ad ad

कोशी


मोरङमा गठबन्धनलाई सकस, कांग्रेसलाई तालमेल नगर्न दबाब

मोरङमा गठबन्धनलाई सकस, कांग्रेसलाई तालमेल नगर्न दबाब

सुमन पुरी
भदौ २२, २०७९ बुधबार १०:५७, विराटनगर

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरूले धमाधम आफ्ना उम्मेदवार सिफारिस गरिरहेका छन्। तर सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँट मिलाउन नसक्दा उनीहरूका तर्फबाट यो क्षेत्रमा यही उम्मेदवार हो भन्न सकिने अवस्था छैन। प्रमुख प्रतिपक्षी नेकपा एमालेमा पनि धेरै आकांक्षी हुँदा कुन क्षेत्रबाट को भन्ने स्पष्ट भइसकेको छैन। 

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा एमालेले क्षेत्र नम्बर २, ३, ४ बाट र कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ बाट सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गरेका छन्। 

एमालेले मोरङ क्षेत्र नम्बर २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल र ४ बाट विनोद ढकालको नाम  उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ। कांग्रेसले क्षेत्र नम्बर ३ बाट सुनिल शर्मालाई उम्मेदवारका रूपमा अघि सारेको छ। 

माओवादी केन्द्रले भने अधिकतर क्षेत्रमा सर्वसम्मत र एकल नाम सिफारिस गरेको छ। तर क्षेत्र नम्बर ३ र ५ मा माओवादी केन्द्रले पनि एकल उम्मेदवार चयन गर्न सकेन।  

गठबन्धनमा रस्साकस्सी 
स्थानीय तह निर्वाचनको नतिजापछि सत्तारुढ दलका नेताहरू गठबन्धन बलियो बनाउने निष्कर्षमा पुगेका छन्। गत स्थानीय तहको निर्वाचनमा मोरङमा एमाले २०७४ सालको निर्वाचनमा भन्दा बलियो भएको छ। एमालेले मोरङका लेटाङ, उर्लाबारी, पथरी शनिश्चरे, बेलबारी, सुन्दरहरैँचा, सुनबर्सी, रंगेली नगरपालिकामा प्रमुख पद जितेको छ। कानेपोखरी र केराबारी गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष पद जितेको छ। 

२०७४ सालमा पहिलो दल भएको कांग्रेस मोरङमा गठबन्धन गर्दा समेत खुम्चिएको छ। कांग्रेसले कटहरी, धनपालथान, जहदा, बुढीगंगा, ग्रामथान र मिक्लाजुङ गाँउपालिकामा अध्यक्ष पद जितेको छ। कांग्रेसले विराटगर महानगरपालिका र रतुवामाई नगरपालिकामा प्रमुख पद जितेको छ। 

माओवादी केन्द्रले अघिल्लो स्थानीय तहको निर्वाचनमा एक पालिकामा प्रमुख पद जितेकामा यसपटक उपाध्यक्षमा खुम्चिएको छ। तालमेल गरिएका अधिकतर पालिकामा गठबन्धनका पक्षमा मत आएको र तालमेल नगरिएका स्थानमा एमाले विजयी भएको माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीले बताए। यसअघि धेरैजसो पालिकामा गठबन्धन गरिएको भनिए तापनि वडा बाँडफाँट नमिल्दा तल्लो तहमा तालमेल भएको थिएन। उप्रेतीले यसअघि कांग्रेसले धोका दिएको भन्दै गठबन्धनप्रति कांग्रेस इमान्दार हुनुपर्ने बताए। 

कांग्रेसका स्थानीय नेता/कार्यकर्ता भने अहिले पनि गठबन्धनले कांग्रेसलाई घाटा हुने बताइरहेका छन्। माओवादी केन्द्रको जनमत घटेको र एमाले विभाजन भएकाले गठबन्धन नगर्दा कांग्रेसले जित हासिल गर्ने तल्लो तहका कार्यकर्ताको दाबी छ। यसले गर्दा कांग्रेसलाई गठबन्धन नगर्न दबाब रहेको देखिन्छ। गठबन्धन हुँदा माओवादी केन्द्रले प्रतिनधि सभामा कम्तीमा २ सिट माग गर्ने छ। जितेका स्थान नछाड्दा मात्रै पनि उसको भागमा मोरङ क्षेत्र नम्बर ४ र ५ पर्ने छन्। 

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले पनि मोरङमा एक/एक क्षेत्र दाबी गर्ने छन्। गठबन्धन भए मोरङ क्षेत्र नम्बर ५ बाट जसपा अध्यक्ष उपेन्द्र यादव आफैँ चुनाव लड्ने तयारीमा छन्। यसअघि जसपाले सो क्षेत्रबाट प्रदेश सभातर्फ एउटा सिट जितेको छ। 

तत्कालीन मधेसी जनअधिकार फोरमको बलियो पकड रहेको ५ नम्बर क्षेत्र आफूले पाउनुपर्ने जसपाको माग छ। यस्तै एकीकृत समाजवादीले समेत एक क्षेत्र माग गरेको छ। उसले मोरङ क्षेत्र नम्बर ३ आफूले पाउनुपर्ने दाबी गरिरहेको छ। गठबन्धनका दलहरूले माग गरेअनुसार क्षेत्र छाड्दा कांग्रेसलाई नेता व्यवस्थापन गर्न समस्या पर्नेछ। क्षेत्र नछाड्दा समेत समस्या देखिएको कांग्रेसलाई क्षेत्र बाँड्दा थप समस्या पर्नेछ। 

कांग्रेसमा नेता व्यवस्थापनको चुनौती 
नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला आफ्नै जिल्ला र क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस  हुन सकेनन्। शेखर कोइरालाले दाबी गरेको मोरङ क्षेत्र नम्बर ६ बाट डिला संग्रौला, नेता रमेशजंग रायमाझी र शिवकुमार बस्नेत पनि सिफारिस भएका छन्। 

डिला प्रतिनिधि सभा सदस्य हुन् भने रमेशजंग रायमाझी राष्ट्रिय सभाका सदस्य। अघिल्लोपटक समानुपातिक सांसद बनेकी डिला यसपटक समानुपातिकबाट सांसद बन्न पाउने छैनन्। त्यसैले डिलालाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या छ। उनी कांग्रेसमा प्रभाव राख्ने नेतृ हुन्। कांग्रेसलाई सबैभन्दा बढी समस्या क्षेत्र नम्बर ४ मा परेको छ। सो क्षेत्रबाट नेपाली कांग्रेसले महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलीप गच्छदारको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। महेश आचार्यले अघिल्लो पटक पनि सोही क्षेत्रबाट चुनाव लडेका थिए। उनलाई माओवादी केन्द्रका अमनलाल मोदीले हराएका थिए। उनी पटकपटक मन्त्री भइसकेका नेता हुन्। 

अमृत अर्याल र भीम पराजुली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनीहरू दुवै देउवाका नजिकका पात्र हुन्। लामो समय मोरङमा कांग्रेस सभापति रहेका अर्याल संविधान सभा सदस्यसमेत हुन्। पराजुली भने विराटनगर महानगरका पूर्वमेयर हुन्। गुरुराज घिमिरे नेपाल विद्यार्थी संघको नेतृत्व हुँदै मूलधारको राजनीतिमा छन्। उनी प्रदेश सभापतिमा २ मतले उद्धव थापासँग हारेका नेता हुन्। 

गच्छदार भने पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य हुन्। कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले केन्द्रको निर्देशनअनुसारै मोरङमा गठबन्धन हुने बताए। उनले अहिले नै कति लिने र कति छाड्ने भन्ने निर्णयमा पुगिनसकेको र छलफल भइरहेको बताए। 

एमालेमा पनि टिकटको दौड 
एमाले मोरङले तीन क्षेत्रमा सर्वसम्मत उम्मेदवारको टुंगो लगाए पनि तीन क्षेत्रमा उम्मेदवार बनाउने विषयमा विवाद छ। मोरङका १, ५ र ६ नम्बर क्षेत्रमा सर्वसम्मत हुन नसकेको एमाले मोरङमा १ नम्बरमा भने उम्मेदवार टुंगो लगाउन सकस देखिन्छ। सो क्षेत्रबाट अहिलेका प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा र पूर्वमन्त्री तथा उपसभामुख शिवमाया तुम्बाहाम्फेबीच प्रतिस्पर्धा छ। दुवै ओलीनिकट नेता हुन्। सो क्षेत्रबाट राजेन्द्र पौडेल, अग्नि भट्टराई र रुद्रबहादुर तामाङको नाम सिफारिस भएको छ। 

तर खतिवडा र शिवमायामा कसलाई टिकट दिने र कसको जनमत राम्रो भन्नेमा एमाले दोधारमा छ। क्षेत्र नम्बर ६ मा भने लालबाबु पण्डित र प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीबीच प्रतिस्पर्धा देखिन्छ। पटकपटक मन्त्री भएका लालबाबु र पहिलोपटक एमालेको मूल राजनीतिमा देखिन खोजेका पुरीमध्ये कसलाई टिकट दिने भन्नेमा एमालेमा द्विविधामा छ। क्षेत्र नम्बर ५ मा भने योगन्द्र मण्डल उम्मेदवार बन्ने सम्भावना छ। उनीसँग मनोज अग्रवाल र राधा पासवानको नाम सिफारिस भएको छ। तर सो क्षेत्रबाट मण्डलले टिकट पाउने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .