन सफल भएका हुन्। 

पाहुनाको ट्यागका बावजुद एमाले कार्यकर्ताहरुले राम्रो भोट दिएपछि राईले संसद यात्रा तय गरेका हुन्।

राईले निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार राईले १७ हजार ५९ मत र तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी छिन्।

३१ वर्षपछि एमालेकै आँगनमा अशोक राईले चुनाव जितेका हुन्। पूर्वमा माले विस्तार गर्दै गर्दा अशोक राईको आधार इलाका थियो, धरान। 

खोटाङमा जन्मिएका राईले आफ्नो राजनीतिक भूमिका रुपमा २०३५ सालदेखि २०४८ सालसम्म धरानमा रहेर कम्युनिस्ट राजनीति गरेका थिए। 

कम्युनिष्टहरुको किल्लाका रुपमा परिचित सुनसरी क्षेत्र नम्बर १ मा राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पछि पार्दै आफनो विजयलाई सुरक्षित बनाएका हुन्।

उनले जित्दा सुनसरी १ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्येङ्बो तेश्रो भएका छन्।

२०७४ सालको निर्वाचनमा राई आफ्नै चेला जयकुमार राईसँग २२ हजार मतले पराजित भएका थिए। 

त्यसबेला संघीय समाजवादी पार्टीका राई सुनसरी १ मा आफैँले राजनीतिमा प्रवेश गराएका चेला जयकुमार राईसँग पराजित भएका थिए। 

कुनै समय एमालेका नेता रहेका अशोक त्यसबेला एमाले उम्मेदवार जयकुमारसँग पराजित भएका थिए। तर यस पटक एमाले र उनै जयकुमारको सहयोगमा जित निकाले।

एमालेले सुनसरी १ मा जयकुमारकै नाम टिकटका लागि सिफारिस गरेको थियो। तर एमाले केन्द्रले जसपासँग तालमेल गरेपछि जयकुमारको टिकट अशोकले लिए।

एमालेमा अशोक राई पार्टीका उपाध्यक्ष हुँदा जयकुमार जिल्ला कमिटी सदस्य थिए। यस पटक टिकट खोसिएपछि असन्तुष्ट जयकुमारलाई फकाउन सकेपछि अहिले उनले एमालेको राम्रो भोट तान्न सफल भए। 

यसअघि २०५४ सालमा एमाले छोडेर माले बन्दा पनि जयकुमार अशोकसँगै यात्रामा थिए।

२०७४ मा राईले ४४ हजार ५ सय २८ मत प्राप्त गरे भने अशोकले २२ हजार १ सय २३ मत प्राप्त गरेका थिए। 

एमालेबाट संघीय समाजवादी पार्टी खोलेका राईले उपेन्द्र यादवको फोरम नेपालसँग एकता गरेका थिए। अहिले उनी जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षका रुपमा रहेका छन्। ।

कुनै बेला मदन भण्डारी सगरमाथा कोशी क्षेत्रीय समितिको सचिव हुँदा अशोक राई उपसचिव भएर भूमिगत रुपमा धरानबाट राजनीति गर्थे। २०४६ सालमा उनले धरानमा रहेर आन्दोलन गरेका थिए।

राजनीतिक यात्रा
खोटाङमा जन्मिएका राई पुष्पलाल समूहबाट राजनीतिमा आएका हुन्। उनले तत्कालीन कोर्डिनिसेन केन्द्रका नेता अमृत बोहराबाट २०३३ सालमा पार्टी सदस्यता लिएका थिए। 

मालेका तत्कालीन नेता मदन भण्डारीसँग उनले १० वर्ष सँगै काम गरेका थिए। उनी २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार बन्दा यातायात मन्त्री पनि भए। त्यसपछि उनी २०५३ सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा संसदीय व्यवस्थामन्त्री भए। त्यसपछि उनी कांग्रेस नेता शेरबहादुर देउवा नेतृत्वको सरकारका बेला स्वास्थ्यमन्त्री बने। 

राजनीतिक यात्रा
२०३३ सालमा कोर्डिनेशन केन्द्रबाट पार्टी सदस्य
२०३६ सालमा मालेको पूर्वीक्षेत्रीय ब्यूरो उपसचिव 
२०४६ सालमा माले केन्द्रीय सदस्य 
२०५४ सालमा एमाले विभाजनपछि वामदेव गौतमसँगै माले 
२०५८ सालमा वामदेव गौतमसँगै एमालेसँग एकता 
२०५९ सालमा नेकपा एमाले स्थायी समिति सदस्य 
२०६५ सालमा नेकपा एमाले उपाध्यक्ष 
२०६९ सालमा एमालेबाट निस्किएर संघीय समाजवादी पार्टी निर्माण
२०७२ सालमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता, वरिष्ठ नेता 
२०७६ साल वैशाख जनता समाजवादी पार्टीको वरिष्ठ नेता 
२०७९ साल असारमा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .