दाङको घोराही कारागारबाट एक महिनाअघि प्रहरीकै मोटरसाइकल लिएर भागेका नाइके यमराज परियार पक्राउ परेका छन्।
परियारलाई प्रहरीले सोमवार भारतबाट पक्राउ गरेको हो। परियारलाई भारतबाट घोराही ल्याउने लागिएको छ।
परियार गत पुस ८ गते दिउँसो प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए। उक्त मोटरसाइकल कारागारमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीको थियो।
प्रहरीका अनुसार परियारले भाग्न प्रयोग गरेको लु ३४ प ४१० नम्बरको मोटरसाइकल मुसोटको जंगलमा त्यहीबेला फेला परेको थियो।
परियारको खोजीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि परिचालित थियो।
उनी लुकिरहेको ठाउँ पत्ता लागेपछि दुई दिनअघि दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजाल भारत गएका थिए।
कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद भुक्तान गरिसकेका परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो।
प्रहरीले उनलाई सोमबार साँझ पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ।
के थियो घटना?
गर्भवती प्रेमिकाको हत्या अभियोगमा जन्मकैद सजाय भुक्तान गरिरहेका कैदी फरार प्रकरणमा घोराही कारागारका जेलर नै पक्राउ परेका थिए।
परियार प्रहरीकै मोटरसाइकलमा पुस ८ गते फरार भएपछि जेलर युवराज परियार पक्राउ परेका थिए।
गत पुस ६ गतेदेखि १३ गतेसम्म बिदा बसेका जेलर ८ गते कार्यालय आएर परियारलाई अस्पताल जान अनुमति दिएका थिए।
चौधरीले उपचारमा अस्पताल लगेपछि आफ्नै मोटरसाइकल दिएर कैदी परियारलाई भगाएको प्रहरीले जनाएको थियो। प्रहरी जवान चौधरीलाई पनि पक्राउ गरिएको थियो।
Shares

प्रतिक्रिया