ad ad

समाज


सप्तरीमा गाउँपालिका उपाध्यक्षसँग कुटाकुट हुँदा अध्यक्षको दाँत भाँचियो

सप्तरीमा गाउँपालिका उपाध्यक्षसँग कुटाकुट हुँदा अध्यक्षको दाँत भाँचियो

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार २१:३०, काठमाडौँ

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दुईजना जनप्रतिनिधिबीच मंगलबार कुटाकुट भएको छ।

अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच बैठकमै कुटाकुट भएको हो।

गाउँ कार्यपालिका बैठक चलिरहँदा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको त्यहाँ सहभागी वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्रकुमार यादवले जानकारी दिएका छन्। 

मंगलबार दिउँसो कार्यपालिकाको बैठकका क्रममा कृषकलाई गहुँको बिउ वितरणका विषयमा विवाद हुँदा उनीहरुबीच हात हालाहाल भएको हो। 

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवका अनुसार किसानका लागि कृषि कार्यालयबाट गाउँपालिकाको बजेटले किनेर ल्याएको ५ सय बोरा बिउ वितरण गर्न बैठक बोलाइएको थियो।

बैठकमा अध्यक्ष मण्डलले केही वडामा मात्रै बिउ वितरण गर्ने बताएका थिए। तर उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीले वितरण गर्नुपर्ने अडान लिएपछि सुरु विवाद गालीगलौज हुँदै कुटपिटमा परिणत भएको हो।

गहुँको बिउ वितरणको विषयमा विवाद भएर अध्यक्षले आफूलाई लक्षित गरेर अपशब्द बोलेपछि प्रतिकार गरेको उपाध्यक्ष मण्डलको तर्क छ। 

उनले अध्यक्षले गाली गर्दै अपशब्द बोलेपछि आफूले बैठकमै कुर्सी उठाएको बताएकी छन्। तर यसबारेमा अध्यक्षले केही बोलेका छैनन्। 

कुटपिटबाट घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानीयवासीले जानकारी दिएका छन्। 

बैठकमा विवाद हुँदा उनीहरुले एक अर्कामाथि कुर्सीले आक्रमण गरेका थिए। जिल्ला समन्वय समितिका प्रमुख यादवले पनि यसको पुष्टि गरेका छन्। 

घटनामा उपाध्यक्षको पनि हातमा चोट लागेको अन्य जनप्रतिनिधिले बताएका छन्। जनप्रतिनिधिबीचको कुटाकुटबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पनि खबर आएको छ।

तर त्यसबारेमा कसैले पनि लिखित या मौखिक उजुरी नदिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले कुटाकुट गरेपछि दुवैजना कार्यालयबाट घरतिर गएको जानकारी आएको बताए। तर दुवै पक्षले घटनाबारे प्रहरीलाई केही भनेका छैनन्। 

दुई वर्षदेखि त्यस गाउँपालिकाको गाउँ सभा हुन सकेको थिएन। गत हप्ता मात्रै गाउँ सभा सम्पन्न भएको थियो। सभा भएपछि डाकिएको कार्यपालिकाको बैठकमा दुवैबीच भएको विवादले यस्तो घटना भएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .