ad ad

राजनीति


विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री : एमाले हटेन, सत्तामा आउन सक्छ कांग्रेस

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री : एमाले हटेन, सत्तामा आउन सक्छ कांग्रेस

फाइल तस्बिर


दिनेश बुढा
चैत १६, २०७९ बिहिबार १९:९, सुर्खेत

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार दोस्रो पटक विश्वासको मत लिने भएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सर्मथन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्। 

मुख्यमन्त्री शर्माले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गर्ने व्यवस्था मिलाइदिन सभामुखसँग आग्रह गरिसकेका छन्।

मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी प्रमाणित गर्न विश्वासको मत लिन लागेको जनाएका छन्।

शर्मा गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्रीका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए। 

तर, केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रापले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्।

तर, कर्णालीमा हाल नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार छ। नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा छ। 

केन्द्रमा पुस १० गते भएको राजनीतिक समीकरण र राष्ट्रपतिको निर्वाचनमा भएको अर्को राजनीतिक समीकरणले कर्णाली सरकार के हुन्छ भन्नेमा चासो बढेको छ। 

मुख्यमन्त्रीले विश्वासको मत मागे पनि सरकारमा सहभागी भएको एमाले र प्रतिपक्षमा रहेको कांग्रेसले विश्वासको मत दिने नदिने निर्णय गरेका छैनन्।

शर्माले विश्वासको मत लिने तयारी थाले पनि सत्तारुढ दलबीच कुनै प्रकारको अफ्ठ्यारो नभएको बताएका छन। 

उनले गठबन्धन दलहरुबीच छलफलमै रहेको र कुनै प्रकारको समस्या नभएको जानकारी दिए। 

‘गठबन्धन दलसँग सामान्य छलफल जारी नै छ। हामीबीच राजनीतिक दलमा कुनै प्रकारको अफ्ठ्यारो भएको स्थिति र बर्खास्त गर्ने स्थिति म देख्दिनँ', उनले भने, 'मिलेसम्म हामी सहमति गरेर जान्छौँ। यदि मिलेन भने छलफल गरेर बढ्ने छौँ।’

केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै कर्णाली प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने आवाज उठेको थियो। तर, मुख्यमन्त्री शर्माले सरकारमा सहभागी एमाले-माओवादीका कुनै पनि मन्त्रीलाई बर्खास्त गर्नुपर्ने स्थिति नभएको स्पष्ट पारे।

यस्तै, एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्ने मनसायमा मुख्यमन्त्री शर्मा छैनन्। 

यही सरकारलाई अघि बढाउन कांग्रेसलाई पनि सहभागी गराएर कर्णालीको प्रतिपक्षको रुपमा रहेको गरिबी, दुर्गमता र विकास अभावलाई अन्त्य गर्न दलहरु एक ठाउँमा उभिनुपर्ने मुख्यमन्त्री शर्माको भनाइ छ।

यता नेकपा एमालले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने नदिनेबारे निर्णय लिएको छैन। 

कांग्रेसले भने सरकारलाई लिएर पार्टीको प्रदेश कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ९ बजे प्रदेश पार्टी कार्यालयमा बस्ने छ।

यस्तै, एमालेले पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने सम्भावना छ। मुख्यमन्त्री शर्माले मिलेर सरकार चलाउने संकेत गरिसकेका छन्। 

कर्णालीमा माओवादीलाई नेपाली कांग्रेससँग सहकार्य गरेर सरकार गठन गर्नुभन्दा एमालेसँगै सहकार्य गर्न मुख्यमन्त्री शर्माले सहज ठानेका छन्। 

उता नेपाली कांग्रेसले माओवादीसँग गठबन्धन जाँदा आफ्नै नेृत्तृवमा सरकारको गठन गर्ने तयारी थालेको छ।

कर्णालीमा सत्ताबहिरको कांग्रेसले आफैँ सरकारको नेतृत्व गर्नुपर्ने मनशाय बनाएको छ। कर्णालीमा कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक-एक जना सांसद छन्। प्रदेश सभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .