राजनीति


स्थायी समिति बैठक बोलाउन यसकारण राजी भए ओली

स्थायी समिति बैठक बोलाउन यसकारण राजी भए ओली

सागर न्यौपाने
बैशाख ३०, २०७७ मंगलबार ११:५२,

सत्तारुढ नेकपाले अन्ततः स्थायी समिति बैठक डाकेको छ। बैठकलाई बजेटपछि धकेल्ने प्रयास गरिरहेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार भएपछि बैठक बोलाइएको हो।

बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्नेगरी ‘मेसेज’ आएको स्थायी समिति सदस्य मातृका यादवले जानकारी दिए।

आफू अल्पमतमा रहेको स्थायी समितिको बैठकलाई अनावश्यक भन्दै टारिरहेका प्रधानमन्त्री ओली अचानक किन बैठक राख्न राजी भए त?

आफ्नै दलका सांसदले सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्न अवरोध पुर्‍याउने जोखिम देखेपछि ओली लत्रिएको नेकपा नेताहरु बताउँछन्।

सरकारको नीति तथा कार्यक्रम २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गर्दैछिन् भने आर्थिक वर्ष २०७७/०७८ को बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

पार्टीको आन्तरिक विवाद मत्थर नपारी संसदमा बजेट पेस गर्दा पारित गर्न मुस्किल हुने र त्यसले सरकारको वैधानिकतामा प्रश्न उठ्नसक्ने देखेर ओली बैठकका लागि तयार भएको एक स्थायी समिति सदस्यले बताए।

‘आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न बैठक डाकिएको हो,’ ती नेताले नेपालखबरसँग भने, ‘संसदमै आफ्नै नेता सरकारविरुद्ध खनिने खतरा देखेपछि ओली सजग भए।’

बैठकका लागि एजेन्डा पनि तय भइसकेको छ। सरकारको नीति तथा कार्यक्रम, बजेट, भारतले लिपुलेकमा गरेको सीमा अतिक्रमण, सरकार र पार्टीको कामको समीक्षा तथा पार्टी एकताको बाँकी कामका विषयमा छलफल हुने स्रोतले जानकारी दियो।

यद्यपि बुधबार बैठक सुरु मात्रै हुने र त्यसलाई पछि निरन्तरता दिइने सम्भावना रहेको स्थायी समितिका सदस्य देवेन्द्र पौडेलले बताए।

‘नीति तथा कार्यक्रम र बजेटमा समर्थन र सुझाव माग्न बैठक डाकिएको हो। त्यसैले धेरै विषयमा छलफल नहुन सक्छ,’ उनले भने।

सरकारले ८ वैशाखमा पार्टीमा सल्लाह नगरी दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाको आन्तरिक कलह चर्किएको थियो। स्थायी समितिका २० नेताले त्यसबारे छलफल गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्तार बुझाएका थिए। दबाब बढ्दै गएपछि सरकारले १२ वैशाखमा अध्यादेश फिर्ता लियो।

तर, अध्यादेशले पारेको असर, सरकारको कार्यशैली लगायतका विषयमा छलफल गर्नको लागि नेताहरुले बैठक बस्नुपर्ने अडान कायम राखे। नेकपाको विधानमा २५ प्रतिशत नेताहरुले माग गरे स्थायी समितिको बैठक डाक्नुपर्ने प्रावधान छ।

दबाब थेग्न नसकेपछि २० वैशाखमा बसेको सचिवालय बैठकले २५ वैशाखका लागि बैठकको मिति तय गर्‍यो। तर, बैठकमा राजीनामा माग्न सकिने थाहा पाएपछि ओलीले २४ वैशाखमा बैठक स्थगित गरिदिए।

मिति तय भइसकेको बैठक स्थगित गरेर विधान उल्लंघन गरेको, नेताहरुको अपमान गरेको भन्दै नेताहरुले ओलीको चर्काे आलोचना गरे।

स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीले विधानको उल्लंघन गरेको आरोप लगाएकी थिइन्। केहीले नेताहरुको कुरा सुन्नबाट ओली भागेको आरोप लगाए।

आफैँले बनाएको विधानको प्रावधान मिचेको भन्दै नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा २६ वैशाखमा भेला गरेर तत्काल बैठक राख्न माग गर्दै अध्यक्ष प्रचण्डलाई बैठकको एजेन्डासमेत बुझाए।

भीम रावल, सुरेन्द्र पाण्डे, देव गुरुङ, जनार्दन शर्मा र हरिबोल गजुरेल लगायतका नेताहरु प्रचण्ड निवास खुमलटार पुगेर बैठक स्थगित गरेकोप्रति आपत्ति जनाएका थिए।

स्थायी समितिका सदस्यहरुको दबाबमा परेका प्रचण्डले बैठकका लागि पटकपटक आग्रह गरेका थिए।

सोमबार बिहान प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए। महासचिव पौडेलसँग पनि प्रचण्डले स्थायी समितिको बैठक राखेर नेताहरुको माग सम्बोधन गराउने बताए।

प्रचण्डकै जोडबलमा ओलीले स्थायी समितिको बैठक राख्न तयार भएको स्रोतको दाबी छ।

‘हामीले अध्यक्ष प्रचण्डलाई दबाब दियौं, उहाँले अर्का अध्यक्षसँग निरन्तर छलफल गर्नुभयो,’ अर्का नेताले थपे, ‘कम्तीमा बैठक नै नहोला कि भन्ने त्रास थियो। अब हुन्छ होला मेसेज नै आइसकेको छ।’

२० नेताको यस्तो छ योजना
बुधबार बस्ने बैठकका लागि २० जना नेताले पनि अलग्गै एजेन्डा तयार गरेका छन्।

‘बुधबारको बैठकमा हामी हाम्रो एजेन्डा पनि नेतृत्वसमक्ष राख्छौं’, एक स्थायी समिति सदस्यले भने, ‘कोरोना महामारी र सरकारको कामकारबाही गरी २ वटा विषयमा केन्द्रित भएर हामी नेतृत्वको धारणा जान्न चाहन्छौं।’

बैठक जतिदिन बसेपनि एजेन्डामाथि घनिभूत छलफल हुनुपर्ने आफ्नो अडान रहेको उनीहरुको भनाइ छ। बैठकको माग गर्ने २० जनाबीच बुधबारको बैठकमा साझा धारणा बनाउने कसरत पनि भइरहेको छ।

‘केही साथीहरुसँग संसद भवनमा पनि छलफल भयो, केहीसँग टेलिफोनमा पनि कुरा भइरहेको छ,’ ती नेताले भने, ‘साँझसम्म साझा धारणा बनाउँछौं।’

बुधबार बिहान ११ बजेदेखि बस्ने बैठकअघि फेरि एकपटक २० जनाले छलफल गर्ने तयारी पनि गरेका छन्।

‘पार्टी र सरकार सञ्चालनमा देखिएको एकलौटी व्यवहारको विषय हामी छोड्दैनौं, सके एकल नभए सामूहिक रुपमा हाम्रा धारणा राख्नेछौं,’ ती नेताले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .