ad ad

कोशी


प्रदेश १ कांग्रेसमा गुटको लडाइँ : कतै कुटाकुट, कतै कार्यालयमा ताला

प्रदेश १ कांग्रेसमा गुटको लडाइँ : कतै कुटाकुट, कतै कार्यालयमा ताला

सुमन पुरी
भदौ १४, २०७९ मंगलबार १८:२०, विराटनगर

नेपाली कांग्रेसभित्र गुटको विवाद नेता तथा कार्यकर्ताबीच हात हालाहालको अवस्थासम्म पुगेको छ। 

एक सातामा गुटगत संघर्षका कारण विराटनगर र इलाममा कार्यकर्ताहरु परस्पर कुटाकुटको अवस्थामा पुगेका हुन्। 

इटहरीमा भने गुटगत संघर्षकै कारण पार्टी कार्यालयमा तालाबन्दी भएको छ। नगर जिल्ला अधिवेशनका बेलाबाट झांगिएको गुटगत संघर्ष बढ्दै जाँदा प्रदेशका विभिन्न स्थानमा कार्यकर्ताहरुबीच कुटाकुट हुनथालेको छ। 

‘जनताको साथमा कांग्रेस’ अभियानअन्तर्गत इलामको निर्वाचन क्षेत्र नं. २ मा आयोजित कार्यक्रममा हात हालाहाल भएको छ। 
कार्यक्रम सञ्चालन भएकै स्थानमा नेताहरूबीच हात हालाहाल भएको हो। पार्टीका महाधिवेशन प्रतिनिधि तारा थापाले आफूमाथि हमला भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्। 

उनले नगर सभापति दिलीप कार्कीलगायतले आफूमाथि सार्वजनिक कार्यक्रममा आफ्ना विचार राख्ने क्रममा नै हमला भएको भन्दै गुनासो पोखेका छन्। कार्यक्रममा इलाम क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश १ का सभापति गोपाल चौहानले स्थानीय तहको निर्वाचनको विषयलाई लिएर केही नेताहरुलाई अन्तर्घाती भनेका थिए। 

उनले कार्यक्रममा अन्तर्घाती समेत भएको भन्दै अन्तर्घाती बाहिर जान भनेपछि महाधिवेशन प्रतिनिधि तारा थापाले प्रतिरोध गरेका थिए। थापाको प्रतिरोधपछि दुईतर्फी झडपकै स्थिति बनेपछि कार्यक्रम केही क्षण बिथोलिएको थियो । 

गुटगत लडाइँका कारण मोरङमा केही दिनअघि क्षेत्रीय सभापति विनोद बस्नेतमाथि गुटगत संघर्षका कारण कुटपिट भएको थियो। 
बस्नेतलाई समानुपातिकतर्पm नाम सिफारिस नभएको भन्दै कांग्रेस कार्यकर्ता राजु थापाले हात हालेका थिए। 

क्षेत्र नम्बर ४ का सभापति बस्नेतलाई समानुपातिकतर्फ नाम राखिदिन आग्रह  गर्दै थापा बस्नेतकै घरमा पुगेका थिए। बस्नेतले प्रक्रिया पुर्याएर आउन भन्दै थापालाई भनेपछि विवाद भएको थियो। विवादपछि थापाले बस्नेतमाथ हात हालेका थिए। 

बस्नेत नेतृत्वको समितिले विराटनगर महानगरपालिकाका पूर्वमेयर तथा केन्द्रीय सदस्य भीम पराजुली, कांग्रेस नेता गुरुराज घिमिरे, महेश आचार्यलगायतका नेताहरुलाई कारबाहीका लागि सिफारिस गरेको थियो। 

स्थानीय तहको निर्वाचनको भूमिकालाई लिएर कारबाहीको सिफारिस भएपछि मोरङ क्षेत्र नम्बर ४ मा लामो समयदेखि विवाद थियो। बस्नेत शेखर कोइराला निकट नेता मानिन्छन्। 

कांग्रेसको इटहरी कार्यालयमा ताला 
यसैबीच, नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको पार्टी कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन्। 

इटहरी उपमहानगरका मेयर तथा सभापति हेमकर्ण पौडेलले एकलौटी ढंगले पार्टी चलाएको र आफूहरुको कुरा नसुनेको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेको छ। 

मंगलबार बिहान कांग्रेस इटहरीका उपसभापति बालकृष्ण विष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। विष्ट देउवा पक्षका नेता हुन् । 
विष्टले इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले उपसभापति कोवितजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएको र कार्यवाहकले विधानविपरीत मनोनयन गरेको बताए। 

उनले नगर सभापतिले पार्टीको बैठक राखी चुनावी समीक्षा नभएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको बताए।

उनले भने,  ‘स्थानीय तहको निर्वाचन सकिए पनि अहिलेसम्म एउटा समीक्षा बैठकसम्म भएको छैन। हामीले लिखित ध्यानाकर्षण गराउँदासम्म नमानेपछि बाध्य भएर तालाबन्दी गर्न बाध्य भएका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .