देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ। यस क्रममा आज बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले दिएको जानकारीअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस हो।
यो यस वर्ष हिजाे (मंसिर १४) सम्मकै कम तापक्रम भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
महाशाखाको रेकर्डअनुसार केही दिनअघि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री भएकामा आज मंसिर १५ गते त्यसभन्दा पनि कम तापक्रम देखिएको हो।
आज देशभरिमै सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस २ दशमलव शून्य (अर्थात् –२.०) डिग्री सेल्सियस छ।
मौसमविद् श्रेष्ठका अनुसार हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अबर सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको एकसाथ प्रभाव परेको छ। जसले केही दिन वर्षा, हिमपातसँगै चिसो पनि बढाउने सम्भावना छ।
यो पनि : नेपालमा एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव, सतर्कताका लागि विशेष बुलेटिन
‘भोलि (बिहीबार) काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षा हुन सक्छ’, मौसमविद् श्रेष्ठले बुधबार राति नेपालखबरसँग भने, ‘यसले चिसोचाहिँ बढ्छ।’
हेर्नुहोस् तलको सूचीमा आज बुधबार कहाँको तापक्रम कति? (न्यूनतम र अधिकतम)
मौसम पूर्वानुमान महाशाखाले आज बुधबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा तथा सोही प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात सम्भावना र देशभर चिसो बढ्ने क्रममा समेत रहेकाले पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेतअनुरोध छ।
Shares
प्रतिक्रिया