ad ad

कोशी


तयारी भए पनि वितरण भएन ग्यास

तयारी भए पनि वितरण भएन ग्यास

विनोद आचार्य
भदौ २८, २०७९ मंगलबार ९:१२, इटहरी

बढ्दो सहरीकरणसँगै इटहरीमा लामो समयदेखि समस्याका रूपमा रहेको फोहोर व्यवस्थापन अहिले नियमित रूपमा भइरहेको छ। इटहरी वडा नं १० मा ल्यान्डफिलसाइट सञ्चानलनसँगै फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि फोहोरलाई मोहरमा परिणत गर्ने योजना पनि ल्याइएको छ।

फोहोरलाई मोहरमा परिणत गर्ने योजनाअनुसार ‘वेस्ट एन्ड इनभारो केयर’ प्रालिले सम्झौताभन्दा तीन वर्ष ढिलोगरी ल्यान्डफिलसाइट सञ्चालनमा ल्याएर काम थालेको हो। विसं २०७५ वैशाख १४ गते भएको सम्झौताअनुसार सोही वर्षको असोजसम्ममा ल्यान्डफिलसाइट सञ्चालन गर्नुपर्ने थियो।

वेस्ट एन्ड इनभारो कम्पनीले अहिले फोहोर सङ्कलन गरेर काम लाग्ने र नलाग्ने छुट्याई ग्यास निकाल्न थालेको छ। यसरी फोहोर छुट्याएर प्रालिले आम्दानी गर्न थालेको छ। कम्पनीको मुख्य योजना ग्यास निकाल्नु थियो। ग्यास निकालेको लामो समय भइसक्दा पनि सही सदुपयोग भने हुन सकेको छैन। कम्पनीले निकालेको ग्यास हाल खेर गइरहेको  छ। 

कम्पनीले घरघरमा उठाउँदै आएको फोहोरलाई घरबाट नै कुहिने र नकुहिने छुट्याएर दिँदा आम्दानीमा अझ सहज हुने स्थानीय राम राईले बताए। कम्पनीको उद्देश्य ग्यास र कम्पोस्ट मल उत्पादन गर्ने भएकाले उत्पादन भएको ग्यासलाई बिक्री-वितरण छिटो गर्नुपर्ने उनले बताए।

उनले अब स्थानीय सरकारले फोहोरलाई मोहरमा परिणत गर्ने योजना ल्याएसँगै जथाभावी फोहोर फाल्नेलाई स्थानीय सरकारले ऐन नै बनाएर कारबाही गर्न उचित हुने सुझाव दिए।

‘इटहरीमा मात्र नभई देशभरि नै सडक किनारामा फोहोर फाल्ने चलन नै बनेको छ। यसको व्यवस्थापनका लागि सरकारले ठूलो धनराशि खर्च गर्ने गरेको छ, तर सुधार कुनै सहरमा कहिले भएन’, उनले भने, ‘इटहरीमा धेरै खर्च गरेर तयार गरेको फोहोर प्रशोधन केन्द्रले उत्पादन गरेको ग्यास वितरणमा स्थानीय सरकारले चासो नदिनु लज्जास्पद कुरा हो।’

वेस्ट एन्ड इनभारो केयर प्रालिले प्रशोधन केन्द्रमार्फत घरबाट सङ्कलन गरेको कुहिने जैविक फोहोरबाट कम्पोस्ट मल र ग्यास बनाउन थालेको छ। मल र ग्यास बिक्री गरेर आम्दानी लिनसक्ने भएकाले स्थानीय सरकारले थप चासो दिनुपर्ने स्थानीयको सुझाव छ।

‘फोहोर कामै नलाग्ने वस्तु भनेर जथाभावी फाल्ने गरिन्छ तर यसको फाइदाका बारेमा नगरवासीलाई ज्ञान भएमा राम्रो आम्दानी लिन सकिन्छ’, राईले भने।

यद्यपि यतिबेला कम्पनीले लक्ष्य राखेअनुसारको फोहोर सङ्कलन हुन सकेको छैन। अपेक्षा गरेभन्दा फोहोर सङ्कलनमा ६० देखि ७० प्रतिशत कमी भएकाले गर्दा सोचेअनुरूप आम्दानी नहुने प्रालिले जनाएको छ।

अहिले प्रालिले यतिबेला मासिक सरदर रु ४० हजार आम्दानी गर्न थालेको छ। मल र ग्यास मात्र नभई फोहोर सङ्कलन गर्दा आउने बोतल, किताब कापी कार्टुनजस्ता अन्य सामग्रीसमेत रहेकाले केही समयपछि भने आम्दानी बढ्ने प्रालिका अध्यक्ष मोहनप्रसाद भण्डारीको आश छ।

‘घरबाट निस्कने फोहोरलाई अलगअलग छुट्याइदिए राम्रो आम्दानी हुने थियो। अपेक्षा गरेभन्दा फोहोर सङ्कलनमा ६० देखि ७० प्रतिशत कमी भएकाले गर्दा सोचेअनुरूप आम्दानी नहुने अवस्था छ।’

उपमहानगरले सम्झौताअनुसार अहिले कम्पनीलाई फोहोरको जिम्मा दिएसँगै मासिक रु ३० लाख पाँच वर्षका लागि दिइरहेको छ। त्यसपछि प्रालिले आम्दानीको एक प्रतिशत उपमहानगरलाई दिने सम्झौता भएको छ। बीस वर्षपछि भने ग्यास उत्पादन गर्नेसहितको प्लान्टसँगै ल्यान्डफिलसाइट उपमहानगरलाई जिम्मा दिनुपर्नेछ।

उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरीले सम्झौताअनुसार काम सुरु भएको बताए। अहिले इटहरीबाट दैनिक ५५ टन फोहोर निस्किने गरेको उनले बताए।

‘इटहरीमा दैनिक ५५ टन फोहोर उत्पादन हुने गर्छ’, उनले भने, ‘हाल सञ्चालनमा आएको ल्यान्डफिलसाइटबाट २० वर्षपछि भने कम्पनीले नगरलाई ग्यास उत्पादन गरेर वितरण गर्ने सम्झौता छ।’

पूर्वको व्यापारिक केन्द्र भनेर चिनिएको इटहरी पछिल्ला केही वर्षयता तीव्र गतिमा विस्तार भइरहेको छ। यसरी विकास भइरहँदा यस  क्षेत्रबाट  उत्पादन हुने फोहोरमा पनि वृद्धि हुँदै गइरहेको छ । नगरमा उत्पन्न हुने फोहोर राम्रोसँग सङ्कलन गरेर प्रशोधन केन्द्रमा पुर्याउनसकेमा ग्यास र मलबाट राम्रोसँग स्थानीय सरकारको आम्दानी बढ्ने आशा रहेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता बताउँछन्।

‘सम्झौताअनुसार कम्पोस्ट मल र ग्यास उत्पादन गर्न कम्पनीले सुरु गरे पनि वितरणमा समय लागेको छ। नगरले वितरण गर्न पहल गर्नेछ,’ उनले भने। 

इटहरी–१० मा सञ्चालनमा आएको ल्यान्डफिलसाइटका लागि उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्नुपर्ने र कम्पनीले रु १३ करोड ५० लाख लगानी गर्ने सम्झौता थियो। सम्झौताअनुसार फोहोरलाई पुनः प्रशोधन गर्न सकिने र नसकिने छुट्याएर व्यवस्थापन गर्नका लागि वेस्ट एन्ड इनभारोले ६० प्रतिशत र मेसिनरी सामान खरिद गर्नका लागि ४० प्रतिशत वर्ल्ड बैंकले लगानी गर्ने निर्णय गरिएको थियो। इटहरीमा बढ्दै गएको जनसङ्ख्याले पनि २० वर्षसम्म सहज तरिकाले धान्न र बाँकी फोहोर सङ्कलनका आधारमा अन्य मेसिन थप्नसमेत मिल्ने इन्जिनियर जीवन न्यौपानेले बताए। 

कम्पनीका सञ्चालक मानध्वज मुक्तानले सम्झौता भएको तीन वर्ष ढिलोगरी काम थाले पनि उपमहानगरकै कारण ढिलाइ भएको भन्दै अब मल र ग्यास उत्पादन सुरु गरेको बताए। ग्यास वितरण गर्नका लागि आवश्यक पर्ने सिलिन्डर छिमेकी मुलुक भारतबाट आउन ढिला भएकाले गर्दा समय लागेको उनले बताए।

‘मल र ग्यास वितरणको काम अन्तिम चरणमा छ, सिलिन्डर आएलगत्तै उद्योगलाई वितरण सुरु गर्छौं’, उनले भने, ‘घरमा प्रयोग गर्न समस्या हुन्छ किनकी ग्यासको तौल कम र सिलिन्डरको धेरै हुन्छ।’

इटहरीले ल्यान्डफिलसाइट नहुँदा इटहरीकै हाँसपोसा सामुदायिक वन क्षेत्रमा लगेर फोहोर व्यवस्थापन गर्ने गरिएको थियो। इटहरीले ६ वर्षअघिसम्म नगरपालिका छँदा त्यतिबेलाको वडा नं १, ४ र ८ को मात्र फोहोर सङ्कलन गरी व्यवस्थापन गरिरहेको थियो। त्योभन्दा अघि खनारमा पाँच वर्षका लागि दुई बिघा १८ कट्ठा जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन भइरहेको थियो। 

त्यसको सम्झौता २०७२ सालसम्म गरिएको थियो। सम्झौता सकिनु एक वर्षअघि नै स्थानीय राजनीतिक दलका नेताले राजनीतीकरण गरेर खप्नै नसक्नेगरी दुर्गन्ध फैलिएको भन्दै फोहोर फ्याँक्न रोक लगाएका थिए। अब ल्यान्डफिलसाइट सञ्चालन भएर मल र ग्यास उत्पादन गर्ने योजनाले फोहोरको उचित व्यवस्थापन हुने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .