अफगानिस्तानमा अलपत्र परेका ३४ जना नेपाली आज स्वदेश आउँदैछन्। काबुलमा अलपत्र परेका ३४ नेपालीलाई उद्धार गरेर नेपाल ल्याउन लागिएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार काबुलमा अलपत्र ३४ नेपाली शनिबार बिहान १० बजे चार्टर विमानमार्फत स्वदेश फर्कंदैछन्। उनीहरुसँगै संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि स्वदेश फर्किंदैछन्।
बिद्रोही तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ असुरक्षा बढेको छ। विभिन्न रोजगारीका लागि अफगानिस्तान पुगेका नेपाली तालिबानले सत्ता कब्जा गरेपछि अलपत्र परेका हुन्। हाल उनीहरुलाई यूएनको सहयोगमा काबुलमा सुरक्षित रूपमा राखिएको छ।
अफगानिस्तानबाट हालसम्म ९ सय ४० नेपालीको उद्धार भइसकेको छ। अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ।
Shares
प्रतिक्रिया