ad ad

समाज


नेपाल–चाइना मिडिया फोरमको रिपोर्टः चीनसँग सीमा समस्या छैन

नेपाल–चाइना मिडिया फोरमको रिपोर्टः चीनसँग सीमा समस्या छैन

नेपालखबर
असोज २०, २०७८ बुधबार १७:५०, काठमाडौँ

नेपाल र चीनबीच गम्भीर सीमा समस्या नरहेको अध्ययनमा देखिएको छ। 

नेपाल–चाइना मिडिया फोरमले नेपाल–चीन सीमा सन्धि सम्पन्न भएको ६० वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको अध्ययन रिपोर्टले यस्तो निष्कर्ष निकालेको हो।

सो प्रतिवेदन अनुसार विगतमा नेपाल र चीन बिच उत्पन्न भएका सीमा विवाद र त्यसको समाधानका दृष्टान्त समेत सो रिपोर्टमा समेटिएको छ। 

नेपाल–चीन सीमा  विवाद सम्बन्धमा गरिएको यो अध्ययनको खास दुई वटा कारणहरू रहेको नेपाल –चाइना मिडिया फोरमले उल्लेख गरेको छ । 

जसमा भनिएको छ, ‘एक, बितेका ६ दशकमा नेपाल र चीनबीच सीमासम्बन्धी के कस्ता समस्याहरु देखा परे र त्यसलाई कुन विधिमार्फत कसरी समाधान गरियो भन्ने आम चासोलाई पूरा गर्नु दुई मुलुकबीचको सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाको क्षेत्रगत विषय हुनाले। दोस्रो हो, नेपालमा सरकार परिवर्तन भएसँगै वर्तमान सरकारले चीनसँगको सीमामा रहेका समस्याबारे अध्ययन गर्ने भनी गरेको घोषणा र सो सम्बन्धमा नेपालको सार्वभौम संसद्मा नै प्रमुख प्रतिपक्षी दलका नेताले त्यो विषयमा गरेको आपत्तिले उब्जाएको अस्पष्टतालाई अन्त्य गर्न तथ्यगत अध्ययनको आवश्यकता देखिनु।’

त्यसो त यो अध्ययन जारी नै रहेको बेला नेपाल सरकारले चीनसँग सीमा विवाद रहेको भन्ने विषयमा अध्ययन गर्न गठन गरेको समितिले सरकारसमक्ष आफ्नो प्रतिवेदन बुझाइसकेको छ। 

तर, सो प्रतिवेदन सरकारले सार्वजनिक गरी नसकेको अवस्थामा त्यसमा के कस्तो तथ्य र त्यसको आधारमा निष्कर्ष निकालिएको छ भन्ने विषयमा थप चासो बढेको छ। 

त्यसैले नेपाल–चीन मिडिया फोरमले गरेको यो स्वतन्त्र अध्ययनका क्रममा फेला परेका तथ्यहरू आम नेपाली र विशेषगरी नेपाल–चीन सीमा सम्बन्धका विषयमा अध्ययन गर्ने अध्येता, पत्रकार र सबै सरोकारवालाहरूका लागी महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने रिपोर्टमा उल्लेख छ। 

छोटो समय र सीमित स्रोतमा गरिएको यो अध्ययनका केही सीमा छन्। 

सामान्यतया यस्ता विषयमा गरिने बितृत अध्ययनमा जस्तो यसमा सबै विधि र प्रक्रिया पुरा गर्न सकिएको छैन । तथापि, विषयवस्तुको गहनता र संवेदनशीलता प्रति भने अध्ययनको क्रममा पूर्ण रूपमा सचेतता अपनाइएको छ । त्यसैले यो अध्ययनलाई वस्तुनिष्ठ र तथ्यपरक बनाउन आवश्यक सबै मापदण्ड यस क्रममा पूरा गरिएको छ ।

विगतमा सगरमाथाको स्वामित्वदेखि सीमाका विभिन्न भागमा देखिएका अन्य समस्याको निराकरण कसरी सहजपुरमा भएको थियो भन्ने कुरालाई यो अध्ययनमा महत्त्वका साथ उल्लेख गरिएको छ। 

चरनदेखि खर्कको उपभोग र त्यसको स्वामित्व निर्धारणका लागि गरिएका अन्य सम्झौता र स्थानीय रूपमा चली आएका व्यावहारिक सम्बन्धको समेत यसमा चर्चा गरिएको छ।

यो अध्ययनमा केही महत्त्वपूर्ण र ऐतिहासिक दस्ताबेजहरूलाई अनुसूची खण्डमा राखिएको छ। जसले नेपाल–चीन सम्बन्धलाई थप गहन रूपले अध्ययन गर्न चाहनेहरूलाई एक महत्त्वपूर्ण स्रोत सामग्रीका रूपमा काम गर्न सक्ने नेपाल–चाइना मिडिया फोरमले विश्वास व्यक्त गरेको छ।

वि.सं. २०१६ चैत ८ गते ‘नेपाल–चीन सिमानासम्बन्धी सम्झौता हुँदा त्यसले राखेका प्रमुख तीन उद्देश्यहरू यी मुलुकको सीमारेखामा रही आएका केही अस्पष्टतालाई निरूपण गर्ने, सम्पूर्ण सिमानाको वैज्ञानिक सीमा रेखाङ्कन र औपचारिक सीमा स्तम्भ खडा गर्ने तथा दुवै देशबीचको मैत्री सम्बन्धलाई सङ्गठित र अभिवृद्धि गराउने लक्ष यसबीच पूरा भए कि भएनन् भन्ने विषयलाई समेत गहन रूपमा अध्ययनको क्रममा विश्लेषण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .