प्रयोगशालामा घण्टौँ अध्ययन गरेर रोग पत्ता लगाउने डा ओजस्वी शेरचन संसद् प्रवेश गर्दै छिन्। अनुसन्धानमा केन्द्रित भएर रोग पहिचान गर्ने उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी हुन्।
संसद् प्रवेशसँगै अब उनले सामाजिक सरोकारका विषयलाई प्रतिनिधिसभामा उठाउनेछिन्।
ओजस्वीका बुवा बायोकेमेस्ट्री विषयका प्राध्यापक थिए। उनले पनि बुवालाई पछ्याउँदै एमबीबीएसपछि बायोकेमेस्ट्री विषय अध्ययन गरिन्।
दुई दशकभन्दा बढी समय प्रयोगशाला र कक्षाकोठामा बिताइन्। ४१ वर्षीया डा शेरचनको चिकित्सा क्षेत्रको यात्रा मोडिएर संसद् भवनसम्म पुगेको छ।
चिकित्सा क्षेत्र र अनुसन्धान उनको रुचिको क्षेत्र थियो। तर जेनजी आन्दोलनले उनको रुचिको विषय बदलिदियो।
काठमाडौँको पानीपोखरीमा जन्मिएकी ओजस्वीले विद्यालय शिक्षा भारतबाट गरेकी थिइन्। भारतको कालिम्पोङस्थित सेन्ट जोसेफ कन्भेन्टबाट कक्षा १० उत्तीर्ण गरिन्। त्यसपछि काठमाडौं फर्केर युनिभर्सल एकेडेमीबाट कक्षा १२ सकेकी थिइन्। पढाइमा तेज ओजस्वीको रुचि चिकित्सा पेसाप्रति थियो। त्यही भएर नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस पढिन्।

ओजस्वी बुवा जस्तै बन्न चाहन्थिन्। बुवालाई पछ्याउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बायोकेमेस्ट्री विषयमा एमडी गरिन्। अध्ययन सकेपछि ओजस्वीले करिब एक दशकसम्म बीपी प्रतिष्ठानमा काम गरिन्। अनुसन्धान, अध्यापन र अस्पतालको वातावरणमा बिताएको समयले उनलाई चिकित्सा क्षेत्रको व्यावहारिक अनुभव दिलायो।
पछि उनी काठमाडौँ फर्किइन्। नेपाल मेडिकल कलेजमा अध्यापन तथा अनुसन्धानमा संलग्न भइन्। अहिले ओजस्वी मेडिकल कलेजको बायोकेमेस्ट्री विषयकी एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छिन्।
चिकित्सा शिक्षा, अनुसन्धान र प्रयोगशालामा केन्द्रित उनको परिवारै यही क्षेत्रमा छ। उनका श्रीमान् डा कुञ्जन शेर्पा वीर अस्पतालका मुटुरोग विशेषज्ञ साथै नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष हुन्।
समाजसेवामा पनि सक्रिय उनी ‘मिसेस नेपाल कल्चर २०२३’ विजेतासमेत हुन्।
अनुसन्धान र चिकित्सा सेवामा केन्द्रित रहेकी ओजस्वी अब नीति निर्माणको थलोमा पुगेकी छिन्।
प्रयोगशालादेखि संसद् भवनसम्मको यात्रा
बिहीबार प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
‘निर्वाचन आयोगबाट प्रमाणपत्र ग्रहण गर्दैगर्दा मुटु ढक्क फुल्यो, पाएको जिम्मेवारी पूरा गर्न पो सक्दिनँ कि भन्ने डर लागेको थियो,’ ओजस्वी भन्छिन्, ‘डर र खुसी दुवै लागेको थियो। थप जिम्मेवार भएर काम गर्ने छु। प्रमाणपत्रले मलाई आज थप जिम्मेवारीको बोझ महसुस गराएको छ।’
उनलाई राजनीतिप्रति रुचि पहिल्यैदेखि थियो। तर राजनीतिमा नै जान्छु भनेर सोचेकी थिइनन्। जेनजी आन्दोलनमा युवाहरूले उठाएको मुद्दाले उनलाई राजनीतिमा जानुपर्छ भन्ने सोच आउन थाल्यो। युवाहरूले भ्रष्टाचार र देश विकासको मुद्दा उठाउँदा सरकारले गोली बर्साएको देखेर उनको मुटु पोल्न थाल्यो। अस्पतालका शैय्यामा घाइते युवाहरूको अवस्था देख्दा उनलाई लाग्यो, ‘अब त अति भयो, यो अन्त्य गराउनुपर्छ।’
‘म सधैँ आफ्नो मेडिकल लाइन, साइन्स र रिसर्चमै केन्द्रित भएर काम गर्ने मान्छे थिएँ। राजनीति गर्ने सोच पहिले थिएन,’ ओजस्वी भन्छिन्, ‘देश विकासको मुद्दा उठाएर आन्दोलनमा उत्रिएका युवामाथि सरकारले गोली बर्साउँदा अब अति भयो, पुराना पार्टीलाई हटाउनै पर्छ भन्ने सोच आउन थाल्यो।’
जेनजी आन्दोलन भएको एक महिनापछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने निर्णय लिइन्।
‘म आफैँ पनि देश बनाउन सक्छु भनी रास्वपाको सदस्यता लिएँ। तर समानुपातिकमा पर्छु भन्ने मलाई थाहा नै थिएन। पछि मात्र यसको जानकारी पाएँ,’ उनले भनिन्, ‘मेरो मेहनत र योग्यताको आधारमा छनोट गर्नुभयो होला, त्यसलाई म सदुपयोग गर्ने छु।’
स्वास्थ्यका मुद्दा उठाउने योजना
ओजस्वीले स्वास्थ्य र शिक्षा क्षेत्रका मुद्दा उठाउने योजना बनाएकी छिन्। स्वास्थ्य–शिक्षा क्षेत्रका कानुनहरू अध्ययन गरेर त्यसलाई कसरी कार्यान्वयनमा लैजाने, के गर्नुपर्छ लगायतका विषय आफूले उठाउने उनको भनाइ छ।
‘स्वास्थ्य–शिक्षाका नीतिगत विषयमा मेरो बढी जोड हुनेछ। पहिल्यैदेखि नीति–नियम किन कार्यान्वयनमा जाँदै छैनन्, किन देश विकास हुँदै छैन, स्वास्थ्य क्षेत्रका कानुन किन कार्यान्वयनमा जाँदैनन् भन्ने लाग्थ्यो। अब म नीति निर्माण गर्ने ठाउँमा पुगेकी छु, नीति बनाउन र कार्यान्वयनमा बढी जोड दिनेछु,’ उनले भनिन्।
देशको नीति निर्माणमा विभिन्न क्षेत्रका अनुभवी मानिसको सहभागिता आवश्यक भएको ओजस्वी बताउँछिन्। आफ्नो अनुभव, सीप र ज्ञानलाई देशका लागि प्रयोग गर्न सकिन्छ भन्ने विश्वासले उनले सक्रिय राजनीति रोजेको उनी बताउँछिन्।
‘अब म कक्षाकोठामा पढाउन जान सक्दिनँ होला, ल्याबमा बसेर रोग पहिचान गर्न भ्याउँदिनँ होला। तर भूमिका फेरिए पनि प्राथमिकता भने स्वास्थ्य र शिक्षाको नीतिगत सुधारमा केन्द्रित हुने छु,’ उनले भनिन्।
उनले स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने, अस्पतालहरूको व्यवस्थापन सुधार गर्ने र महामारी जस्ता चुनौतीका लागि तयार बनाउने विषयमा काम गर्ने योजना रहेको बताइन्।
डा ओजस्वीको अर्को चिन्ता महामारी व्यवस्थापन हो।
‘महामारी फैलिँदा अस्पतालहरू भरिभराउ हुने र स्वास्थ्य प्रणालीमा दबाब बढ्ने अवस्था आउँछ। त्यस्तो अवस्थामा अन्य दीर्घरोगी बिरामीहरूको उपचार कसरी व्यवस्थित गर्ने भन्ने अझै चुनौती छ,’ उनले भनिन्, ‘महामारी आउँदा अस्पताल कसरी व्यवस्थापन गर्ने, सीमित जनशक्तिमा पनि सेवा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा स्पष्ट नीति बनाउन केन्द्रित हुनेछु। यसअघि महामारीमा हामी व्यवस्थापनमा चुकेका छौँ। त्यो कसरी सुधार्ने भन्नेमा मेरो जोड हुनेछ।’

प्रतिक्रिया