मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना जारी छ भने बाजुरामा अझै सुरु हुन सकेको छैन।
१० वटा मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्षसहित बागमती प्रदेशको दोलखा जिल्लामा भने आज (१५ मंसिर) पुनः मतदान भइरहेको छ।
मतगणनाको रुझान सुरु भएदेखि कुन राजनीतिक दलले कति सिट जित्छ र कहाँबाट को विजयी हुन्छन् भन्ने आम चासो सर्वत्र देखियो। मतपरिणाम लगभग अन्तिम अवस्थामा आइपुग्दा संघीय संसद्को सबैभन्दा ठूलो दलका रुपमा सत्तारुढ नेपाली कांग्रेसले आफूलाई दर्ज गरेको छ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले ५५, नेकपा एमालेले ४४, नेकपा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल १, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १ र स्वतन्त्र उम्मेदवार ५ जनाले संघीय संसदको बाटो तय गरिसकेका छन्।
यसमध्ये सबैभन्दा धेरै मतान्तरसहित अबको संघीय संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रवेश गर्दै छन्। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गरे।
उनीहरुबीचको मतान्तर ३४ हजार ३ सय १२ छ। जुन संघीय संसदमा प्रवेश गर्ने सांसदमध्ये सबैभन्दा धेरै हो।
त्यस्तै, सबैभन्दा कम मतान्तरले विजयी हुनेमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ छन्। नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई ४६ मतान्तरले हराउँदै नेकपा एमालेका नेम्वाङ विजयी भएका हुन्।
नेम्वाङले ३२ हजार १ सय ३५ मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ८९ मत प्राप्त गरेको आयोगले उल्लेख गरेको छ।
यसअघि गत ९ मंसिरमा नै यहाँको प्रत्यक्षतर्फको मतगणना सकिएको थियो। त्यतिबेला नेम्वाङको मत ३२ हजार १ सय १० र आङ्देम्बेको ३२ हजार ६३ थियो।
बाकसमा भेटिएका मतमध्ये २६ मत रुखमा र २५ मत सूर्यमा पाइएको छ। वसन्तको विजयको अन्तर भने ४७ बाट घटेर ४६ मा झरेको छ।
प्रतिक्रिया