हाल देशमा पश्चिमी वायुको प्रभाव छ भने देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भई थोरै स्थानमा वर्षा/हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (बिहीबार) साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति (भन्नाले भोलि बिहान ६ बजेसम्मको अवधि जनाउँछ) पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
यसैगरी भोलि शुक्रबार दिउँसो हरेक प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
यस्तै शुक्रबार राति देशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशको थोरै स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया