समाज


...अनि गरिन् १५ वर्षीया किशोरीले आफ्नै विवाहविरुद्ध ३ दिनमै विद्रोह

...अनि गरिन् १५ वर्षीया किशोरीले आफ्नै विवाहविरुद्ध ३ दिनमै विद्रोह

जनार्दन पोखरेल
पुस १०, २०७८ शनिबार १७:३६, काठमाडौँ

सपना यादव (परिवर्तित नाम) अहिले १५ वर्षमा हिँड्दैछिन्। गएको मंसिर पहिलो साता उनको विवाहको कुरा चल्यो। उनले अहिल्यै विवाह नगर्ने अडान लिइन्। बुवा–आमासँग रोइकराइ गरिन्। आफ्नो विवाहको कुरा झिक्दै नझिक्न आग्रह गरिन्। तर, बुवा–आमाले उनको कुरै सुनेनन्। 

रौतहटको कटहरियाका २१ वर्षीय युवकसँग सर्लाहीको बागमती नगरपालिका- १ स्थित आफ्नै झुपडीमा जबर्जस्ती उनको गौना (टीकाटालो) गरिदिए।

जन्मदिने, पालन/पोषण गर्ने बुवा-आमा नै उनको इच्छाविरुद्ध लागेपछि न्याय खोज्दै भोलिपल्ट उनी इलाका प्रहरी कार्यालय बागमती पुगिन्। बागमतीमा औषधि पसल सञ्चालन गर्दै आएका स्थानीय शंकर थापाले ‘बालविवाह रोकिपाऊँ’ भन्ने बेहोराको निवेदन लेखिदिए। सपनाले त्यसमा हस्ताक्षर गरिन्। र, त्यो निवेदन इप्रका बागमतीका सई प्रवीण भट्टको हातमा दिइन्। 

बालविवाह गर्नुहुन्न भन्ने चेत भएका स्थानीय उनको साथमै थिए। उनीहरुले पनि प्रहरीसँग किशोरीको विवाह रोकियोस् भन्ने माग गरे। किशोरीको आँटको प्रशंसा गरे। 

प्रहरीलाई निवेदन दिएपछि सपना घर फर्किइन्। उनले सुनेकी थिइन्– प्रहरीले बालविवाह रोक्छ। जबर्जस्ती गरे विवाह गर्ने–गराउने सबैलाई पक्राउ गरेर जेल हाल्छ। २० वर्ष नपुगि विवाह गर्न नपाईंने कानुनको सामान्य ज्ञान उनमा थियो। कतिपय बेला उनले सानै उमेरमा गरिएका विवाह रद्द भएका समाचार सुनेकी र पढेकी थिइन्।

बागमती १ कै थिङटोलस्थित जनता माविमा कक्षा ५ मा पढ्दै गरेकी उनी अब आफ्नो विवाह रोकिनेमा ढुक्क थिइन्। १० वर्षको उमेरमा कक्षा १ मा विद्यालय भर्ना भएकी उनलाई पढाई निरन्तर अघि बढाउने चाहना थियो।

बुवा–आमा (किशोरीको पहिचान खुल्ने भएकाले नाम उल्लेख नगरिएको) छोरीको विवाह जसरी पनि गर्ने तयारीमा थिए। आफ्नो  विवाह रोक्न माग गर्दै छोरी प्रहरी कार्यालय गएकोप्रति उनीहरु रुष्ट बने।

प्रहरीकहाँ गए झन् अप्ठ्यारो हुने डरत्रास देखाए। आफ्नो विवाहको विषयमा धेरै जान्ने नबन्न र धेरै हल्लाखल्ला नगर्न धम्क्याए, फकाए। 

आधा दर्जन सन्तानका अभिभावक (तीन छोरा, तीन छोरी) उनीहरु जसरी पनि जेठी छोरीको विवाह गरेर चाँडै काम सक्न चाहन्थे। तर, उमेर नपुगेकी छोरीको आफ्नै घरबाट विवाह गरे गाउँ/समाजले पनि साथ नदिने र प्रहरी प्रशासनको झमेलामा परिने डर उनीहरुमा पस्यो। 

छोरी नै उनीहरुको निर्णयकोविरुद्धमा उभिएपछि उनीहरुले अर्को जुक्ति निकाले– आफ्नो घरबाट छोरीको बिहे नगर्ने। जुन कुराको सुइँको उनीहरुले छोरीलाई दिएनन्।

टीकाटालो भएपनि विवाहको दिन टुंगो लगाइएको थिएन। अथवा, सपनालाई त्यसको जानकारी दिइएको थिइन्। टीकाटालो भए पनि सपनाले विद्यालय जान छाडिनन्। 

पुस १७ गते बुवाआमाले छोरीलाई ‘मामा घरमा पूजा छ, जाउँ’ भने। मामाघर जान उनी तयार भइन्। उनले सोचेकी थिइन्– ‘मामालाई भनेर भए पनि टीकाटालो भइसकेको विवाह रोक्छु, पढाइलाई निरन्तरता दिन्छु। त्यसको लागि भए पनि म मामाघर जानैपर्छ।’

१७ गते दिउँसो उनीहरु रौतहटको कटहरियास्थित मामाघर पुगे। आमाबुवाले मावलमा पूजा छ भनेका थिए। तर, मामा घरमा पुग्दा उनले देखिन्, त्यहाँ पूजा होइन् विवाहको तयारी हुँदैथियो। ‘यहाँ कसको विवाह हुँदैछ?’ उनको मनमा प्रश्न उब्जियो। मन असान्त बन्यो। 

यो प्रश्न उनले कसैलाई सोध्न पाएकै थिइनन्। सबैले उनैलाई हेर्न थाले। कतिपयले ‘बेहुली नानी’ भनेर जिस्काए। बल्ल उनले ‘घरबाट विवाह गरे अप्ठ्यारोमा फसिने’ डरले बुवा–आमाले मामाघरबाट आफ्नो विवाह गरिदिन लागेको षड्यन्त्रको भेउ पाइन्।  

टीकाटालोमा जस्तै फेरिपनि उनले रोइकराइ सुरु गरिन्। आमाबुवा, मामामाइजु सबैसँग बिन्ति गरिन्। ‘यति सानै उमेरमा मेरो विवाह नगरिदिनुस्। म पढ्न चाहन्छु। २० वर्ष नपुगी विवाह गर्नु पनि हुँदैन,’ भनेर आग्रह गरिन्। तर, उनको कुरो सुन्ने त्यहाँ कोही थिएनन्। 

साँझ परेपछि जबर्जस्ती उनलाई जग्गेमा राखेर विवाहको विधि अघि वढाइयो। रातभर विवाहको विधि चलिरह्यो, उनी भने रोइरहिन्। आँसु बगाइरहिन्। अरु उपाय केही थिएन। आफ्नो भावना बुझ्ने त्यहाँ कोही नहुँदा आफैँलाई मरेतुल्य लाग्यो। जन्मदिने आमाबुवा नै उनलाई राक्षस जस्ता लाग्न थाले। 

भोलिपल्ट उज्यालो नहुँदै मामाघरबाट उनलाई अन्माइयो। उनी रुँदै पतिको घर गइन्। पतिको घरमा दिनभर विवाहको बाँकी विधि र भोजभतेर चल्यो। उनी रुँदै ती सबै कर्ममा सहभागी भइन्।

साँझ रुँदै गरेकी उनलाई सासुले सम्झाउँदै भनिन्, ‘अब रोएर केही हुँदैन। तँलाई हामीले चार लाखमा किनेर ल्याएको हो, चुँप लाग।’ 

सासुका बचनले उनी छाँगाबाट खसेजस्ती भइन्।

 ‘बुवाआमाले त मलाई बेचेका पो रैछन्’ आमा–बुवाप्रति उनमा घृणा उत्पन्न भयो। भित्रभित्रै विद्रोहको राँको बल्न थाल्यो। उनी त्यहाँबाट भाग्ने कल्पना गर्न थालिन्। ‘म यो घरमा बस्दै बस्दिन। एक बस्दिन, दुई बस्दिन, तीन बस्दिन,’ मनमनै १५ वर्षीया किशोरीले अठोट गरिन्। 

घरपरिवार, छरछिमेकी सबैका नजर उनीमाथि थिए। पति भने सुहागरातको प्रतीक्षामा थिए। 

उनी भने एक रातपनि ती युवकलाई आफ्नो शरीर सुम्पने पक्षमा थिइनन्। रात छिप्पिँदै गयो। पतिले उनलाई उम्कन दिएनन्। विवाहको पहिलो दिन नै भाग्ने योजना उनको विफल भयो। 

भोलिपल्ट पनि बिहानैदेखि उनले त्यो घरबाट भाग्ने मौका हेर्न थालिन्। दिन बित्यो, साँझ पर्यो। अहँ त्यो दिन पनि उनलाई त्यो घर छाड्ने मौकै मिलेन। दिनभर सबैले उनको निगरानी गरिरहे। त्यो रात पनि पतिसँगै बित्यो।

विवाहको पर्सिपल्ट (२३ मंसिर) को साँझ भने उनले त्यो घर छाडिन्। लुक्दै भाग्दै उनी गाडी चड्ने ठाउँसम्म पुगिन्। ‘जे परेपनि बेहोरौँला, तर अब म यो घरमा बस्दिनँ,’ आफ्नो अठोट सम्झँदै उनले भनिन्, ‘त्यसपछि म एउटा ट्रकमा चढेँ। त्यसले लालबन्दीमा ल्याएर झारिदियो।’ लालबन्दीमा झर्दा रातको झण्डै १२ बजिसकेको थियो। 

उनलाई मन त बागमतीको मिलनचोकमै झर्ने थियो। जहाँ उनका बुवाआमाको घर थियो। सादय ड्राइभरले मिलनचोकमा गाडी रोकिदिएनन् कि?

लालबन्दीको सडकमा मध्यराति एउटी किशोरीलाई एक्लै देखेपछि प्रहरीले सोधिखोजी सुरु गर्यो। लालबन्दी प्रहरीले राति नै उनलाई बागमती प्रहरीको जिम्मा लगायो। बागमती प्रहरीले बिहान उनलाई बागमती १ मिलनचोकस्थित उनकै घरमा लगेर छाडिदियो। 

उनलाई साथमै लिएर १७ मंसिरमा मामाघर रौतहट गएका बुवा-आमा अझै घर आएका थिएनन्। घरको ढोकामा ताला झुण्डिरहेको थियो। त्यो घरमा एक्लै बस्न उनलाई डर लाग्यो। उनले छिमेकीको सहारा खोजिन्।
 
छिमेकी सीता कार्कीले उनलाई शरण दिइन्। विगत एक सातादेखि पीडित किशोरी छिमेकी आमा सीता कार्कीको घरमा बसेर न्यायको लागि कहिले प्रहरी कार्यालय, कहिले नगरपालिका त कहिले कता धाइरहेकी छिन्। 

किशोरीले आफ्नै विवाहविरुद्ध विद्रोह गरेपछि यतिबेला उनका बुवा-आमा फरार छन्। छरछिमेकीले उनको लडाइँमा साथ दिएका छन्। तर, स्थानीय प्रहरी प्रशासन भने एकपछि अर्को गल्ती गर्दै किशोरीको भविष्यमाथि खेलबाड गरिरहेको छ। 

टीकाटालो भएकै भोलिपल्ट आफ्नो विवाह रोकिपाउँ भनेर किशोरीले इलाका प्रहरी कार्यालय बागमतीमा दिएको निवेदन ‘हराएको’ छ। अहिले खोजी गर्दा त्यो भेटिएको छैन।

‘गएको बिहीबार हामीले दिनभर खोज्दा पनि त्यो निवेदन भेटिएन,’ इलाका प्रहरी कार्यालय बागमतीका प्रमुख प्रहरी नायव निरीक्षक (सई) डिबी मल्लले नेपालखबरसँग भने, ‘म केही दिनअघि मात्रै सरुवा भएर यहाँ आएको हो। त्यतिबेला किशोरीले आफ्नो विवाह रोकिपाउँ भनेर गरेको आग्रह र दिएको निवेदनलाई यहाँको इन्चार्ज (सई प्रवीण भट्ट) ले किन वेवास्ता गर्नुभयो, म बुझ्दै छु।’

यो ‘केस’ मा प्रहरीले त्यतिबैलै आवश्यक कदम नचालेर गल्ती गरेको मल्लले स्वीकार गरे। ‘किशोरीले निवेदन दिने बित्तिकै प्रहरीले उनका बुवा–आमालाई सोधपुछको लागि बोलाएको मात्रै भए पनि उनको विवाह रोकिन सक्थ्यो,’ मल्लले भने, ‘अहिले खोज्दा किशोरीले दिएको भनिएको निवेदन पनि भेटिएको छैन। यो विषयलाई मैले माथि नै जाहेर गरिसकेको छु।’

किशोरीलाई न्याय दिने विषयमा बागमती नगरपालिकाकी उपमेयर लीला मोक्तान, वडाध्यक्षद्वय गम्भीरसिंह पाख्रिन, डम्बर श्रेष्ठसमेतको सहभागितामा इप्रका बागमतीका पटकपटक छलफल भइसकेको छ। तर, प्रहरीको उदासिनताले किशोरीको न्याय प्राप्तीको चाहना अनिश्चित बन्दै गएको छ।

किशोरीले आफ्नो विवाह रोकिपाउँ भनेर दिएको निवेदन बुझ्ने तत्कालिन सई भट्ट अहिले सरुवा भएर सर्लाहीकै हिरापुर प्रहरी चौकीमा गएका छन्।
 
‘मेरो इच्छाविरुद्ध गरिएको विवाह रद्द होस्। दोषीमाथि कारबाही गरियोस्,’ शुक्रबार बागमतीको कर्मैयामा भेटिएकी किशोरीले भनिन्, ‘यसमा प्रमुख दोषी मेरा आमाबुवा हुन्। मेरो आग्रह बेवास्ता गर्ने प्रहरी पनि यसमा दोषी छ। उनीहरुमाथि पनि कारबाही हुनुपर्छ। म अरु पढ्न चाहन्छु। अब म त्यो घर जान्न। बुवाआमाको पनि मलाई विश्वास छैन।’

प्रहरीले तागेता गरेपछि गएको बुधबारको छलफलमा किशोरीका बुवा इप्रका बागमतीमा उपस्थित भएका थिए।
 
‘उनी प्रहरी कार्यालयमा आउनेवित्तिकै हामीले कष्टडीमा राखेका थियौँ,’ सई मल्लले भने, ‘पछि उनले आफ्नी पत्नीकोसमेत उपस्थितिमा थप छलफल गरौँ भन्ने प्रस्ताव गरे। उनकी छोरी (पीडित किशोरी)ले पनि त्यसमा सहमति जनाएकाले हामीले छाड्यौँ। भोलि पत्नीलाई लिएर आउँछु भनेर यहाँबाट गएका उनी अहिले सम्पर्कमा छैनन्। उनको मोवाइल पनि अफ छ।’ 

स्थानीय भेषबहादुर सुवेदीको रोहवरमा प्रहरीले पीडित किशोरीका बुवालाई छाडेको थियो। ‘प्रहरीले पक्राउ गरेपछि किशोरीका बुवालाई छाड्नु हुन्नथ्यो,’ किशोरीलाई न्याय दिलाउने अभियानमा लागेका स्थानीय शंकर थापाले भने, ‘प्रहरीले पटक–पटक गल्ती गर्दा एउटी बालिकाको भविष्य अन्योलग्रस्त बनेको छ।’

बागमती नगरपालिकाकी उपमेयर लीला मोक्तानले किशोरीलाई न्याय दिने विषयमा आफूले सबैतिर पहल गरिरहेको बताइन्। ‘यो विषयलाई मैले गम्भीर रुपमा लिएको छु। सुरुमा प्रहरीले गल्ती गर्दा अहिले समस्या भयो,’ उनले भनिन्, ‘दोषीमाथि प्रहरीले कारबाही अघि वढाओस्। किशोरीको पुनःस्थापना र उनको शिक्षादिक्षाको लागि हामी सक्दो प्रयास गर्ने छौँ।’

इप्रका बागमतीका सई डिबी मल्लले दोषीलाई पक्राउ गर्ने विषयमा रौतहट प्रहरीसँग समन्वय भइरहेको बताए। ‘जसरी पनि हामी दोषीलाई पक्राउ गरेर पीडित किशोरीलाई न्याय दिलाउने छौँ,’ मल्लले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .