नेपाली कांग्रेसबाट पटकपटक राजनीतिक नियुक्तिको अवसर पाएका अर्थशास्त्री हुन्- स्वर्णिम वाग्ले। योजना आयोगको सदस्य र उपाध्यक्ष बनेका वाग्ले अघिल्लो चुनावमा कांग्रेसको टिकटबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहन्थे। तर, उनलाई टिकट दिइएन।
चुनावताका उनले घोषणापत्र लेखेर कांग्रेसलाई नै सघाए। उनै वाग्लेले बिहीबार एकाएक नेपाली कांग्रेस छाडेको घोषणा गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्न उनले कांग्रेस छाडेका हुन्।
कांग्रेस छाड्दा सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवाविरुद्ध विषवमन गरेका वाग्ले धेरै अघिदेखि देउवा समूहसँग रुष्ट थिए। गत मंसिरको चुनावताका पोखरा आउँदा उनले एउटा अनौपचारिक कार्यक्रममा देउवाप्रति असन्तुष्टि त जाहेर गरेका थिए तर पार्टी नै त्याग्ने कुरा गरेका थिएनन्।
उनले भनेका थिए-
‘मेरो चेतनाले, ७०/८० देश हेरेको, यत्रो अध्ययन ५० वर्ष पुग्न लागिसकेको उमेरले निकालेको निष्कर्ष के हो भने आजको बिन्दुमा (सायद पाँच वर्षपछि मेरो भ्यु चेन्ज पनि हुनसक्छ) चाहिँ स्थापित पुराना पार्टीहरुमा नै छिरेर सकिने हदसम्मको सुधार गर्न पहल गर्ने हो। चुनौती त हामीलाई थाहा छँदै छ। तर, ‘ग्लामर अफ होप’ पनि छँदैछन् है!
यहीँ गगन र विश्वप्रकाशको उदाहरण होपफुल होइन? यस्तो बूढो पार्टीमा सारा शक्ति, संसार लाग्दा पनि खोसेरै, लडेरै, भिडेरै महामन्त्री भए नि त! त्यसैले आशा पनि छ।
तर, यही टिकट वितरणकै प्रक्रिया हेर्दाखेरि कसरी बाँडिए, ककसलाई केके सर्तमा बाँडिए भन्दाखेरि घिन पनि लाग्छ। तर, यो एउटा पाठ पनि हो। अब आन्तरिक पार्टीमा पनि प्राइमरी इलेक्सनमा जानुपर्छ। टाउके नेताहरुले टिकट बाँड्ने सिस्टम त एउटा अप्रजातान्त्रिक नै भइहाल्यो, अब प्राइमरीमा जाऔँ।
यसको सशक्त उदाहरण ऋषि सुनक हुन्। ३५ वर्षमा राजनीतिमा लागेको मान्छे पाँच वर्षमा अर्थमन्त्री र सात वर्षमा प्रधानमन्त्री भए। यी सब हुनुको पछाडि ओपन प्राइमरी इलेक्सन सिस्टम हो।
शेरबहादुर देउवाले जस्तो त्यहाँ पनि बोरिस जोन्सनले टिकट बाँड्ने भएको भए ऋषि सुनकले टिकट पाउँथ्यो त? त्यसकारण नेपाली माटो सुहाउँदो केही गर्नुपर्छ।’
उनले त्यो बेला प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने धारणा राख्दै भनेका थिए,‘सांसद मन्त्री बन्न नपाउने सिस्टममा बहस खुला गर्नुपर्यो। कांग्रेस खाली संसद्बाट नै मन्त्री बनाउने हो, यो सिस्टमलाई चलाउन हुँदैन भन्ने छ। रामचन्द्र पौडेलले त्यही कुरा गर्नुहुन्थ्यो। बीपीले भनेको यही हुनुपर्छ भन्नुहुन्छ। म अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बारेमा नयाँ बहस थालनी गर्नेछु। यसको नकारात्मक असर पनि थाहा छ। श्रीलंका, फिलिपन्स, अमेरिकामा ट्रम्पले धन्नै बिताइदिएनन्। यसका गल्ती पनि थाहा छन्।’
उनले गएको मंसिरमा टिकट नपाउँदाको असन्तुष्टिसँगै वैकल्पिक शक्तिबारे धारणा राख्दै अगाडि भनेका थिए,‘टिकटमा अहिले म आफैँ पनि होमिएँ। तर, टिकट दिएनन्। स्वतन्त्रको मुभमेन्ट आयो नि! हाम्रो पोजिसन के हो भन्दा अहिले तीन तप्काबाट हेर्न सकिन्छ- अहिलेको राजनीतिलाई।
एउटा यथास्थितिमा रमाएकाहरुले ठीक छ, यही हो भन्छन्। सानो माइनरिटी भए तापनि उनीहरु पावरफुल छन्। क्याप्चर गरेर बसेका छन्।
दोस्रो, यो सिस्टम घिनलाग्दो भइसक्यो, अब हामी वैकल्पिक राजनीति गर्नुपर्छ, नयाँ फोर्सबाट जाने हो भन्ने। नेपालमा अब अलिकति समाजशास्त्रको कुरा पनि आउँछ। समाजशास्त्र भनेको खालि भोट लिएर रुल मेकानिजम गर्नेमात्र होइन रहेछ।
पश्चिममा त परिपक्वता आइसकेको छ। हाम्रोमा त वडाध्यक्षले लेखिदिने सिफारिसका लागि पनि दलमा आबद्धता चाहिन्छ। फरक पार्टीको पर्नुभयो भने त्यो सिफारिस पनि पाउनुहुन्छ। गाउँगाउँतिर पेलानमा पार्छन्।
भनेपछि, प्याट्रनिक नेटर्वक जुन बन्यो नि पोलिटिक्समा। अब यसलाई बिस्तारै चिर्दै जानुपर्छ। हाम्रो चेतनाको स्तर, आर्थिक अवस्थाका कारण पनि यस्तो हुन पुगेको हो।
तेस्रो विकल्प के हो भने यो फोहोरी आहालमा हाम फालेर आफैँ सफा गर्ने हो । हामीचाहिँ त्यो क्याटागोरीका पर्यौँ।
मलाई अस्ति धेरै गाली गरे। ‘किन स्वतन्त्र लड्ने आँट नगरेको भनेर’। पछि त समाचार पनि आइसक्यो। केपी ओलीले पनि कन्फर्म गरे। गोविन्दजी (गोविन्दराज पोखरेल) लाई दाङ देउखुरीबाट, मज्जाले उहाँले जित्नुहुन्थ्यो। कांग्रेसको उम्मेदवार नभएको ठाउँ, एमालेले ब्याक गरेपछि त जितिन्थ्यो, कांग्रेसको भोट हामीलाई नै आउँथ्यो। मलाई काठमाडौँ ७ बाट ओलीले अफर गर्नुभएको थियो। तर, हामी गएनौँ। एकथान सांसद त बनिन्थ्यो, उहाँ र म दुवै सांसद हुन्थ्यौँ, नोभेम्बर २२ देखि हामी सांसद हुन्थ्यौँ । तर, गएनौँ । कारण के भन्दाखेरि, ‘एकथान सांसद बनेर के काम?’
सम्बन्धित समाचार
Shares
प्रतिक्रिया