ad ad

समाज


काठमाडौं उपत्यकामा जोरबिजोर नियम किन? यसो भन्छ प्रशासन

काठमाडौं उपत्यकामा जोरबिजोर नियम किन? यसो भन्छ प्रशासन

जोरबिजोर लागु हुनुअघि नै शुक्रबार सवारी चाप घटेको काठमाडौंको सडक। तस्बिर : विजय सिंह/नेपालखबर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १३:४१, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाड हुने गतिविधि रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको जनाएको छ। 

उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन्। 

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए। 

सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताबाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनले बताए। 

‘भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरूको कारणबाट कोभिडको संक्रमण फैलावटमा मद्दत गरिरहेको र यसलाई न्यूनिकरण गर्नलाई समस्या भएको भन्ने विश्लेषण हो', उनले भने, 'यसका साथै अत्यावश्यक काममा हिँडडुल गर्ने कुरा त आफ्नो ठाउँमा स्वभाविक रुपमा छ। तथापि संक्रमणको यो स्तरको वृद्धि हुँदा पनि सामाजिक रुपमा त्यसले अझै पनि मानिसहरुको आवतजावत, हिँडडुल, भीडभाड नघटेपछि जोरबिजोर लागु गरिएको हो।'

यो नियमले अत्यावश्यक काममा जानुपर्ने बाहेक अन्यको गतिविधिलाई केही हदसम्म निरुत्साहित गर्ने उद्धेश्य आफूहरुले लिएको पनि उनले बताए। 

काठमाडौंका सहायक प्रजिअ उमाकान्त अधिकारी/तस्बिर : नेपालखबर

सवारी साधनमा जोरबिजोर प्रणाली लागु भए पनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहमा समस्या नपार्ने उनले बताए। 

यसको निम्ति प्रशासन छलफलमा रहेको उनले जानकारी दिए। सवारी साधनको चापका कारण भीड नघट्दा संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताए।

सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरे। ‘अत्यावश्यक काम पर्ने, उपचारका लागि जाने, अत्यावश्यक सेवा प्रवाहको लागि जानेको हकमा चाहिँ समस्या छैन। त्यस विषयमा हामी छलफल पनि गर्दैछौँ । अन्य हिँडडुल गर्ने, घुमफिर गर्ने, बजार घुम्ने, यो बेलामा आवश्यक छैन', उनले भने, 'यो बेला गतिविधि नगर्दा पनि हुने गतिविधि पनि सवारी साधनको चापसँगै भीडभाड न्यूनीकरण नभएको अवस्था छ। उपलब्धताले नै मानिसहरुको भीडभाड अझै वृद्धि भएको भन्ने नै हो। जति सवारीसाधन भए त्यति मानिसको चहलपहल अझै बढ्दै गएको छ। अत्यावश्यक काममा हिँड्ने नागरिकलाई अहिले पनि अप्ठ्यारो, बाधा छैन।'

प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीले बताए। आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भुमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उनले आग्रह गरे। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .