ad ad

समाज


पत्रकार किसन राईको मृत्युबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी

पत्रकार किसन राईको मृत्युबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी

नेपालखबर
मंसिर २०, २०७८ सोमबार १६:३७, काठमाडौँ

हङकङमा कार्यरत पत्रकार किसन राईको मुत्युको घटनाबारे छानबिन गर्न परिवारले प्रहरीमा निवेदन दिएका छन्।

हङकङबाट नेपाल आएका परिवारजनले घटनास्थल, शवको प्रकृतिदेखि पोस्टमार्टम रिपोर्ट शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न माग गरेका हुन्। 

पत्रकार राईका छोरा अरिम राईले अनुसन्धानको माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय, खोटाङमा निवेदन दिएकाे प्रहरीले जनाएकाे छ।

नेपाल आएका राईको गत ७ कात्तिकमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको पंखु खोला नजिकै भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको थियो।

काठमाडौंबाट ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुर पुगेर खोटाङ, भोजपुर घुम्दै धरान जाने क्रममा गाडीबाट ओर्लिएर शौच गर्न जाँदा भीरबाट लडेर उनको मृत्यु भएको सार्वजनिक भएको थियो।

पत्रकार राईको शव सडकभन्दा करीब दुई–तीन सय मिटर तल खोलामा बगिरहेको पानीमा दाहिने खुट्टाको घुँडाको हड्डी भाँचिएर बाहिर निस्किएको, बायाँ खुट्टाको तिघ्राको हड्डी भाँचिएको, चिउँडोको तल्लो भागमा दुई इन्च लामो गहिरो काटिएको, निधारको भागमा चोट लागेको, बायाँ पाखुराको हाड भाँचिएको अवस्थामा भेटिएको थियो।

परिवारजनले प्रहरीलाई दिएको निवेदनमा पत्रकार राईसँगै यात्रा गरिरहेका काठमाडौंको नागार्जुन नगरपालिका–२ का प्रेमकुमार श्रेष्ठ (सशस्त्र प्रहरीका पूर्व एसपी), उनकी श्रीमती चन्द्रमाया श्रेष्ठ र धरान नगरपालिका–११ का मानबहादुर राना मगरलाई कार्यालयमा झिकाएर आवश्यक अनुसन्धान अघि बढाउन माग गरिएको छ। 

दिसापिसाबका लागि सजिलो ठाउँको सट्टा भीरमाथि गाडी रोक्नु, प्रहरीलाई ढिला खबर हुनु, परिवारलाई समयमा खबर नहुनुले शङ्का लागेको परिवारजनको भनाइ छ।

ओखलढुंगाबाट धरान नगरपालिका–१५ मा बसाइँ सरेका पत्रकार राई पछिल्लो समय हङकङमा कार्यरत थिए। 


यस्ताे छ निवेदन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .