ad ad

राजनीति


मधेश प्रदेश : प्रतिनिधिसभातर्फ सर्वाधिक सिट जितेको एमाले प्रदेशसभामा पनि पहिलो (सूचीसहित)

मधेश प्रदेश : प्रतिनिधिसभातर्फ सर्वाधिक सिट जितेको एमाले प्रदेशसभामा पनि पहिलो (सूचीसहित)

जनार्दन पोखरेल
मंसिर १६, २०७९ शुक्रबार ११:२१, सर्लाही

प्रदेशसभाको प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेकपा (एमाले) मधेश प्रदेशमा पहिलो दल बनेको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फका ३२ सिटमध्ये सबैभन्दा धेरै ९ वटा जितेको एमाले मधेश प्रदेशसभाको प्रत्यक्षतर्फ पनि पहिलो दल बनेको हो। 

मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ क्षेत्र छन्। त्यसमध्ये ६२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। धनुषा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख) को मात्रै अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ। त्यहाँ मत गणना सकिए पनि दलहरुबीच विवादका कारण निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेको छैन। 

धनुषा १ को (क)मा कांग्रेस र (ख)मा एमाले उम्मेदवार जितनजिक छन्। ती दुई क्षेत्रको अन्तिम परिणाम सार्वजनिक हुँदा एमाले र कांग्रेसलाई थप एक-एक सिट थपिने सम्भावना बलियो छ। 

अहिलेसम्म ६२ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक हुँदा १५ सिट जितेर एमाले मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ। ०६४ को निर्वाचनमा धेरै क्षेत्रमा विजयी बनेका मधेशवादी दल यसपटक आफ्नो प्रभाव क्षेत्रमै पछि परेका छन्।

मधेश प्रदेशसभाको प्रत्यक्षतर्फ एमालेपछि धेरै सिट कांग्रेसले जितेको छ। कांग्रेस उम्मेदवार प्रदेशसभाका ११ क्षेत्रमा विजयी हुँदा जनता समाजवादी पार्टी (जसपा) ले ९ क्षेत्रमा जित हासिल गरेको छ। अर्को मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेशका ७ क्षेत्रमा विजयी भएको छ। 

त्यसैगरी पहिलोपटक निर्वाचनमा भाग लिएको सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशसभामा ६ सिट जित्दा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ४/४ क्षेत्रमा विजयी बनेका छन्।

मधेश प्रदेशसभाका प्रत्यक्षतर्फका ६ क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। विजयी स्वतन्त्र सांसद धेरैजसो विभिन्न दल निकटका छन्।

०७४ को निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर मधेशवादी दलले मधेश प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गरेका थिए। अहिले पनि जसपाका नेता लालबाबु राउत मधेश प्रदेश सरकारको मुख्यमन्त्री छन्। यसपटक पनि उनी पर्सा १ को (ख) बाट प्रदेशसभामा विजयी बनेका छन्। 

निर्वाचन परिणामले यसपटक मधेश प्रदेशमा मधेशवादी दलको नेतृत्वमा सरकार बन्ने सम्भावना कमजोर देखिएको छ। 

मधेश प्रदेशसभा प्रत्यक्ष तर्फ ६४ र समानुपातिक तर्फ ४३ सिट गरी १०७ सदस्यीय छ। बहुमतका लागि प्रदेशसभामा ५४ सदस्य आवश्यक पर्छ। 

प्रत्यक्षतर्फ सबैभन्दा धेरै क्षेत्रमा विजयी बने पनि एमाले एक्लैको बहुमत पुग्ने सम्भावना छैन।

मधेश प्रदेशसभाको समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा धेरै मत प्राप्त गरेको छ। कांग्रेसले ४ लाख १४४ मत ल्याउँदा एमालेले ३ लाख ५१ हजार ७६८ मत प्राप्त गरेको छ। 

त्यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टी तेस्रो स्थानमा छ। जनमत पार्टीले ३ लाख २९ हजार १७७ मत प्राप्त गर्दा ०७४ को सबैभन्दा ठूलो दल जसपाले यसपटक २ लाख ९८ हजार ७७४ मत मात्रै पाएको छ। 

त्यसैगरी माओवादी केन्द्रले १ लाख ८० हजार, नेकपा एकीकृत समाजवादीले १ लाख १३ हजार ९१५, लोसपाले १ लाख १३ हजार ३६४ मत पाएका छन्। 

दलहरुले पाएको मतको आधारमा समानुपातिक तर्फ मधेश प्रदेशसभाको सिट बाँडफाँड हुँदा पनि एमाले नै पहिलो दल बन्ने सम्भावना बलियो देखिन्छ। प्रदेशसभाको ठूलो दल बने पनि एमाले एक्लैलाई मधेशमा सरकार गठनका लागि बहुमत पुग्ने अवस्था भने छैन।

त्यो अवस्थामा एमालेले बाँकी तीन/चारवटा दललाई साथमा लिएर सरकार गठन गर्नुपर्ने अवस्था आउन सक्छ। सरकार गठनका लागि ६ जना स्वतन्त्र सांसदको पनि मधेशमा महत्त्वपूर्ण भूमिका रहने देखिन्छ। 

मधेश प्रदेशसभामा कहाँ कसले जिते?

एमाले
१. सप्तरी १ (क)  - राजकुमार लेखी
२. सिरहा १ (क) - राजेन्द्र प्रसाद चौधरी
३. सिरहा २ (ख) - शत्रुधनप्रसाद सिंह
४. सिरहा ३ (क) - मनोकुमार सिंह
५. धनुषा २ (क) - लखनदास तत्मा
६. धनुषा ३ (ख) - दिपेन्द्रकुमार ठाकुर
७. धनुषा ४ (क) - शेष नारायण यादव
८. धनुषा ४ (ख) - हरिनारायण महतो
९. महोत्तरी १ (क) - शारदा देवी थापा
१०. महोत्तरी ४ (क) - सरोजकुमार यादव
११. रौतहट २ (क) - मोहम्मद जैद आलम
१२. बारा १ (क) - त्रिलोकी प्रसाद
१३. बारा ३ (क) - रविन्द्र दास श्रेष्ठ
१४. बारा ३ (ख) - महम्मद समिर
१५. बारा ४ (क) देवनारायण थारु

नेपाली कांग्रेस
१. धनुषा ३ (क) - रामशरोज यादव
२. सर्लाही २ (क) - जंगीलाल राय
३. सर्लाही २ (ख) - कौशलकिशोर राय
४. सर्लाही ४ (क) - वीरेन्द्रप्रसाद सिंह
५. रौतहट १ (क) - नागेन्द्र साह
६. रौतहट १ (ख) - कृष्णप्रसाद यादव
७. पर्सा २ (क) - श्यामप्रसाद पटेल
८. रौतहट ३ (ख) - सुनिलकुमार यादव
९. पर्सा ३ (ख) - जनार्दन सिंह क्षेत्री
१०. पर्सा ४ (क) - शंकरप्रसाद चौधरी
११. सप्तरी ३ (क) - मोहम्मद समिर

जसपा
१. सिरहा १ (ख) - राजकुमार गुप्ता
२. धनुषा २ (ख) - रामआशिष यादव
३. महोत्तरी ४ (ख) - सरोजकुमार सिंह
४. सर्लाही ३ (ख) - संजयकुमार यादव
५. रौतहट ४ (ख) - शेख अबुलकलाम आजाद
६. बारा १ (ख) - सरोजकुमार यादव
७. बारा २ (ख) - बच्चा राउत अहिर
८. पर्सा १ (ख) - लालबाबु राउत
९. पर्सा ४ (ख) - सिंगासन सा कलबार

लोसपा
१. सिरहा ४ (ख) - रामबाबु यादव
२. महोत्तरी २ (क) - जयलुन राइन
३. महोत्तरी ३ (क) - अभिराम शर्मा
४. महोत्तरी ३ (ख) - रानीकुमारी शर्मा
५. सर्लाही १ (क) - उपेन्द्र महतो
६. बारा ४ (ख) - जितेन्द्रप्रसाद सोनार
७. पर्सा २ (ख) - रमेशप्रसाद कुर्मी

जनमत पार्टी
१. सप्तरी १ (ख) - सकिल मियाँ
२. सप्तरी २ (क) - सतिशकुमार सिंह
३. सप्तरी २ (ख) - महेशप्रसाद यादव
४. सप्तरी ३ (ख) - शम्भुकुमार साह
५. सिरहा २ (क) - सञ्जयकुमार यादव
६. सिरहा ४ (क) - त्रिभुवन साह

माओवादी केन्द्र
१. महोत्तरी १ (ख) - भरत प्रसाद साह
२. सर्लाही ४ (ख) - फकिरा महतो
३. रौतहट ४ (क) - युवराज भट्टराई
४. पर्सा १ (क) - रहवर अन्सारी

एकीकृत समाजवादी
१. सप्तरी ४ (क) - गोविन्द बहादुर न्यौपाने
२. सिरहा ३ (ख) - प्रमोकुमार यादव
३. सर्लाही १ (ख) - बेची लुंगेली
४. रौतहट २ (ख) - कनिश पटेल

स्वतन्त्र
१. सप्तरी ४ (ख) - अनिरुद्धकुमार सिंह
२. महोत्तरी २ (ख) - सुरिता कुमारी साह
३. सर्लाही ३ (क) - जवाहरलाल कुशवाहा
४. रौतहट ३ (क) - केशव राय
५. बारा २ (क) - शारदा शंकर प्रसाद कलबार
६. पर्सा ३ (क) - प्रमोदकुमार जयसवाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .