ad ad

समाज


जाडो बढ्दै : दिनदिनै २४ घण्टे चेतावनी

जाडो बढ्दै : दिनदिनै २४ घण्टे चेतावनी

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार ६:५८, काठमाडौँ

देशभर चिसोको मात्रा दिनप्रतिदिन बढिरहेकाले यसबाट बच्न आम नागरिकलाई अनुरोध गर्दै मौसमविदले हरेक दिन २४ घण्टे चेतानवी जारी गरिरहेका छन्। 

यस क्रममा आज (बिहीबार) बिहान ६ बजे पनि मौसम पूर्वानुमान महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : देशका प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीले दैनिक तापक्रम घट्ने क्रम जारी रहेको जानकारी दिइन्। तापक्रम घटेसँगै देशभर जाडो पनि बढिरहेको उनले बताइन्।

अहिले बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

उनका अनुसार अन्य स्थानका न्यूनतम तापक्रम भने अहिले पौने ९ बजे आउनेछ। उपत्यकाकै आधिकारिक न्यूनतम तापक्रम पनि त्यही बेला रेकर्ड गरिनेछ। तर अहिले गरिएको मापनभन्दा फरक तापक्रम देखिने सम्भावना खासै नहुने मौसमविद्को भनाइ छ।  

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको  पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ। 

बुलेटिनअनुसार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका  पहाडी भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। 

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०/११ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यस्तै आंशिक बदली भनेको धेरैजसो आकाश खुला, थोरै बादल तथा सामान्य बदली भनेको यसको उल्टो अवस्था हो। मौसम सफा भनेको कतै बादल नलागेको अवस्था हो।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .