थारुहरुको महान् चाड माघी पर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक छाएको छ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको हो।
कोरोना सङ्क्रमण बढिरहेको जोखिमकाबीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम सञ्चालन भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का रामप्रसाद चौधरीले माघीले एक सातायता बस्तीमा चलहपहल बढेको बताए।
‘हाम्रो मौलिक अनि विशेष पर्व विगत दुई वर्षयता कोरोना कहरले संत्रासका बीच मनाउँदै छौँ’, चौधरीले भने, ‘यस पटक पनि पर्वसँगै सावधानी अपनाउनुका साथै स्वास्थ्य सुरक्षामा समेत ख्याल गर्न जरुरी छ।’
वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेषरुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न थारु बस्तीमा परम्परागत नृत्यसहित रमाइलो गरिँदैछ। माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन।
‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’
थारु समुदायको गीतमा भनिएझैँ यस समुदायमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकता छ । माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी योे पर्वमा यो समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने गरेको चौधरीको भनाइ छ।
त्यसैगरी यहाँको बेलौरी नगरपालिका–३ का स्थानीय घुम्मन चौधरीले परम्परागत रुपमा मनाउँदै आएको पर्वको रौनकता रहेपनि पहिले जस्तो नरहेको बताए। ‘माघीपर्वलाई जुन महत्व दिएर संरक्षण र सम्वद्र्धन हुनुपर्ने हो त्यो भएको छैन,’ उनले भने, ‘माघीपर्व मात्रै नभई हाम्रो संस्कृति पनि हो।’
माघी पर्वको अवसरमा यहाँको शुक्लाफाँटा नगरपालिकाले माघ ३ गते एक दिन बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए।
‘दीर्घकालीन रुपमा माघीको पर्व र संस्कृतिको जगेर्नाका लागि हाम्रो पनि सहयोग रहन्छ,’ उनले भने, ‘थारु संस्कृति र पहिरन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छन्, संरक्षण गर्नै पर्छ।’ थारु समुदायले माघीपर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रुपमा लिने प्रचलन रहेको छ।
त्यसैगरी माघीमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गरिन्छ । माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको बेलौरीकै सुकराम चौधरीले बताउनुभयो । माघीको अघिल्लो दिन राति थारु समुदाय मासु, जाँड र ढिक्री खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछ।
माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन छ। सो अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने धार्मिक मान्यतासमेत रहेको छ । माघीमा मनोरञ्जनका लागि घरमै मादकपदार्थसमेत उत्पादन गरेर खाने प्रचलन रहिआएको छ।
यहाँको शुक्लाफाँटा नगरपालिका–२ का परदेशी चौधरीले कोरोना कहरले गर्दा माघीमा सचेत भएर मनाउनुपर्नेमा जोड दिए। ‘घर÷छिमेकमै विधि प्रक्रिया पूरा गरी रमाइलो गरी मनाउने हो’, उनले भने, ‘धेरै तामझाम र भीडभाड गर्ने माहोल कोरोनाका कारण छैन।’
यता स्थानीय प्रशासनले पनि भीडभाड कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न यसअघि नै भनिसकेको छ। रासस
Shares
प्रतिक्रिया