गए रातिको भीषण वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ।
गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी बनाइएको मोटरबाटो पुनः बाढीले बगाएको हो। मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए।
मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याइने उनले बताए। यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए।
हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताए। असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका सिन्धुपाल्चोकका विभिन्न ठाउँमा ह्युम पाइप राखी गाडी सञ्चालन गरिएका छन्। तीनै ह्युम पाइप पनि बाढीले फेरि बगाएको हो। रासस
Shares
प्रतिक्रिया