प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) पार्टीको संसदीय दलको बैठक राख्दै छन्।
ओली पक्षको संसदीय दलका सचेतक विशाल भट्टराईका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ११ बजे बस्नेछ।
बैठकमा पार्टीका सबै सांसद (नेपाल पक्षका पनि) लाई जानकारी गराइएको उनले बताएका छन्।
तर माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद बैठकमा सहभागी हुने सम्भावना कम छ। अध्यक्ष ओलीकैविरुद्ध नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला हिजो (बुधबार) देखि ललितपुरमा जारी छ।
सांसद भट्टराईले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि छलफल गर्न दलको बैठक बोलाइएको बताए।
‘पार्टीमा पछिल्लो समय गम्भीर खालका समस्या उत्पन्न भएका छन्, त्यसलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ सांसद भट्टराईले नेपालखबरसँग भने।
संसद् अधिवेशनमा सांसदहरु कसरी प्रस्तुत हुने, संसद्लाई कसरी प्रभावकारी बनाउने र पार्टी एकता कसरी जोगाएर अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए।

प्रतिक्रिया