ad ad

राजनीति


सर्लाहीका १२ पालिका जितेको कांग्रेस प्रतिनिधिसभामा खाली हात

सर्लाहीका १२ पालिका जितेको कांग्रेस प्रतिनिधिसभामा खाली हात

जनार्दन पोखरेल
मंसिर १५, २०७९ बिहिबार १५:२९, सर्लाही

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले सर्लाहीका २० मध्ये १२ पालिकामा जित हासिल गरेको थियो। 

स्थानीय तह निर्वाचनमा जिल्लाका धेरै पालिकामा विजयी बनेर सबैभन्दा ठूलो दल बनेको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भने सर्लाहीमा एक सिट पनि जित्न सकेन। 

गठबन्धनका दलहरुबीच सिट बाँडफाँड हुँदा सर्लाहीका ४ मध्ये एउटा क्षेत्र मात्रै कांग्रेसको भागमा पर्यो। आफ्नो भागमा परेको क्षेत्र सर्लाही ४ मा कांग्रेसले नेता नागेन्द्र कुमार यादवलाई उम्मेदवार बनाएको थियो। 

निर्वाचनमा यादवलाई पराजित गरेर कांग्रेसकै पूर्व नेता अमरेश सिंह विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार सिंहले गठबन्धन दलका साझा उम्मेदवार यादवलाई पराजित गर्दा कांग्रेसले सर्लाहीमा पाएको एउटा क्षेत्रमा पनि पराजय ब्यहोर्नुपरेको छ।

सर्लाही ४ मा गठबन्धन दलसँग पर्याप्त मत हुँदाहुँदै यादवले सिंहसँग १ हजार ७६४ मतान्तरले पराजय बेहोरेका छन्।

कांग्रेसको मत सिंहले काट्दा र माओवादीको मत गठबन्धनकै बागी उम्मेदवारलाई जाँदा नागेन्द्र चुनावमा पराजित भएका हुन्। 

माओवादी नेता शिवपुजन रायले नागेन्द्रविरुद्ध आफ्नी छोरी मधुमाला कुमारीलाई उम्मेदवार बनाएपछि अमरेशलाई सर्लाही ४ बाट निर्वाचन जित्न सजिलो भएको छ। 

प्रतिनिधिसभातर्फ सर्लाही १ मा लोसपाका उपेन्द्र महतो, २ मा माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनाव लडेका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र ४ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी बनेका छन्। 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ विजयी नभए पनि कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ भने सर्लाहीबाट सबैभन्दा धेरै मत प्राप्त गरेको छ। 

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सर्लाहीबाट कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा ४८ हजार ३३७ मत प्राप्त गरेको छ। 

कांग्रेसपछि सर्लाहीमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत माओवादी केन्द्रले पाएको छ। माओवादी केन्द्रले ४५ हजार ६२६ मत प्राप्त गर्दा एमालले ३८ हजार ३१३ मत पाएको निर्वाचन आयोगले जनाएको छ। 

सर्लाहीमा सीके राउत नेतृत्वको जनमत पार्टीले ३७ हजार ९११, जसपाले ३० हजार ३३५, लोसपाले २३ हजार ६५८, राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ८९८ र एकीकृत समाजवादीले ९ हजार ८२३ मत पाएका छन्। 

सर्लाहीमा कांग्रेसले प्रतिनिधिसभातर्फ जित हासिल गर्न नसकेपनि प्रदेशसभा तर्फ भने ३ सिटमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। 

सर्लाही क्षेत्र नम्बर २ का दुवै प्रदेशसभामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। त्यसैगरी कांग्रेस उम्मेदवार पराजित भएको सर्लाही ४ को प्रदेशसभा क मा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .