ad ad

समाज


बिहारमा कोसीको तटबन्ध भत्किएर बस्तीमा बाढी, नेपालमा पनि असर पर्न सक्ने

बिहारमा कोसीको तटबन्ध भत्किएर बस्तीमा बाढी, नेपालमा पनि असर पर्न सक्ने

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १८:४२,

नेपालको सप्तरी जिल्लासँगै जोडिएको बिहारस्थित सुपौल जिल्लाको सिकरहट्टामा सप्तकोसी नदीको तटबन्ध भत्किएको छ। बिहीबार राति डेढ बजे चुटियाही नजिकै तटबन्ध फुटेको हो। तटबन्ध फुटेपछि निर्मली प्रखण्डका दर्जनौँ गाउँमा बाढी पसेर डुबान भएको छ। 

तटबन्ध फुटेर बाढी पसेपछि सयौँ हेक्टरमा लगाइएको धान खेती पनि डुबेको छ। तटबन्ध भत्किएर बिहारको सुपौल जिल्लास्थित २५ हजार जनसंख्या प्रभावित भएको छ। समाचार अनुसार कुनौली र कमलपुर पञ्चायतको सम्पर्क पनि प्रखण्ड मुख्यालयबाट कटान भएको छ।

क्षतिग्रस्त तटबन्धलाई पुननिर्माणको काममा युद्धस्तरमा भइरहेको भारतीय अधिकारीले बताएका छन्। जल संशाधन विभागका अधिकारीले त्यहाँ क्याम्प नै खडा गरेर तटबन्ध बनाउन जुटेका हुन्। शुक्रवार साँझ ५ बजेसम्म फुटेको तटबन्ध बनिसकेको छैन। 

चुटियाही नजिकै तटबन्धमा चुहावट भएपछि भत्किने चिन्ताले सताएको थियो।  बिहीबार राति अचानक १० फिट तटबन्ध ठूलो आवाजसहित भत्किएको थियो। अहिलेसम्म करिब ५० फिट तटबन्ध बगिसकेको छ। पानीको तीव्र गतिले तटबन्ध कटान जारी छ।

रातिको समयमा तटबन्ध फुटेको खबर आगो जसरी फैलिएको थियो। त्यस आसपास बसेका मानिस भागाभाग भएका थिए। राति नै मानिसहरु घरबाट आवश्यक सामान लिएर तटबन्ध र एनएच-५७ सहित अन्य अग्ला स्थानमा पुगेका थिए। खबर आएपछि राति नै निर्मली अनुमण्डलका सबै पदाधिकारी घटनास्थल पुगेका थिए। शुक्रवार बिहान डिएम महेन्द्र कुमार, एसपी मनोज कुमारसहितका अधिकारी पनि घटनास्थल पुगेका थिए।

सिकरहट्टा-मझारी बाँधको क्षतिग्रस्त भाग मर्मत गर्नुअघि भत्किएको तटबन्ध थुन्ने काम तीव्र पारिएको छ। शुक्रवार मध्यरातिसम्म तटबन्ध बनाइसक्न योजना छ। जल संशाधन विभागका अधिकारी अहिले क्षतिग्रस्त तटबन्धस्थलमै छन्। विहारका विभागीय मन्त्री र सचिव यसको अनुगमनमा जुटेका छन्। विस्थापित परिवारलाई राहत दिइएको छ। दुई स्थानमा सामुदायिक भान्सा चलाइएको छ। 

नेपालमा असर

बिहारमा कोसीको तटबन्ध फुटेपछि नेपालमा त्रास छाएको छ। बिहारमा कोसीको तटबन्ध फुट्दा नेपालस्थित सीमा क्षेत्रको कोसी व्यारेजका ढोका थुनेर भारतले बहाब रोक्ने चिन्ता छाएको छ। शुक्रबारसम्म कोसी ब्यारेजका २२ वटा ढोकाबाट पानी गइरहेको छ।

बिहारमा तटबन्ध फुटेपछि पानीको बहाव भारतले रोक्ने प्रयास गरेमा नेपालतिर दबाब बढ्नेछ। नेपालतिर पानीको बहाव रोकिएमा यता पनि तटबन्ध जोखिमा पर्ने चिन्ताले स्थानीयलाई सताएको छ। पानीको बहाब रोकिएमा नेपालतिर सुनसरी, सप्तरी र उदयपुरका क्षेत्रमा जोखिम बढ्ने अवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .