ad ad

समाज


जिल्ला प्रशासनको अनुगमन : मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

जिल्ला प्रशासनको अनुगमन : मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

नेपालखबर
माघ ६, २०७८ बिहिबार १६:४०, काठमाडौँ

सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीवार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरिएको हो।

अनुगमन टोलीले बानेश्वर क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेष्टुरेन्ट, सपिङ मल लगायत सार्वजनिक सवारी साधनमा समेत अनुगमन गरेको छ।

अनुगमनका क्रममा सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, मास्क सेनिटाइजर नराखिएको पाइएकाले बढी यात्रु नराख्न, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सवारी साधनलाई निसंक्रमित पार्नका लागि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए।

सडकमा मास्क नलगाइ हिडिरहेका र मास्क नलगाई पसलमा बसिरहेका ८ जनालाई प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरिएको पनि उनले जानकारी दिए। अनुगमनका क्रममा मानिसहरु पहिलेको तुलनामा कमै मात्र बाहिर निस्किएको पाइएको उनले बताए। 

उनले भने, ‘सरसर्ति हेर्दा के देखियो भने बानेश्वर चोकमा केही बसहरुमा अनुगमन गर्दाखेरी सिट क्षमताभन्दा बढी व्यक्तिहरु राखेर हिँडाएको पाइयो। सेनिटाइजर राखिएको देखिएन। मास्क पनि राखेको देखिएन। हामीले चालक र सहचालकहरुलाई आफ्नो प्यासेन्जरहरुलाई सिटभन्दा बढी प्यासेन्जर नराख्ने, मास्क अनिवार्य प्रयोग गर्न लगाउने, सेनिटाइजर राखेर गाडीलाई निसंक्रमित गर्ने भन्ने एउटा निर्देशन पनि दियौँ। त्यसैगरी सडकमा हिँडिरहेका व्यक्ति र पसलमा बसिरहेका व्यक्ति ८ जनालाई हामीले एउटा सांकेतिक रुपमा मास्क नलगाएकाहरुलाई प्रतिव्यक्ति एक सय रुपैयाँका दरले जरिवाना पनि गर्यौँ।’

जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई निरन्तरता दिने जनाएको छ। कोभिड – १९ को तेस्रो लहरलाई कम गराउन र जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .