ad ad

प्रविधि


अफगानिस्तान कब्जा गर्न तालिबानले यसरी व्यापक प्रयोग गरे सामाजिक सञ्जाल

अफगानिस्तान कब्जा गर्न तालिबानले यसरी व्यापक प्रयोग गरे सामाजिक सञ्जाल

नेपालखबर
भदौ २२, २०७८ मंगलबार २१:२०, काठमाडौँ

यही वर्ष मेको सुरुवातमा जब अमेरिका र नेटोका सेना अफगानिस्तानबाट हट्ने प्रक्रिया सुरु भयो, तब तालिबानले अफगान राष्ट्रिय सुरक्षा बलविरुद्धको आफ्नो आक्रमण तीव्र बनायो।  

तर त्यसपछि उनीहरूले केही यस्ता काम पनि गरे, जुन तालिबानको इतिहासमै कहिले भएको थिएन। उनीहरूले सामाजिक सञ्जालमा एक अभियानको सुरुवात गरे। 

धेरैवटा सामाजिक सञ्जालका अकाउन्टहरूको एउटा नेटवर्क बनाइयो, जसमार्फत अफगानिस्तानको निर्वाचित सरकारका असफलताबारे नागरिकको ध्यानाकर्षण गराइयो। साथै तालिबानका सफलता र उपलब्धिको प्रचार गरियो। 

यही नेटवर्कसँग जोडिएका अकाउन्टमार्फत तालिबानले हालै आफूले हासिल गरेको सफलताको झलक आउनेगरी ट्विटरमा झन्डा फहरायो। यस सिलसिलामा  #kabulregimecrimes र ३ﻧَﺼْﺮٌ)ﻣٌِﻦَ)اللهِ)ﻭَﻓَﺘْﺢٌ)ﻗَﺮِﻳﺐٌ (भगवानको सहयोग र जित नजिकै छ) जस्ता केही ह्यासट्याग पनि चलाए।

 #kabulregimecrimes ह्यासट्यागमार्फत अफगान सरकारका युद्ध अपराधीहरूको ध्यानाकर्षण गराइयो। अफगानिस्तानमा ट्विटरमा यस्तो ट्रेन्ड ल्याउने केही सुरुवाती ह्यासट्यागमध्ये यो एक थियो। 

सामाजिक सञ्जालको मोर्चा
यसको जवाफमा अफगानिस्तानका तत्कालीन उपराष्ट्रपति अमरुल्लाह सालेहले आफ्ना सुरक्षा बल र नागरिकसमक्ष सामाजिक सञ्जालमा तालिबानले गरेका जितका दाबीको मतलब नगर्ने आग्रह गरे। साथै उनले सैनिक अभियानसँग सम्बन्धित जानकारी सामाजिक सञ्जालमा सेयर नगर्न पनि नागरिकलाई अपिल गरे। उनको भनाइ थियो– यसो गर्दा सुरक्षा व्यवस्था जोखिममा पर्न सक्छ। 

सामाजिक सञ्जालको मोर्चालाई तालिबानले यसरी उपयोग गर्यो कि त्यसबाट बलियो प्रतिरोधी रणनीतिभन्दा अघि बढेर उसले सूचना प्रविधिलाई राम्रोसँग उपयोग गरेको संकेत पाइन्छ। 

आफ्ना सूचना सर्वसाधारणसम्म पुर्याउन तालिबानले सामाजिक सञ्जालरूपी हतियारलाई सशक्त ढंगले प्रयोग गर्यो। 

पहिलोपटक सन् १९९६ मा तालिबानले आफू सत्तामा आउनासाथ इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो। तालिबानले टेलिभिजन सेट, क्यामेरा र भिडिओ टेपहरू पनि नष्ट गरे वा नियन्त्रणमा लिएका थिए। 

तालिबान विचारधारा
सन् २००५ मा ‘इस्लामिक इमिरेट अफ तालिबान’को पहिलो आधिकारिक बेवसाइट ‘अल इमाराह’ सार्वजनिक गरेको थियो। यस वेबसाइटमा अहिले पाँच भाषा– अंग्रेजी, अरबी, पश्तो, दारी र उर्दूमा सामग्री उपलब्ध छन्।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदको नेतृत्वमा ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ (आईईए) को सांस्कृतिक आयोगले यस वेबसाइटमा प्रकाशन हुने अडिओ, भिडिओ र लिखित सामग्रीको निगरानी गर्छ। 

जबिहुल्लाह मुजाहिदको पहिलो ट्विटर अकाउन्ट निलम्बन गरिएको थियो। तर पछि उनले नयाँ अकाउन्ट खोलेका छन्। सन् २०१७ देखि सञ्चालन भइरहेको उनको नयाँ अकाउन्टमा अहिले ३ लाख ७१ हजार फलोअर्स छन्। 

उनको नेतृत्वमा स्वयंसेवकहरूको एक समर्पित टोलीले तालिबानका विचारधारा प्रचारप्रसार गर्छ। तर आईईएको सामाजिक सञ्जालको निर्देशकको जिम्मेवारी आधिकारिक रूपमा पाएका व्यक्तिको नाम हो–कारी सइद खोस्ती। ​

नेटवर्क कभरेज र सस्तो डेटाको समस्या
कारी सइद खोस्तीले बीबीलाई बताएअनुसार उनको टोलीमा विभिन्न समूह छन्, जो ट्विटरमा केन्द्रित छन्। उनीहरू तालिबानको ह्यासट्याग ट्रेन्ड गराउन कोसिस गर्छन्। साथै उनीहरूको काम तालिबानका सन्देशहरूलाई ह्वाट्सएप र फेसबुकमा फैलाउनु हो। 

उनले भने, ‘हाम्रा दुश्मनसँग टेलिभिजन, रेडिओ, सामाजिक सञ्जालमा भेरिफाइड अकाउन्ट छन् भने हामीसँग केही छैन। तर पनि हामी उनीहरूसँग फेसबुक र ट्विटरमा भिडिरहेका छौं र उनीहरूलाई हराइरहेका छौं।’

आफ्नो कामबारे कारी सइद खोस्तीले अगाडि सुनाए, ‘विचारधाराका कारण जो तालिबानमा सामेल हुन्छन्, उनीहरूलाई हामी सामाजिक सञ्जालमा जोड्छौं, जसले गर्दा उनीहरूमार्फत हाम्रा सन्देश अझ व्यापक रूपमा फैलाउन सकियोस्।’

अफगानिस्तानमा मात्र ८६ लाख जना इन्टरनेट प्रयोगकर्ता छन् र नेटवर्क कभरेज र सस्तो डेटाको समस्या ठूलो चुनौती बनेको छ। 

तालिबानको प्रचार भिडिओ
कारी सइद खोस्तीले बताएअनुसार आईईएको सामाजिक सञ्जाल समूहका सदस्यहरूलाई डेटा प्याक खरिदका लागि हरेक महिना हजार अफगानी मुद्रा दिइन्छ।, जसले गर्दा उनीहरूले ‘इन्टरनेटमा युद्ध’ जारी राख्नु सकून्। जसको नेपाली रुपैयाँ करिब साढे १३ सय हुन्छ। 

कारी सइद खोस्तीले आफ्नो कामको बढाइँ गर्दै बताएअनुसार आईईएसँग चारवटा मल्टिमिडिया स्टुडिओ छन्, जसमा अडिओ, भिडिओ र डिजिटिल ब्रान्डिङका काम गरिन्छ। यसका लागि हरेक किसिमका उपकरण छन्। 

परिणामस्वरूप विदेशी र सरकारी सुरक्षा बलविरुद्ध तालिबानका लडाकुको लडाइँमा आफ्नो महिमागान गर्ने धेरैवटा प्रचार भिडिओ युट्युब र अल–एमको वेबसाइटमा उपलब्ध छन्। यिनको गुणस्तर उच्च दर्जाको छ। 

तालिबानसँग सम्बन्धित सामग्री ट्विटर र युट्युबमा धेरै प्रकाशन गरिन्छ।  तर फेसबुकले तालिबानलाई एक ‘खतरनाक संगठन’को सूचीमा राखेको छ। यसकारण यसले  तालिबानका अकाउन्ट र पृष्ठलाई नियमित रूपमा हटाइरहन्छ। 

ट्विटरमा केन्द्रित
फेसबुकले आफ्नो प्लेटफर्ममा तालिबानका सामग्रीलाई प्रतिबन्ध जारी राख्ने जनाएको छ। 

कारी सइद खोस्तीले बीबीसीसँग भने, ‘तालिबानलाई फेसबुकमा उपस्थिति जनाइराख्न निकै गाह्रो भइरहेको छ, त्यसलै हाम्रो ध्यान ट्विटरमा बढी छ।’ 

हुन त अमेरिकी विदेश मन्त्रालयले हक्कानी नेटवर्कलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचीमा राखेको भए पनि यसका नेता अनस हक्कानी र अन्य धेरै सदस्यको ट्विटर अकाउन्ट छन् र हजारौं फलोअर्स छन्। 

नाम सार्वजनिक नगर्ने सर्तमा तालिबानको सामाजिक सञ्जाल टोलीका एक सदस्यले बीबीसीलाई भने, ‘हाम्रो टोलीले न्युयोर्क टाइम्समा प्रकाशित एक लेखको प्रचार गर्न ट्विटर प्रयोग गर्ने निर्णय गरेको थियो।

सन् २०२० फेब्रुअरीमा प्रकाशित त्यो लेख तालिबानका उपनेता सिराजुद्दिन हक्कानीले लेखेका थिए। तालिबानसम्बद्ध धेरैजसो सक्रिय अकाउन्ट त्यहीपछि बनाइएका थिए। 

काउन्टर प्रचार
ती सदस्यले भने, ‘धेरैजसो अफगान नागरिक अंग्रेजी बुझ्दैनन्, तर काबुल सरकारमा रहेका नेताले ट्विटरमा आफ्ना कुरा अंग्रेजीमा राख्ने गर्थे। किनकि उनीहरूलाई अफगानी नागरिकलाई होइन, अन्तर्राष्ट्रिय समुदायलाई आफ्ना सन्देश सुनाउन चाहन्थे।’

उनले अगाडि भने, ‘तालिबान उनीहरूको प्रचारबाजीलाई काउन्टर दिन चाहन्छ, यसैले हामी ट्विटरमा बढी केन्द्रित भएका हौं।’ 

उनका अनुसार हजारौं फलोअर्स भएको सामाजिक सञ्जाल टोलीका सदस्यहरूलाई विशेषगरी छिमेकी देश र विदेश नीतिबारे टिप्पणी नगर्न निर्देशन दिइएको छ। किनकि यसले उनीहरूसँगको हाम्रो सम्बन्धलाई असर पार्छ।

विगतमा तालिबानले आफ्ना नेता तथा लडाकुको पहिचान निकै गोप्य राख्थ्यो। यतिसम्म कि तालिबानका संस्थापक मुल्ला उमरको एउटा प्रस्ट तस्बिरसमेमत छैन। 

तर आज अवस्था बदलिएको छ। अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त गर्न तालिबान नेतृत्व सञ्चारमाध्यममा मात्र होइन, सामाजिक सञ्जालमा समेत आफ्नो प्रचार गर्न पछि पर्दैनन्। 

काबुल कब्जा गरेपछि 
विगतमा पर्दापछाडि काम गर्ने तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद गत अगस्ट १५ मा काबुल कब्जा गरेपछि जब पहिलो पत्रकार सम्मेलन गरे, त्यसको केही बेरपछि तालिबानका धेरै ट्विटर अकाउन्टका फ्रोफाइल पिक्चरलाई जबिहुल्लाहका तस्बिरले बदलेका थिए। 

यसको ठीकविपरीत ती अफगान नागरिक जो हिजोसम्म सामाजिक सञ्जालमा तालिबानविरुद्ध आवाज उठाइरहेका थिए, उनीहरू सबैले आफ्ना सामाजिक सञ्जालका अकाउन्ट धमाधम डिएक्टिभ गरिरहेका छन्।  

यिनमा अन्तर्राष्ट्रिय सुरक्षा बल, संगठन, सञ्चारमाध्यमका मानिस र सर्वसाधारण अफगान नागरिक छन्। उनीहरूलाई सामाजिक सञ्जालका अकाउन्टमा उपलब्ध आफ्ना सूचना आफैंविरुद्ध प्रयोग हुने डर छ।

एमनेस्टी इन्टरनेसनल र ह्युमट राइट्स वाचजस्ता मानव अधिकारसम्बन्धी संगठनहरूले आफूहरूलाई तालिबानका लडाकु बदला लिन हिजोका आफ्ना विरोधी खोजिरेहको र तिनको हत्या गर्न चाहिरहेको भन्ने रिपोर्ट प्राप्त भएको बताएका छन्।  

फेसबुकको निर्णय
फेसबुकले आफ्नो प्लेटफर्ममा अफगान नागरिकका लागि एक नयाँ फिचर व्यवस्था गर्दै छ, जसको मद्दतले उनीहरू एक क्लिकमा आफ्ना अकाउन्ट बन्द गर्न सक्छन्। 

यस फिचर प्रयोगपछि फ्रेन्ड लिस्टमा नरहेका कुनै बाहिरी मानिसले प्रोफाइलसँग सम्बन्धित जानकारी देख्न सक्दैनन्। साथै फेसबुकले अफगानिस्तानमा रहेका ‘साथी’ खोज्न सकिने फिचर अस्थायी रूपमा हटाएको पनि बताएको छ। 

तर तालिबान बदलिएको र हिजोको आफ्नो बर्बरता त्यागेको भन्नेमा अफगानिस्तान तथा विश्वका मानिस विश्वस्त छैनन्। 

तर यस्तो लाग्छ– जुन प्रविधि उनीहरूले वर्षाैंअघि अस्वीकार गरेका थिए, आज विश्वको नजरमा आफ्नो नयाँ छवि स्थापित गर्न उनीहरूले त्यही प्रविधि प्रयोग गरिरहेका छन्। 

सामाजिक सञ्जाल समूहका सदस्यले बीबीसँग भने, ‘मानिसको दृष्टिकोण बदल्न सामाजिक सञ्जाल एउटा शक्तिशाली साधन हो, हामी तालिबानबारे मानिसको विचार बदल्न चाहन्छौं।’ बीबीसीबाट भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .