समाज


नयाँपुल–हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै, धौलागिरिवासी उत्साहित

नयाँपुल–हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै, धौलागिरिवासी उत्साहित

नेपालखबर
असोज २९, २०७६ बुधबार ५:६,

सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अन्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ। तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन्।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्षभित्रै उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएपछि आफूहरुको लामो समयदेखिको माग पूरा भएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए।

साविक धवलागिरि अञ्चलका चार जिल्लाको राष्ट्रिय राजमार्ग र प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने एकमात्र सडकको रूपमा रहेको पोखरा–बागलुङ सडकमा सुरुङमार्ग बनाउन विगत पाँच वर्षदेखि पर्वत उद्योग वाणिज्य सङ्घले पहल गर्दै आएको थियो ।

धवलागिरि क्षेत्र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण र छिमेकी मुलुक चीनको कोरला नाकासँग समेत जोडिएको र पर्यटन प्रवद्र्धनका हिसाबले प्रशस्त सम्भावना बोकेको क्षेत्रलाई पोखरासँग प्रत्यक्ष जोड्नका लागि पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यसअघि पनि छलफल र बहस हुँदै आएको थियो भने मन्त्रालयमा ध्यानाकर्षण पत्रसमेत बुझाइएको थियो।

प्रदेश तथा पर्यटनको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई सिधा जोड्न सकियो भने राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन मात्र होइन, ढुवानी र समयसमेत बचत हुने र ओझेल परेको धवलागिरिमा नै आर्थिक क्रान्तिको ढोका खुल्न सक्ने भएकाले उक्त कार्य आवश्यक देखिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले बताए।

दूरीका हिसाबले पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर रहेको छ। यसअघि पर्वतको कुश्मा नगरपालिका–८ दोविल्लादेखि पोखराको पामेसम्म सुरुङमार्गले जोड्न प्रस्ताव गरिएको थियो। अहिले सम्भाव्यता अध्ययन गर्न थालिएको नयाँपुल–हेम्जाको दूरी झण्डै ४० किलोमिटर रहेको छ। तर, सुरुङमार्ग निर्माणपछि आठदेखि १० किलोमिटरको दूरीमा जोडिने अनुमान गरिएको छ।

उक्त सुरुङमार्ग निर्माणपछि पोखरामा दिनहुँ भित्रिने हजारौँ पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले भारत र चीनको व्यापारिक रुटको रूपमा काम भइरहेको कालीगण्डकी करिडोरसँग सिधा सम्पर्क राख्न सकिने र धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राका लागि पर्यटक भित्र्याउन सहज हुने भएकाले उक्त सुरुङमार्ग अत्यावश्यक भएको संघका अध्यक्ष शर्माको भनाइ छ।

मन्त्रालयले यो वर्ष पोखरा–बागलुङ सडकमा पर्ने हेम्जा–नयाँपुल सुरुङमार्गसँगै टोखा–छहरे–गुर्जे भन्ज्याङ, कोटेश्वर–जडीबुटी, खुर्कोट–चियावारी, सिन्धुली, कैलाली खुटिया–बिपीनगर–दीपायल खण्ड, थानकोट–चित्लाङ, गोदावरी, ललितपुर–मानेचौर, काभ्रे, नयाँ बनेश्वरमा अण्डरपास, कुलेखानी–भीमफेदी, बुटवल–सिद्धबाबा, दोलखाको लामाबजार, बुटबल–नारायणगढको दाउन्ने खण्ड, बेत्रावती–घट्टेखोला, स्याफ्रुबेँसी खण्डमा सुरुङमार्गको अध्ययन गर्ने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad