ad ad

कोशी


एक हजार जना क्षमताको होल्डिङ सेन्टर प्रयोगविहीन

एक हजार जना क्षमताको होल्डिङ सेन्टर प्रयोगविहीन

ध्रुव भट्टराई
माघ १८, २०७९ बुधबार १६:२९, विराटनगर

विराटनगरमा एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर निर्माण भएको ६ महिना बितिसक्यो। विराटनगर– १६ रानीमा निर्माण गरिएको यो होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको छ। 

तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले विसं २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो।

संघीय सरकारले कोराना संक्रमितलाई राख्ने प्रयोजनका निम्ति गएको ५ वैशाखमै रानीमा २८ करोड ९१ लाख रुपैयाँ लागतमा १००० जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो। १३ वैशाखमा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो।  

नेपाली सेना मार्फत ठेक्का लिएको हनुमान कन्स्ट्रक्सनले २२ वटा भवन निर्माण पूरा गरी गएको साउन १५ मा नेपाली सेनालाई होल्डिङ सेन्टर जिम्मा लगाइसकेको छ। अहिले नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गदै आएको छ। 

   

नेपाली सेनाको सूर्यदल गण थलाहाका प्रमुख सेनानी अमृत थापा मगरले ठेकेदारले गएको साउन १५ गते नेपाली सेनालाई होल्डिङ सेन्टर हस्तान्तरण गरेपछि तत्कालको सुरक्षाका लागि आफूहरुले जिम्मा लिएको जानकारी दिए।

उनले होल्डिङ सेन्टर प्रयोगमा नआएको अवस्थामा तत्कालका लागि नेपाली सेनाले रेखदेखको काम मात्र गरिरहेको बताए।

तत्कालको समयमा कोरोना संक्रमित राख्नका लागि भनेर तयार पारिएको होल्डिङ सेन्टर तयार भईसक्दा अहिले संक्रमण खासै नभएपछि के प्रयोजनका निम्ति प्रयोग गर्ने भन्ने बारेमा तिनै तहका सरकारमा अन्यौलता छ ।

संघ, प्रदेश सरकार वा स्थानीय तहमध्ये कसले सञ्चालन र व्यवस्थापन गर्ने भन्ने टुंगो नलागेकाले समस्या भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले बताए।

‘होल्डिङ सेन्टर तयारी अवस्थामा छ’ सहायक प्रजिय शाहले भने, ‘हालको अवस्थामा नेपाली सेनाले रेखदेख गरेपनि अबका दिनमा कसले कसरी चलाउने भन्ने टुंगो अहिलेसम्म लागेको छैन। जसका कारण संचालन गर्ने विषयमा अलमलको स्थिति कायम छ।’

गत पुस महिनामा भारतबाट विराटनगरको रानी नाका हुँदै नेपाल आएका धेरैमा कोरोना पोजेटिभ देखिएको थियो। सो बेला होल्डिङ सेन्टर निर्माणको काम अधुरै रहेका कारण नाकामा पोजेटिभ पुष्टि भएकाहरुलाई सीधै घर पठाउने गरिएको थियो।

होल्डिङ सेन्टरमा एक हजार जना बस्न सक्ने क्षमताको रहेको छ। होल्डिङ सेन्टरमा शौचालय, भान्सासहितको आवासीय घर साथै फार्मेसी र क्लिनिकलगायतका सुविधाहरू छन्। प्रत्येक होल्डिङ सेन्टरमा १ सय वटा अक्सिजन पाइप लाइनसहितको स्पेसल युनिट राखिएको छ भने अन्यमा बेडसहित मेडिकल ट्रिटमेन्टको व्यवस्था छ।

तत्कालिन समयमा स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर होल्डिङ सेन्टरको डिजाइन बनाइएको थियो।

स्थानीय तह र जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर चलाउने गरी परिकल्पना गरिएको थियो, यसको सञ्चालनका लागि तत्काल कार्यविधि बनाउने भनिएपनि हालसम्म तयार हुन सकेको छैन।

पूर्वी नेपालको एक प्रमुख नाका विराटनगरबाट प्रवेश गर्ने सम्भावित कोभिड सङ्क्रमितलाई राख्न भनेर निर्माण गरिएको होल्डिङ सेन्टर कोभिडको लहर टरिसकेपछि सरकारले यसलाई अन्य कामको लागि प्रयोजनामा ल्याउन नसक्दा अहिले अलपत्र बन्ने अबस्थामा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .