नेकपा एमालेका उम्मेदवार १ मतान्तरले विजयी भएको सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मत गणना गर्न उच्च अदालत जनकपुरले दिएको आदेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
हरिवन नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि सम्पन्न निर्वाचनको यसअघिको मतगणना रद्द गरी पुनः गणना गर्न गएको पुस २२ गते उच्च अदालतले आदेश दिएको थियो।
गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा हरिवन ७ को वडाध्यक्षमा एमालेका निरध्वज कार्की विजयी भएका छन्।
कार्कीले ३ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टीकाजंग थापाले ३ सय ७८ मत पाएका थिए। नेपाली कांग्रेसले त्यतिबेलै धाँधली गरेर आफ्ना उम्मेदवारलाई हराएको आरोप लगाएको थियो।
वडाध्यक्ष पदमा १ मतान्तरले पराजित थापाले पुनः मत गणना माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। थापाले अन्तरिम आदेशको मागसहित रिट दायर गरे पनि अदालतले एकैचोटि पुस २२ गते पुनः मत गणनाको आदेश दिएको थियो।
उच्च अदालतले पुनः मतगणनाको आदेश दिएपछि कार्की त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए।
गएको मंगलबार सर्वोच्च अदालतलका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले उच्च अदालत जनकपुरलाई तत्काल मत गणना नगर्न र निर्णयको लिखित जवाफ सर्वोच्चमा पठाउन आदेश दिएको हो।
उच्च अदालतले पुनः मत गणना गर्न आदेश दिएको भए पनि आफूले वडा कार्यालयको कामलाई निरन्तरता दिइरहेको वडाध्यक्ष कार्कीले बताए। सर्वोच्चको आदेशले आफूलाई काम गर्न अझ सहज भएको उनको भनाइ छ।
प्रतिक्रिया