ad ad

समाज


सिभिल सहकारी ठगी : इच्छाराज र केशवलाल थुनामा, अरुलाई धरौटीमा छाड्न आदेश

सिभिल सहकारी ठगी : इच्छाराज र केशवलाल थुनामा, अरुलाई धरौटीमा छाड्न आदेश

फाइल तस्बिर


उजिर कार्की
पुस १४, २०७८ बुधबार १९:९, काठमाडौँ

साढे ५ अर्ब बढी ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि यस्तो आदेश भएको हो। करिब एक सातासम्म भएको बहस र प्रतिवादीसँग बयानपछि  अदालतले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो। 

बहसपछि पक्राउ परेका १२ सहित ४२ जनालाई थुनामा पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने भन्ने निर्णय दिने क्रममा अदालतबाट यस्तो आदेश भएको हो। 

जस अनुसार इच्छाराज र केशव थुनामा जाँदा अन्यलाई धरौटी मागिएको छ। यो प्रकरणमा सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख धरौटी मागिएको छ।

सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाहीलाई १५ लाख रुपैयाँ धरौटी मागिएको छ। अर्का अभियुक्त सिभिल सहकारीका जुनियर सहायक प्रबन्धक एलिना तुलाधरसँग ५ लाख रुपैयाँ धरौटी अदालतले मागेको छ। सिभिल सहकारीकै जुनियर प्रबन्धक सहायक प्रबन्धक मायोनानी महर्जनसँग पनि ५ लाख धरौटी मागिएको छ।

अदालतले सिभिल सहकारीका सहजकर्ता भगवान बहादुर सिंहसँग पनि १० लाख रुपैयाँ धरौटी माग गरेको छ। सिभिल सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठकसँग २ लाख ५० हजार धरौटी अदालतले मागेको छ।

मुद्दाको थुनछेक बहसका क्रममा अदालतले सिभिल सहकारीका लेखा अधिकृत राकेश महर्जनसँग ५० हजार, सिभिल सहकारीकै जुनियर सहायक प्रबन्धक कौस्तुब केतन ढुङ्गानासँग अदालतले ५ लाख रुपैयाँ धरौटी मागेको छ। 

त्यसैगरी सिभिल सहकारीका कर्जा अधिकृत बुद्धराज तामाङसँग अदालतले ५ लाख धरौटी माग गरेको छ। तर लेखा सहायक संगीत श्रेष्ठ भने साधारण तारेखमा रिहा हुने भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल सहकारीका निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा पूर्वसांसद तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो। तामाङका श्रीमती र दुई छोरीलाई पनि प्रतिवादी बनाइएको थियो।

यो मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो। उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको थियो। 

उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए। ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ। 

सिभिल सहकारीको सञ्चालक समितिका सदस्य गोपाल बहादुर श्रेष्ठको दुई वर्ष पहिले नै मृत्यु भएको थियो। यस मुद्दामा १२ जना पक्राउ परेका छन् भने २९ जना अझै फरार रहेको अभियोजन–पत्रमा उल्लेख छ।

सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको थियो। बाँकी २९ जना फरार छन्। 

फरार हुनेमा सञ्चालक समितिका सदस्यहरु सुमन नन्दन वैद्य, प्रविण मुखिया, अष्टरत्न तुलाधर, प्रविण प्रसाद प्रधान, पूर्वसदस्यहरु दानहिरा तुलाधर, रामकृष्ण पौडेल, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाईं, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, दुर्गाप्रसाद संग्रौला र नगेन्द्र बिमली फरार छन्।

यस्तै लेखा समिति सदस्य सिर्जना शाक्य, लेखा समिति पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिसाल, सिभिल बिजनेस कम्प्लेक्सका सञ्चालक लालकाजी गुरुङ, उनकी श्रीमती मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, महाप्रबन्धक प्रकाश कुमार बर्मा, प्रबन्धक सुवास कुमार श्रेष्ठ र पूर्वउपमहाप्रबन्धक रन्जना महर्जन पनि फरार रहेको प्रहरीले जनाएको छ। 

जुनियर सहायक प्रबन्धक अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, अधिकृत कान्तीलक्ष्मी उपाध्याय र इच्छाराजका छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङविरुद्ध पनि मुद्दा दायर भएको थियो। यी २९ जना अझै फरार रहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .