ad ad

राजनीति


धनकुटामा कांग्रेसले छक्का पञ्जा गर्‍याे, सूर्य र रुखको गठबन्धन भयो : हेमराज भण्डारी (अन्तर्वार्ता)

‘अब कांग्रेस–एमाले जिताउने हतियार बन्दैनन् धनकुटाका माओवादी’
धनकुटामा कांग्रेसले छक्का पञ्जा गर्‍याे, सूर्य र रुखको गठबन्धन भयो : हेमराज भण्डारी (अन्तर्वार्ता)

सागर न्यौपाने
जेठ २०, २०७९ शुक्रबार १५:५६, काठमाडौँ

स्थानीय तहको निर्वाचनमा धनकुटामा रोचक दृश्य देखियो। सत्ता गठबन्धनमा नेपाली काँग्रेसले धोका दिएको भन्दै कार्यपालिका निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन बनाएको माओवादीले एमालेबाट पनि धोका खायो। अबको संसदीय चुनावमा माओवादीले एमालेलाई सघाउँछ कि कांग्रेसलाई? यो प्रश्न धनकुटामा सघन बनेको छ।

सत्तापक्षीय पाँच दलको गठबन्धन बनाए पनि स्थानीय चुनावमा कांग्रेसले आन्तरिक गुटलाई देखाएर आफ्ना उम्मेदवार हराएको माओवादीको गुनासो छ।

कांग्रेसको धोकाकै कारण कार्यपालिका चुनावमा एमालेसँग गठबन्धन गरेको माओवादी नेताहरु बताउँछन्। तर, एमालेले पनि धोका दिएको माओवादी नेताको गुनासो छ।

कांग्रेस र एमाले दुबै दललाई ‘बेइमान र धोकेबाज’ को संज्ञा दिएको माओवादीले आगामी संसदीय चुनावमा के गर्ला? पहिले कांग्रेस र त्यसपछि एमालेबाट पनि धोका खाइसकेपछि आगामी संसदीय चुनावमा माओवादीले कोसँग तालमेल गर्छ? धनकुटाका ७ वटै स्थानीय तहमा कांग्रेस, जसपा र एकीकृत समाजवादीसँग बनेको गठबन्धन भत्काएर किन एमालेसँग मिल्नुपर्ने आवश्यकता पर्यो?

हामीले यी प्रश्न नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं धनकुटाका पूर्वसभासद हेमराज भण्डारीलाई सोध्यौं। जवाफमा भण्डारीले धनकुटाका माओवादीहरू अब कांग्रेस वा एमालेलाई चुनाव जिताउने हतियार नबन्ने बताए।

प्रस्तुत छ, नेपालखबरले माओवादीका युवा नेता भण्डारीसँग गरेको कुराकानी :

धनकुटामा कांग्रेससँगको डोरी चुँडाएर एमालेसँग तालमेल किन गर्नुपरेको होला?
कांग्रेसले स्थानीय चुनावमा गडबडी गर्यो। हाम्रा उम्मेदवारलाई मत नै दिएन।

हामीले केन्द्रबाट गठबन्धनको निर्णय गर्नुअघि नै धनकुटामा गठबन्धन बनाउने निर्णय गरेर पालिकाहरु पनि बाँडफाँट गरेका थियौँ तर, कांग्रेसले गुट देखाएर मत दिएन, त्यो कुरा हाम्रा उम्मेदवारले हारेपछि मात्र थाहा पायौं। उनीहरुको पार्टीभित्रको गुटको शिकार हाम्रा उम्मेदवार बन्नुपर्यो।

मुख्यगरी तीनवटा पालिका चौबीसे, पाख्रिबास र महालक्ष्मीमा कांग्रेसले हाम्रा उम्मेदवारलाई मत नदिएको मतगणनामा बसेका साथीहरुले भन्नुभयो। अझ चौबीसे गाउँपालिकामा त २ वटामा सूर्यलाई अरु कांग्रेसलाई मत हालेको भेटियो। त्यहाँ त सूर्य र रुखको पो गठबन्धन भएछ।

भनेपछि, कांग्रेस–माओवादी गठबन्धन सकिएको निष्कर्ष मै पुगिसक्नुभयो?
निष्कर्ष नै निकालेको भन्दा पनि कांग्रेससँग अविश्वासको तह निकै माथि पुगिसक्यो। कार्यपालिकामा हामीले फरक गर्न खोजेको त्यही भएर हो।

कांग्रेससँग बिच्किएको माओवादी फेरि कार्यपालिका चुनावमा एमालेसँग मिल्न जानुको कारण के हो त फेरि?
स्थानीय चुनावमा धोका पाएपछि हामीले कार्यपालिका चुनावमा राम्रोसँग मिलाएर लैजाने गरी छलफल गरेकै हो।

तर, कार्यपालिकाको चुनावका लागि कांग्रेस–एमाले गठबन्धन बनाउने होमवर्क भएको रहेछ। कतिसम्म भने कांग्रेसले प्रमुख जितेको पालिकामा एमालेले सहयोग गर्ने, एमालेले मेयर जितेको पालिकामा कांग्रेसले सहयोग गर्ने। जसरी पनि पालिका प्रमुख/अध्यक्षलाई बहुमत पुर्याउन सहयोग गर्ने समझदारी नै बनिसकेको सूचना पायौं।

हामीले कांग्रेसलाई सोध्दा केही जवाफ आएन। तर, एमालेले कांग्रेससँग संवाद भएको स्वीकार गर्यो। हामी बाहेक दुई पार्टी मिल्ने भए। एमाले–कांग्रेसले मिलेर हामीलाई घेरा हाल्ने स्थिति बनेपछि हामीले पनि नयाँ रणनीति बनायौं र एमालेसँग संवाद अघि बढायौं। कांग्रेस–एमालेले एक्लै बहुमत पुर्याएर हाम्रो अस्तित्व नै नदिने भएपछि, तल्लो तहमा हाम्रो उपस्थिति हुनुपर्छ भनेरै लाग्यौं।

जस्तो– महालक्ष्मी नगरपालिकामा जसपासँग बसेर त्यसको पृष्ठभूमिमा हामीले फेरि नयाँ सिराबाट अघि बढ्नुपर्थ्याे। एमालेले सबैतिर तालमेल गरेर जाऊँ भन्ने प्रस्ताव ल्यायो। धनकुटा नगरपालिका र पाख्रिबास मिलाएर जाउँ भन्नेमा सहमति जुट्यो।​ सहीदभूमि, साँघुरीगढी र पाख्रिबासमा हामीलाई १/१ कार्यपालिका सदस्य एमालेले दिने सहमति थियो। तर, हामीसँग छलफल हुँदै गर्दा महालक्ष्मी र पाख्रिबासमा कांग्रेस–एमाले मिलेर माओवादी आउट गर्न खोजिएछ। कस्तो भयो भने, हामीलाई छाडेको पदमा पनि एमालेले उम्मेदवारी दियो।  एमालेले सहमति तोड्यो।

धनकुटाको माओवादी : कांग्रेसबाट फुत्केर एमालेको भुङ्ग्रोमा

भनेपछि धनकुटामा माओवादी निकै कमजोर छ?
धनकुटामा हाम्रो पार्टीको मनोविज्ञान एक्लै जानुपर्छ भन्ने छ। कांग्रेससँग पनि भएन, एमालेसँग पनि हुँदैन, माओवादीले आफ्नो पहिचान बोकेर एक्लै जानुपर्छ भन्ने फिल्डका साथीहरुको मनोविज्ञान छ। हामीले कांग्रेस र एमालेबाट पटक–पटक पाएको धोका साथीहरुले निकै महसुस गर्नुभएको छ। उहाँहरुलाई बिझेको छ।

२०७४ को चुनावमा संघ र प्रदेशमा एमालेलाई भोट दिएर माओवादीले जितायो। एमालेका सबै उम्मेदवार जिताउन माओवादी उपयोग भयो।  अहिलेको स्थानीय चुनावमा हामीले नै गठबन्धन बनाएका थियौं, कांग्रेस जिताउन माओवादी उपयोग भयो। तर, हाम्रै उम्मेदवारलाई एमाले–कांग्रेस मिलेर छानी–छानी हराए।

त्यसो भए अबको विकल्प के त? पार्टी निर्देशन बाहिर जान धनकुटाको माओवादीले सक्छ?
धनकुटामा माओवादीका साथीहरु अब कांग्रेस–एमाले गठबन्धनको पक्षमा हुनुहुन्न। एक्लै जानुपर्छ भन्ने मत बलियो बनिसक्यो। घटनाक्रमले त्यही पुष्टि गर्छ। केन्द्रीय पोलिसीको कुरा अध्यक्ष प्रचण्डले फरमान जारी गरेकै भरमा हामीले विगतमा एमाले र अहिले कांग्रेसलाई मत दियौँ। तर, हामीले धोका मात्र पायौं। माओवादी सकाउने र एक्लै बनाउने भन्दा अरु केही फाइदा भएको छैन। एक्लै लड्नु परेपछि किन हामी कुनै पार्टीको बहुमत ल्याउन उपयोग हुने? कांग्रेसले अहिले बनाएको गठबन्धन भत्काउन छक्का पञ्जा गर्यो।

को हो त छक्का पञ्जा गर्ने?
कांग्रेसकै शीर्ष नेताहरुको समेत भूमिका गठबन्धन भत्काउन रह्यो। सुनील थापाजीको भूमिका, मनोहर श्रेष्ठजीको भूमिका, गठबन्धन विरोधी गुटका केन्द्रीय तहका नेताहरुको भूमिका धनकुटामा माओवादी सिध्याउने र कांग्रेसलाई पहिलो बनाउने भन्नेमै थियो।

कांग्रेस त गठबन्धन भत्काउन खुल्ला रुपमा लाग्यो। यो सबै स्थितिमा धनकुटामा एमाले वा कांग्रेससँग गठबन्धन सजिलो छैन। हामीले गम्भीर ढंगले यसको समीक्षा गरिरहेका छौँ। ७ वटै पालिका र ६० वटै वडाका साथीहरुको राय, सुझाव लिएर समीक्षा गरिरहेका छौँ।

एमालेसँगको कार्यपालिकामा गठबन्धनको चक्कर लगाएर माओवादीले के पायो? के गुमायो?
कार्यपालिकामा केही गुमायौँ। हामीले जम्मा १० सदस्य जितेका छौँ। १४ जित्छौँ भन्ने थियो।

भन्दा पनि मुख्य त आगामी निर्वाचन नै हो। अब हामी आगामी संघीय र प्रदेश निर्वाचनमा आफ्नो ढंगले एक्लै जाने तयारी गर्छौँ। कांग्रेस र एमाले जिताउने हतियार बन्न धनकुटाका माओवादी तयार छैनन्। यही कुरा पार्टी अध्यक्ष प्रचण्डलाई पनि भन्छौं। हामीले २०७४ र अहिलेको चुनावमा सिकेका अनुभव पार्टीको बैठकमा पनि राख्छौँ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .