ad ad

समाज


सानेपा हत्याः सीसीटीभीले कैद गरेका हत्यारा प्रहरीले पत्ता लगाउन सकेन

सानेपा हत्याः सीसीटीभीले कैद गरेका हत्यारा प्रहरीले पत्ता लगाउन सकेन

मृतक सत्यनारायण तारिक


उजिर कार्की
असोज १७, २०७८ आइतबार २२:१, काठमाडौँ

ललितपुरको सानेपामा भारतीय नागरिक सत्यनारायण तारिकको हत्या भएको तीन महिना पुरा भएको छ। तर, प्रहरीले हत्यामा संलग्न पत्ता लगाउन सकेको छैन। 

हत्यालगत्तै प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको टोलीले अनुसन्धान सुरु गरेका थिए। महाशाखा र परिसरको टोलीले नसकेपछि अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ। 

गत असार २० गते भारत राजस्थानका ५९ वर्षीय तारिकको शव सानेपास्थित उनकै डेरामा फेला परेको थियो। दुई दिनअघि उनको हत्या गरेको प्रहरीको अनुमान छ। त्यो रातको सीसीटीभी फुटेज पनि प्रहरीसँग छ। 

शव फेला परेलगत्तै प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान ग¥यो। सीसीटीभी फुटेजमा चार जना देखिन्छन्। प्रहरीले ती चार जना को हुन् भन्ने पत्ता लगाउन सकेको छैन। 

‘सुरुमा चार जना गएको देखिन्छ। एक जना सत्यनारायणको कोठा देखाउन गएको हुनुपर्छ। दोस्रो पटक तीन जना मात्रै जान्छन्। उनीहरुले नै हत्या गरेको हुनुपर्छ,’ अनुसन्धानमा संलग्न प्रहरी भन्छन्, ‘शंकास्पद धेरै जनालाई ल्याएर सोधपुछ ग¥यौँ तर प्रमाणित गर्न सकेनौँ।’

महाशाखा र परिसरले सुरुबाटै अनुसन्धानमा सहकार्य भन्दा पनि जस लिने होडबाजी गरेको र त्यसैले गर्दा निचोडमा पुग्न नसकिएको ललितपुर परिसरका एक अधिकारीले बताए। 

‘हामीसँग भएका कतिपय कुरा उनीहरुलाई थाहा छैन, उनीहरुसँग भएका कुरा पनि हामीले पाएनौँ। त्यसले अनुसन्धानलाई पर धकेल्दै लग्यो। अहिले हामीले नसकेर सीआईबीले थाल्नु पर्ने अवस्था आयो,’ उनले नेपालखबरसँग भने। 

सीआईबीले अनुसन्धान थालेको र अहिले प्राविधिक रिपोर्ट प्राप्त हुने क्रममा रहेको सीआईबी श्रोतले बतायो। 

‘हामीले शून्यबाटै अनुसन्धान सुरु गरेका छौँ। महाशाखा र परिसरले गरेको अनुसन्धान र प्राप्त प्रमाणहरु पनि हेर्दै जान्छौँ,’ सीआईबी श्रोतले भन्यो। 

‘हामीले सबै हिसाबबाट अनुसन्धान गर्यौँ। शंकास्पद व्यक्तिहरुलाई सोधपुछ पनि गर्यौँ तर प्रमाणित नहुँदा हत्यारा यही हो भन्ने अवस्था भएन,’ अपराध मशाहाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले भने। 

सीसीटीभी फुटेज भए पनि प्रष्ट देखिँदैन। रातिको फुटेज मधुरो भएका कारण पत्ता लगाउन सकस भएको प्रहरीको भनाइ छ। यसबाहेक अरु कोणबाट उनीसँग जोडिएका व्यक्तिहरुमाथि पनि प्रहरीले निगरानी गरेको हो। तर, ती सफल भएका छैनन्। 

तारिकको मोबाइलबाट पनि प्रहरीले कनेक्सन हे¥यो। तर कुनै सुराक फेला परेन। रुद्राक्षको कारोबारदेखि उनको घरमा बहुमूल्य वस्तुका लागि हत्या भएको आशंकामा त्यस्ता कारोबार गर्ने व्यक्ति पनि प्रहरीको निगरानीमा तानिए। त्यहाँबाट पनि सफलता हात लागेन। 

सत्यनारायणको घरमा दुई महिला काम गर्थे। जसले सत्यनारायण मृत फेला पर्दा पहिले जानकारी समेत पाएका थिए। उनीहरुमाथि पनि प्रहरीको शंका सुरुदेखि नै थियो। 

ती महिलासँग सम्बन्धित व्यक्तिमाथि पनि प्रहरीले अनुसन्धान ग¥यो। तर, कुनै सफलता प्राप्त भएन।

‘हामीले एकसय बढी व्यक्ति ल्याइसक्यौँ होला, तर कहीँबाट पनि पत्ता लागिरहेको छैन,’ अनुसन्धानमा संलग्न ती अधिकारी भन्छन्। 

सत्यनारायण सानेपामा पुरै घर भाडामा लिएर बसेका थिए। घरमा खाना पकाउने र सरसफाइ गर्ने दुई जना महिला थिए। सत्यनारायणको कोठाभित्रै हत्या भए पनि ढोका भित्रबाट बन्द थियो। 

झ्यालबाट गएर घनले टाउकोमा हानेर हत्या गरिएको निष्कर्ष प्रहरीको छ। पोस्टमार्टम रिपोर्टले पनि ‘ब्लन्ट फोर्स इन्जुरी’ भनेको छ।

घटनास्थलमा रगत लतपतिएको घन फेला परेको छ। झ्यालको जाली काटिएको छ। दराजको काँच पनि फुटेको छ। 

दराजमा कुनै बहुमुल्य वस्तु रहेको र त्यसैका लागि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ। तर त्यहाँबाट के लगियो भन्ने प्रहरीलाई पनि थाहा छैन। 

१० वर्ष पहिलेदेखि त्यो घरमा बस्दै आएका सत्यनारायण २ वर्षदेखि न्युरोडको एक कम्पनीमा काम गर्थे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .