राजनीति


बादी समुदायबाट पहिलो मन्त्री सीता भन्छिन्: यो स्थानमा पुगिएला भन्ने कल्पना पनि गरेकी थिइनँ

बादी समुदायबाट पहिलो मन्त्री सीता भन्छिन्: यो स्थानमा पुगिएला भन्ने कल्पना पनि गरेकी थिइनँ

नेपालखबर
चैत १४, २०८२ शनिबार ५:५०, कर्णाली

सीता बादी बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति भएकी छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ नयाँगाउँकी उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्। 

शुक्रबार बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

विसं.२०५२ भदौ २३ गते सुर्खेतम जन्मनुएकी उनले सुर्खेतको झुप्रा खोलामा बालुवा चालेर आफ्नो आमा बाबासँग दिन बिताएकी थिइन्। 

उनले पदभार ग्रहण गर्दै भनिन्, ‘यो स्थानमा पुगिएला भन्ने कल्पनासमेत गरेकी थिइनँ। किनकी मेरो विगत र पृष्ठभूमि निकै असहज थियो। परिवार सम्झेर आजको यो पलले मलाई भावुक बनाएको छ।’

महिला हिंसा, अपाङ्गता भएका व्यक्तिका समस्यालाई नीतिगत तहबाट कानून निर्माण गरी कार्यान्वयन गर्ने र उनीहरूमा परिवर्तनमा आभास गराउने सोच राखेर अगाडि बढ्ने संकल्प गरेको उनले बताइन्। 

मूलतः कमजोर आर्थिक अवस्था, शिक्षाबाट बञ्चित, भूमिहीन बादी समुदायका समस्यासहित समाजमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक एवं अधिकारका सवालमा बिगत भन्दा माथि उठेर काम गर्ने मन्त्री बादीको भनाइ छ।

झुप्रा खोला, भेरी नदी किनारमा बालुवा उत्खनन् गरेर जीविकोपार्जन गर्दै आउनुभएका उनले भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने स्थानबाट प्राथमिक तहको शिक्षा लिएकी थिइन्।

१३ वर्षको उमेरमा पढ्नकै लागि एक संस्थाको सहयोग घर छाडेर काठमाडौँ गइन्। उनले राजनीतिक शास्त्रमा स्नातकोत्तर तहको उपाधि हासिल गरेकी छन्।

अधिकारकर्मी हिक्मत बादीले सङ्कट बेहोर्दै पटक पटक गरेको आन्दोलन र निरन्तरको संघर्षपछि बादी समुदायको प्रतिनिधित्व गर्दै संघीय सरकारको मन्त्रिपरिषद् सदस्य बन्नु इतिहासकै गर्वलायक क्षण भएको बताए।

‘सदियौँदेखि थिचोमिचोमा परेको भूमिहीन समुदायले अब न्याय पाउने आशा गरेको छु। अब हामीप्रति हेर्ने नजर फेरिने र अवस्था बदलिनेछ’, उनले भने।

जीवनयापनका लागि खोला, नदी किनार धाउनुपर्ने, कमजोर आर्थिक अवस्थामा शिक्षाबाट वञ्चित, कमजोर स्वास्थ्य अवस्था बदल्न र विभेद, असमानता, गरिबी, बेरोजगारीविरुद्ध स्पष्ट नीति निर्माण गरी कानून बनाएर कार्यान्वयन गर्नतर्फ विशेष भूमिका निर्वाह गर्ने मन्त्री बादीले बताइन्। 

त्यस्तै मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार अन्त्य गर्ने, दलितलाई आत्मसम्मानका साथ बाँच्न सक्ने सहज अवस्था निर्माण गर्ने, सेवा प्रवाह सहजता ल्याउने, महिला सशक्तीकरण, दलित अधिकार, बाल संरक्षण, सुशासन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर सरकारी तहबाट विशेष जिम्मेवारी पूरा गर्ने र नागरिकको जीवन बदल्ने यात्राका रूपमा राजनीतिकलाई माध्यम बनाउने उनले बताइन्। 

कर्णालीका राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवा पिताम्बर ढकालले पिछडिएको भूगोल कर्णाली र त्यसमा पनि समुदायबाट मन्त्री बनेकी बादीको ऐतिहासिक सफलता संघीय लोकतान्त्रिक गणतन्त्रको उत्तम अभ्यास भएको बताए। 

उनले भने, ‘यो व्यवस्थाको सुन्दर पक्ष भनेकै जस्ता पछाडि परेका समुदाय, भेक, क्षेत्र, जाति, लिंग र धर्मका नागरिकहरुको समानुपातिक र समावेशी प्रतिनिधित्व हो। यसले लोकतन्त्रलाई अझ बढी बलियो बनाएर लैजान्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad