चितवन राष्ट्रिय निकुञ्जको धुव्रे रोनाल्डो भनेजस्तै कोसीटप्पु वन्यजन्तु आरक्षमा ‘मकुना’ हात्ती थियो। आरक्षको ‘हिरो’का रूपमा रहेको मकुना हात्ती अब भने इतिहास बनेको छ।
खासमा मकुना दाह्रा नभएको जवान हात्तीलाई भनिन्छ। दाह्रा नभएकैले ‘मकुना’ लाई स्थानीयलाई मकुना भन्न थाले। आरक्ष कार्यालयले भने मकुना लाई आफ्नो क्षेत्रको नायकका रूपमा लिएको थियो।
आरक्षका पूर्ववार्डेन रामदेव चौधरीले आरक्षको वेबसाइटमै हिरो अफ कोसीटप्पु भनेर लेखिदिए।
आरक्षले आफ्नो वेब साइटमा मकुनाको बारेमा भनेको छ ‘यसमा कुनै शंका छैन। जम्मा १७ जंगली हात्ती मध्ये मकुना यहीको स्थायी हात्ती हो। सामान्य रुपमा भाले जातिका वन्यजन्तु एक्लै बस्छन्। तर आरक्षमा ९–११ मत्ता हात्ती समूहमा देखिन्छन्। यो आरक्षमा जंगली हात्ती सहजै अवलोकन गर्न सकिन्छ।’
आरक्षको त्यही हिरो मकुना आइतबार भने कोसीटप्पु आरक्ष कार्यालयनजिकै मृत फेला पर्यो। शनिबारसम्म फाफा फुफु गर्दै हिँडेको मकुना आइतबार बिहानदेखि भने जैविक विविधता संरक्षणको इतिहासमा मात्र सीमित भयो।
आरक्ष कार्यालयदेखि करिब ५ सय मिटरनजिकको मध्यवर्ती क्षेत्र अर्थात् आरक्षको प्रभाव पर्ने मान्छे बस्ने इलाकाको धान बारीमा मकुना मृत फेला परेको थियो। धानबारी जोगाउन प्रयोग गरिएको नाङ्गो विद्युतीय धरापमा परेर हात्तीको मृत्यु भएको प्रारम्भिक रूपमा ‘फिल्ड’मा देखिन्छ।
बाला लाग्न लागेका धानको सुरक्षामा लगाएको धरापमा हात्ती परेको हो। बाली सुरक्षा गर्न स्थानीयले प्रयोग गर्ने नाङ्गो तारमा हात्ती परेको हुनसक्ने आरक्षका वार्डेन अशोक राम बताउँछन्।
आरक्षले आफ्नो सिमाना विद्युतीय झट्का दिने सोलार फेन्स राखेको छ। प्रति एक सेकेन्डको फरकमा झट्का दिने सोलार फेन्स आरक्षले लगाएको छ। तर, स्थानीयहरूले भने नाङ्गो तारमा सोझै हाइ भोल्टेज छोडेर बाली सुरक्षा गर्ने गर्छन्। त्यसैमा परेर मकुनाको मृत्यु भएको अनुमान छ।
अनुमान मात्र हैन फिल्डको अवस्थामा समेत हात्ती मर्नुको कारण विद्युतीय धराप नै हो।
‘कसैको त जग्गा नै कम दाजु, रोपेको खेती त जोगाउनु पर्यो’ मकुनाको अन्तिम सदगद हेर्न आएका एक स्थानीयले भने, ‘थोरै जग्गामा पुग्दैन त्यसैले पनि तार लगाउँछन्।’
प्रशासनले नै चाहेको थियो मार्न!
मकुना एक वर्षअगाडि नै झन्डै मृत्युको मुखमा पुगेको थियो। अहिले स्थानीयले बाली जोगाउन भनेर थापेकाे धरापमा परेर मरेकाे देखिए पनि त्यसबेला भने राज्यको एउटा निकाय नै मकुना मार्ने अभियानमा थियो।
गत साल मङ्सिर २९ मा मकुनाले कोसी गाउँपालिका–६ का ३२ वर्षीय प्रमोद यादवको ज्यान लियो। मकुनाको ‘रुट’ मा पर्ने गँहुबारीमा बिहानै पानी लगाउन जाँदा यादव आक्रमणमा परेका थिए। सोही पछिल्लो घटनालाई आधार बनाउँदै आरक्ष र जिल्ला प्रशासनले हात्ती मार्ने प्रक्रियाको सुरु गरेको थियो।
तत्कालीन प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले ‘हात्ती नियन्त्रणमा लिनुपर्ने’ जनताको गुनासो आएको भन्दै आरक्षमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्र लेखेका थिए।
अड्डा अदालत बुझ्ने सीडीओले विशुद्ध जैविक विषयमा निष्कर्ष निकाल्दै प्रक्रिया अघि बढाएका थिए।
‘मकुना हिंस्रक भएको अनुमान त्यति बेलाका सीडीओ सापको थियो’ आरक्षमै विगतदेखि काम गर्दै आएका एक जुनियर कर्मचारीले भने, ‘स्थानीय प्रसाशन ऐनको एउटा सामान्य दफा टेकेर सीडीओ सापले मार्ने प्रक्रिया बुझ्न थाल्नुभएको थियो त्यति बेला।’
दबाब थेग्न नसकेर कानुनअनुसार मार्न सकिने निष्कर्षमा सीडीओ पुगेका थिए।
‘स्थानीय प्रशासन ऐनले जनावर हिंस्रक भए सीडीओलाई गोली ठोकेर मार्ने अधिकार प्रत्यायोजन गरेको छ,’ तत्कालीन सीडीओ पोखरेलले नेपालखबरसँग भनेका थिए, ‘हात्तीले वितण्डा मच्चाएकोमा दुईमत छैन, तर्क आआफ्नै हुन्छ, कानुनी आधार छ, विवाद नहुने किसिमले समस्याको निरूपण हुन्छ।’
तर, सीडीओले हचुवाको भरमा मकुना मार्ने योजना अगाडि ल्याएपछि व्यापक विरोध भयो। आरक्षका तत्कालीन वार्डेन चन्द्रशेखर चौधरीको त झन् आरक्षमा हाजिर भएको १ महिना बित्न नपाउँदै सरुवासमेत भयो।
चौधरीको सरुवापछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपसचिवको दरबन्दीमा शाखा अधिकृत तहका अशोक रामलाई वार्डेनको जिम्मा दिएर पठायो। हात्तीको व्यवहार नजिकबाट बुझेका र हात्तीसँग सम्बन्धित विषयमा विद्यावारिधि गर्दै गरेका त्यतिबेला रामलाई वार्डेनको जिम्मा दिइएको थियो।
‘हुन त पीएचडी हात्तीमै गरेको हो, विभागले मकुना बचाउने कोसीटप्पु पठाएको हो’ आरक्षकै एक पूर्ववार्डेन भन्छन्, ‘उहाँलाई जुन योग्यता छ भनेर मकुना व्यवस्थापनमा पठाएको थियो त्यो पूरा हुन सकेन।’
Shares
प्रतिक्रिया