ad ad

कोशी


मोरङमा गठबन्धनले कांग्रेसलाई फाइदा, एमाले खुम्चियो

प्रदेशतर्फ दुई बहालवाला मन्त्री र एक पूर्वमन्त्री पराजित
मोरङमा गठबन्धनले कांग्रेसलाई फाइदा, एमाले खुम्चियो

फाइल तस्बिर


ध्रुव भट्टराई
मंसिर ११, २०७९ आइतबार १४:४९, विराटनगर

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आइसक्दा मोरङमा एमाले खुम्चिएको छ। यसको फाइदा सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई भएको छ। 

६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ३ वटामा जित निकालेको छ। एमालेले र माओवादी समान १–१ क्षेत्रमा विजयी भएका छन्।

२०७४ को निर्वाचनमा ६ वटा प्रतिनिधिसभामा ३ वटा र १२ वटा प्रदेशसभामा ५ वटा सिट जितेको एमाले यस पटक भने प्रतिनिधिसभामा १ र प्रदेशसभामा ५ वटामै जित निकालेको छ।

यता, ०७४ सालमा प्रतिनिधिसभामा १ वटा र प्रदेशमा ४ वटामा जितेको कांग्रेसले यो पटक प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ५ वटामा जित निकालेको छ।

०७४ सालमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा २ वटा सिट जितेको माओवादी केन्द्रले यो पटक भने प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ वटै कायम गरेको छ।

मोरङमा स्वतन्त्र रुपमा उम्मेदवार रहेका योगेन्द्र मण्डलले भने शानदार जित निकाल्दै स्वतन्त्र उम्मेदवारको एक सिटलाई संघमा सुरक्षित गरेका छन्।

जनता समाजवादीले भने अघिल्लो पटक जितेको एउटा प्रदेशसभा सदस्य पनि यस पटक गुमाएको छ। उता एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले आफूले फुट्दा सँगै लिएर गएको एउटा प्रदेशसभाको सिटलाई पनि गुमाएको छ।

कांग्रेसले यो पटक प्रतिनिधिसभामा १, ३ र ६ नम्बर क्षेत्रमा जितेको छ। यस्तै प्रदेशसभामा ३ को १, ४ को २, ५ को १, ५ को २ र ६ को २ मा जित निकालेको छ।

एमालेले भने प्रतिनिधिसभामा क्षेत्र नम्बर २ मा जित निकालेको छ। प्रदेशसभामा भने एमालेले १ को १, १ को २, २ को २, ३ को २ र ४ को १ जितेको छ।

प्रदेशतर्फ एमाले र माओवादीले २०७४ निर्वाचनमा जितेको सिट संख्या सुरक्षित गरेका छन्। कांग्रेसले एक सिट बढाउँदा जनता समाजवादी पार्टीले विगतमा जितेको एक सिट पनि गुमाएको छ। एमालेबाट विभाजन भएर गएको एकीकृत समाजवादी पार्टीले यो चुनावमा मोरङबाट खाता खोल्न सकेन।

मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षत्रेको मत परिणाम सार्वजनिक हुँदा एमालेले ५, कांग्रेसले ५ र माओवादीले २ सिट हात पारेका छन्।

मोरङ क्षेत्र नम्बर १ बाट कांग्रेसका डिकबहादुर लिम्बू विजयी भएका छन्। उनले यसअघिका प्रतिस्पर्धी घनश्याम खतिवडालाई पराजित गरेका हुन्। 

मोरङ क्षेत्र नं. २ बाट एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभामा विजयी भएका छन्। 

पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतान्तरले हराउँदै मोरङको क्षेत्र .नं ३ बाट कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा विजयी भएका छन्।

मोरङ ४ मा माओवादीले दोहोर्‍याउन सफल भएको छ। यस क्षेत्रबाट माओवादी केन्द्रका अमनलाल नेकपा एमालेका नेता विनोद ढकालालई पराजित गरेका हुन्।

टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएका योगेन्द्र मण्डल जोगीले मोरङ क्षेत्र नंं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाका उम्मेदवार राजकुमार यादवलाई पछि पार्दै विजयी भएका हुन्।

मोरङ ६ बाट कांग्रेसका नेता डा शेखर कोइराला निर्वाचित भएका छन्। उनले फराकिलो मतअन्तरले एमालेका नेता लालबाबु पण्डितलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

मोरङमा प्रदेशतर्फ १२ वटा सिट रहेकोमा एमालेले ५, कांग्रेसले ५ र माओवादीले २ सिट हात पारेको छ। प्रदेशतर्फ दुई बहालवाला मन्त्री र एक पूर्वमन्त्री पराजित भएका छन्।

मोरङ निर्वाचन क्षेत्र नं. १ को २ मा एमालेकै खड्ग बहादुर बस्नेत विजयी भए। बस्नेतले प्रदेश १ का यातायत तथा सञ्चारमन्त्री तथा एकीकृत समाजवादीका नेता उपेन्द्र घिमिरेलाई पराजित गरेका हुन्।

त्यही निर्वाचन क्षेत्रको ४ को २ मा विराटनगर महानगरपालिका पूर्वमेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली विजयी भएका छन्।

पराजुलीले १५ हजार ४६५ मत ल्याएर प्रदेश सभामा विजयी हुँदा उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्वसामाजिक विकासमन्त्री तथा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६९९ मत पाए।

यता मोरङ निर्वाचन क्षेत्रको ५ को २ मा कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई पराजित गरेका हुन्। 

प्रतिनिधिसभामा एक स्वतन्त्रसहित दुईको डेब्यु
प्रतिनिधिसभातर्फ ६ क्षेत्र रहेको मोरङबाट २ जना पहिलो पटक संसदमा पुगेका छन। क्षेत्र नं ३ बाट निर्वाचित डा. सुनिल शर्मा  र क्षेत्र नंं. ५ का योगेन्द्र मण्डल  पहिलो पटक प्रतिनिधिसभा सदस्यका रुपमा डेब्यु गरेका छन्।

०७४ को निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग पराजित भएका कांग्रेसका शर्मा ५ वर्षपछि ढकाललाई नै पराजित गर्दै पहिलो पटक संसदको यात्रा तय गरेका हुन्।

सामाजिक अभियन्ता मण्डल सत्ता र प्रतिपक्षी दुवै गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक संसदमा प्रवेश गर्दैछन्।

स्वतन्त्र उम्मेदवार मण्डलले निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डललाई पराजित गरि संसदको यात्रा तय गरेका हुन्।

मोरङ १ बाट निर्वाचित नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बु, क्षेत्र नं. २ बाट निर्वाचित एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल २०७० को संविधानसभा सदस्यमा निर्वाचित हुँदै संसदमा पुगिसकेका छन्।

दुवै जनाले ५ वर्षपछि संसदको यात्रा पुनः तय गरेका हुन्। क्षेत्र नं ४ बाट निर्वाचित अमनलाल मोदीको संसदमा तेस्रो पटक प्रवेश गरेका छन्।

०७० मा समानुपातिक सांसदका रुपमा संसदमा पुगेका मोदी २०७४ र ०७९ मा प्रत्यक्षबाट निर्वाचित सांसद हुन्। उनी ०७० देखि लगातार संसदमा पुग्ने मोरङको एक मात्रै सांसद भएका छन्।

मोरङ ६ बाट निर्वाचित नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको संसद प्रवेश यो तेस्रो हो। ०६४ को संविधानसभाको उपनिर्वाचनबाट संसदको यात्रा तय गरेका डा. कोइराला ०७० को संविधानसभा र ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भए।

०७४ मा एमालेका लालबाबु पण्डितले कोइरालालाई पराजित गरेका थिए। यस पटक डा. कोइरालाले उनै पण्डितलाई पराजित गरिदिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .